प्रभातफेरी अनलाइन१० पटक पढिएको | २०८३ भाद्र ३१, बुधबार
काठमाडौं / सरकारले आमालाई कम्तीमा ६ महिना र बुबालाई ४२ दिनसम्म तलबसहितको प्रसूति तथा स्याहार बिदा दिने व्यवस्था प्रस्ताव गरेको छ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमका अनुसार सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधनका लागि तयार गरिएको विधेयकमा यस्तो व्यवस्था प्रस्ताव गरिएको हो। विधेयक अब मन्त्रिपरिषद्मा लैजाने र त्यसपछि संसद्मा पेस गरिने उनले बताएकी छन्।
प्रस्तावित व्यवस्थाअनुसार आमाले कम्तीमा ६ महिना तलबसहितको प्रसूति बिदा तथा बुबाले ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा पाउनेछन्।
मन्त्री गौतमले बच्चा हुर्काउने जिम्मेवारी आमाको मात्र नभई अभिभावकको साझा जिम्मेवारी भएकाले नवजात शिशु र परिवारलाई पर्याप्त समय दिन राज्यले सहयोग गर्नुपर्ने बताएकी छन्।