प्रभातफेरी अनलाइन१९ पटक पढिएको | मंसिर २, २०८३ | बुधबार
काठमाडौं / रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सरकारले सञ्चालन गरेका प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा विभिन्न क्षेत्रबाट आर्थिक सहयोग संकलन भइरहेको छ ।
कार्यालयका अनुसार बुधबार बिहान ९ बजेसम्म दुवै कोषका विभिन्न खातामा गरी कुल १८ अर्ब ४७ करोड ८ लाख ७२ हजार ३९५ रुपैयाँ मौज्दात रहेको छ ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा १३ अर्ब ७३ करोड ६ लाख ७७ हजार ४३० रुपैयाँ मौज्दात रहेको छ । त्यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका अमेरिकी डलर खातामा ३ करोड १७ लाख ५७ हजार ९७२ अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ ।
बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न संघसंस्था, व्यवसायी तथा व्यक्तिहरूले आर्थिक सहयोग उपलब्ध गराउँदै आएका छन् ।