प्रभातफेरी अनलाइन५ पटक पढिएको | १ घण्टा अघि
नेपालगन्ज / प्रख्यात लेखक तथा साहित्यकार निर्मल कुमार थापाको कविता संग्रह ‘जेन्जी काल’को नेपालगन्जमा गृह विमोचन गरिएको छ। कालपृष्ठ दैनिकको आयोजनामा शुक्रबार आयोजित कार्यक्रममा कविता संग्रहको विमोचन गरिएको हो।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाई, कालपृष्ठ दैनिकका प्रकाशक तथा सम्पादक कमल खत्री, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, साहित्यकार खगेन्द्र गिरी ‘कोपिला’ र लेखक थापाले संयुक्त रूपमा कृतिको विमोचन गर्नुभएको थियो।
तीन महिनाअघि सार्वजनिक भएको ‘जेन्जी काल’मा २०८२ साल भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलन तथा त्यसपछिको सामाजिक, राजनीतिक र मनोवैज्ञानिक अवस्थालाई कवितामार्फत प्रस्तुत गरिएको छ।
विमोचन कार्यक्रममा प्रमुख अतिथि चौलागाईले पत्रकारिताबाट साहित्य क्षेत्रमा प्रवेश गर्नुभएका लेखक थापाले पश्चिम नेपाललाई अन्तर्राष्ट्रिय समुदायसम्म चिनाउन योगदान पुर्याएको बताउनुभयो। उहाँले ‘जेन्जी काल’ तत्कालीन अवस्थाको चित्रण गर्ने महत्वपूर्ण साहित्यिक दस्तावेज बन्न सक्ने धारणा राख्नुभयो।
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले साहित्य र पत्रकारिता समाज विकासका महत्वपूर्ण क्षेत्र भएको उल्लेख गर्दै थापाको साहित्यिक योगदान पत्रकारिता क्षेत्रका लागि समेत गौरवको विषय भएको बताउनुभयो।
कालपृष्ठ दैनिकका प्रकाशक तथा सम्पादक कमल खत्री र साहित्यकार खगेन्द्र गिरी ‘कोपिला’ले ‘जेन्जी काल’ले नेपाली समाजलाई सकारात्मक दिशातर्फ अघि बढ्न प्रेरित गर्ने बताउनुभयो।
लेखक थापाले ‘जेन्जी काल’मार्फत जेन्जी आन्दोलनपछि देशको राजनीतिक, सांस्कृतिक र आर्थिक अवस्थालाई बुझाउने प्रयास गरिएको बताउनुभयो। उहाँले विगतका जनआन्दोलन तथा सशस्त्र आन्दोलनबाट प्राप्त लोकतन्त्रमा अपेक्षित व्यवस्था स्थापित हुन नसकेको भन्दै सुन्दर नेपाल निर्माणका लागि सचेत नागरिकको योगदान आवश्यक रहेको बताउनुभयो।
थापाले नयाँ पुस्ताले कृति अध्ययनमार्फत भ्रष्टाचारविरुद्ध सचेत हुँदै सुशासन कायम गर्न योगदान पुर्याउनुपर्नेमा जोड दिनुभयो।
२२ कृति प्रकाशित
थापाको साहित्यिक यात्रा सन् २००५ मा प्रकाशित कविता संग्रह ‘प्रभात फेरी सन्ध्या’बाट सुरु भएको हो। दर्शन, अध्यात्म, समकालीन समाज र मानव जीवनका प्रश्नलाई आफ्नो लेखनको प्रमुख विषय बनाउँदै आउनुभएका थापाका हालसम्म २२ वटा कृति प्रकाशित छन्।
उहाँका प्रकाशित कृतिमा ‘प्रभात फेरी सन्ध्या’, ‘एकादेश’, ‘एकालाप’, ‘एकान्त’ र ‘जय श्रीकुबेरनाथ’ लगायत छन्। थापा लेखक, कवि तथा सांस्कृतिक अभियन्ताका रूपमा नेपाली कला, साहित्य र संस्कृतिको अन्तर्राष्ट्रिय प्रवद्र्धनमा समेत सक्रिय रहनुभएको छ।
साहित्यकार थापालाई कालपृष्ठको सम्मान
कार्यक्रममा कालपृष्ठ दैनिकले लेखक तथा साहित्यकार थापालाई सम्मानपत्रसहित सम्मान गरेको छ। नेपाली साहित्य, कला तथा संस्कृतिको क्षेत्रमा पुर्याएको योगदान तथा सिर्जनशील लेखन र साहित्यिक गतिविधिमार्फत नेपाली समाजमा पुर्याएको योगदानको कदरस्वरूप सम्मान गरिएको आयोजकले जनाएको छ।