logo
२०८३ आश्विन २१, बुधबार |
☰
📰
🔍
✕

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि

प्रभातफेरी अनलाइन७ पटक पढिएको | २०८३ आश्विन २१, बुधबार
विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि

काठमाडौं / विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई साहित्य तथा संगीत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै किर्गिस्तानस्थित आईएलपीएमएस विश्वविद्यालयले मानार्थ ‘डाक्टर अफ ह्युमन लेटर्स (डीएचएल)’ उपाधिबाट सम्मान गरेको छ ।

भारतको राजस्थानस्थित इन्टरनेशनल सेन्टर, जयपुरमा आयोजित विशेष समारोहमा विश्वविद्यालयका प्रतिनिधि तथा प्रतिष्ठित अतिथिहरूले डा. उपाध्यायलाई मानार्थ विद्यावारिधिको प्रमाणपत्र प्रदान गरेका हुन् ।

समारोहमा राजस्थानका उपमुख्यमन्त्री डा. प्रेमचन्द बैरवा प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने राजस्थान विधानसभाका सभामुख वासुदेव देवनानी, पूर्व सदस्य अशोक परनामी, सदस्य बालमुकुन्दाचार्य, राज्यमन्त्री एकता अग्रवाल, एक्सक्लुसिभ वर्ल्ड रेकर्ड्सका ब्रान्ड एम्बेसेडर डा. राम सिंह चौहान तथा पद्मश्री पुरस्कार विजेता एवं वरिष्ठ मुटुरोग विशेषज्ञ डा. एम. वलीलगायतको सहभागिता थियो ।

विश्वविद्यालयले प्रदान गरेको प्रमाणपत्र तथा सम्मानपत्रमा डा. उपाध्यायको साहित्य तथा संगीत क्षेत्रमा योगदान, उपलब्धि, समर्पण र सामाजिक प्रभावको प्रशंसा गरिएको छ । उनलाई साहित्य तथा संगीत क्षेत्रमा विशिष्ट योगदान र उपलब्धिका लागि स्मृतिचिह्नसमेत प्रदान गरिएको जनाइएको छ ।

समाजशास्त्रमा सन् २००० मा विद्यावारिधि गरेका डा. उपाध्यायलाई यसअघि विभिन्न नौ विश्वविद्यालयले मानार्थ विद्यावारिधिबाट सम्मान गरिसकेका छन् । आईएलपीएमएस विश्वविद्यालयबाट प्राप्त उपाधि उनको दशौं मानार्थ विद्यावारिधि भएको जनाइएको छ ।

गीतसंगीत तथा साहित्यका विभिन्न विधामा सक्रिय डा. उपाध्यायले हालसम्म १५३ वटा विश्व कीर्तिमान कायम गरेको बताइएको छ । उनका १७ भन्दा बढी उपन्यास, तीन गीति पुस्तक तथा ३६ वटा एल्बम प्रकाशित तथा सार्वजनिक भइसकेका छन् । उनका करिब २५० गीत सार्वजनिक भएका छन् भने सयौं गीतका भिडियोसमेत निर्माण भएका छन् ।

उनका पछिल्ला कृतिमा उपन्यास ‘आशक्ति’ र कवितासंग्रह ‘अन्तसंस्करण’ रहेका छन् । साथै, उनका ‘श्रीराम’ र ‘हरे कृष्ण’ नामक दुई भजनसमेत हालै सार्वजनिक भएका छन् ।