प्रभातफेरी अनलाइन९ पटक पढिएको | १ घण्टा अघि
काठमाडौं / सुनकोशी वाङ्मय प्रतिष्ठानको दोस्रो साधारण सभा शनिबार राजधानीमा सम्पन्न भएको छ।

नेपाल साहित्यिक पत्रकार संघका अध्यक्ष मोहन दुवालले दीप प्रज्वलन गरी सभाको उद्घाटन गर्नुभएको थियो। उहाँले साहित्यकार र साहित्यिक संघसंस्थाबीच समन्वय तथा सहकार्य आवश्यक रहेको बताउँदै साहित्यमा पूर्वाग्रह राख्न नहुनेमा जोड दिनुभयो।
नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले साहित्यिक क्षेत्रमा बढ्दै गएको विकृतिप्रति टिप्पणी गर्दै साहित्यकारहरूले बोलेका कुरा व्यवहारमा लागू गर्नुपर्ने बताउनुभयो। देश अप्ठ्यारोमा पर्दा साहित्यकार र साहित्यिक संघसंस्थाले जिम्मेवार भएर आवाज उठाउनुपर्ने उहाँको भनाइ थियो। नेपाली साहित्यका उत्कृष्ट कृतिहरू भए पनि पर्याप्त अनुवादको अभावमा अन्तर्राष्ट्रियकरण हुन नसकेको उहाँले उल्लेख गर्नुभयो।
कवि तथा सञ्चारकर्मी ठाकुर बेलवासेले सुनकोशीसँगको आफ्नो निकटतासहितका अनुभूति साझा गर्नुभयो। साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले छोटो समयमै सुनकोशीका गतिविधिलाई नजिकबाट नियालिरहेको बताउनुभयो। सूर्य लाकोजूले संस्था स्थापना गर्नुभन्दा त्यसलाई निरन्तरता दिन कठिन हुने भन्दै प्रतिष्ठानको सफलताको शुभकामना दिनुभयो।
सभामा पवन आलोक, केशव पराजुली, सुमन सौरभ, शंकर भारती, तेजप्रकाश श्रेष्ठलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।
प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालको अध्यक्षतामा सम्पन्न सभाले महासचिव प्रदीप सापकोटाको प्रगति प्रतिवेदन र कोषाध्यक्ष तारा केसीको आर्थिक प्रतिवेदन पारित गरेको छ। कार्यक्रमको सञ्चालन महासचिव प्रदीप सापकोटाले गर्नुभएको थियो भने उपाध्यक्ष रामसुन्दर देउजाले स्वागत मन्तव्य राख्नुभएको थियो।