logo
२०८३ आश्विन २, शुक्रबार |
📰
🔍

KU र धुलिखेल अस्पतालबीचको दशकौं लामो सम्बन्ध औपचारिक रूपमा टुट्यो

प्रभातफेरी अनलाइन५ पटक पढिएको | १ घण्टा अघि
KU र धुलिखेल अस्पतालबीचको दशकौं लामो सम्बन्ध औपचारिक रूपमा टुट्यो

काभ्रे / काठमाडौं विश्वविद्यालय (KU) र धुलिखेल अस्पतालबीचको लामो समयदेखिको शैक्षिक तथा व्यवस्थापकीय सम्बन्ध औपचारिक रूपमा अन्त्य भएको छ। धुलिखेल अस्पतालले आफ्नो मुख्य बोर्ड तथा साइनबोर्डबाट काठमाडौं विश्वविद्यालयको नाम र लोगो हटाएको छ।

केही महिनादेखि दुवै संस्थाबीच व्यवस्थापन, स्वायत्तता र शैक्षिक सम्बन्धका विषयमा विवाद हुँदै आएको थियो। अस्पतालले आफ्नो संस्थागत स्वायत्तता र स्वतन्त्र पहिचानको विषय उठाउँदै आएको थियो भने विश्वविद्यालयसँगको शैक्षिक सम्बन्धका विषयमा पनि छलफल हुँदै आएको थियो।

सम्बन्ध अन्त्यसँगै धुलिखेल अस्पताल अब आफ्नै संस्थागत पहिचानमा सञ्चालन हुने भएको छ। अस्पताल प्रशासनले स्वास्थ्य सेवा नियमित रूपमा सञ्चालन हुने र सेवाको गुणस्तरमा असर नपर्ने जनाएको छ।

काठमाडौं विश्वविद्यालयको मेडिकल शिक्षाका लागि धुलिखेल अस्पताल लामो समयदेखि प्रमुख शिक्षण अस्पतालका रूपमा रहँदै आएको थियो। सम्बन्ध अन्त्य भएपछि विश्वविद्यालयअन्तर्गत अध्ययनरत स्वास्थ्य विषयका विद्यार्थीको शिक्षण तथा क्लिनिकल प्रशिक्षण व्यवस्थापन कसरी गर्ने भन्ने विषय पनि महत्वपूर्ण बनेको छ।

यसैबीच, दुवै संस्थाबीचको सम्बन्ध विच्छेदपछि काठमाडौं विश्वविद्यालयले वैकल्पिक शिक्षण अस्पतालको व्यवस्था गर्नुपर्ने अवस्था देखिएको छ। धुलिखेल अस्पतालले पनि आगामी दिनमा आफ्नो शैक्षिक तथा स्वास्थ्य सेवा संरचनालाई कसरी अघि बढाउने भन्ने विषयमा निर्णय लिनुपर्ने देखिन्छ।