– रामचन्द्र हुमागाई
हुन त, यसो भन्न नहुने, आफ्नै आङ कनाएर छारो उडाउँदा कसलाई पो फाइदा पु¥याएको होला र ! तर के गर्ने, लुतो आएको बाँदर जस्तै भएका छन् नेपाली सञ्चारका पन्नाहरु । जीवनभर सरकारी सेवामा रहेर अकुत सम्पत्ति कमाउने, अवकास पाएपछि पानी माथिको ओभानो बन्न विगतका विमती, अनुभूति र आफू स्वयंले गरेका अपराधहरुका श्रृंखलाहरु छोपछाप गर्न रु. एक हजारमा लेखक छपाएर नामका अगाडि र पछाडि पूर्व, फलानो, पूर्व तिलानो लेखाएर रु. १ हजार पनि हजाम गर्ने, कस्तो कुप्रथा चल्यो नेपालमा ? आफूले जानेको बुझेको मात्रै सत्य, अरुको विचार खोक्रो । उमेरसँग सँगै अनुभव पनि समेटिने नै भयो ।
त्यही अनुभव समेट्ने ठाउँको मुखिया भए पछि छोरा–छोरी विदेशमा पठाउने–पढाउने अवसर पनि मिलिहाल्ने, एनजिओ, आईएनजिओहरुले पनि सरकारी कार्यायल मार्फत दुःखी र गरीब जनतालाई सहयोग गर्न पठाउने पत्रहरु पनि प्राप्त भैहाल्ने । जतिसक्यो फाइदा उठाईसकेर अवकास प्राप्त गर्दा पनि असन्तोष व्यक्त गरेर रु. एक हजारमा बजारमा आउने नाङ्गला भन्दा पनि ठुला अखबारमा लेख छपाए बापत् नाम पनि आउने दाम पनि आउने र विगतकालका काला कर्तुतहरु पनि सफाचट !
आदरणीय पाठक बृन्द ! तपाई भन्नु होला, यो लेखक कस्तो आरिसे रहेछ, अर्काले रु. एकहाजर कमाएको पनि रिश गर्ने ? तर त्यसो होइन । नेपाली समाज यति पिछडिएको छ कि त्यसको भित्री कुरो खोल्नैहुँदैन । पाइन्छ, सर्ट, टाई, टलक्क टल्किने जुत्ता र महिलाले पूरानो पोसाक फ्याकेर घुँडा भन्दा माथि र छाति भन्दा तल कपडा लगाएर मात्रै हुन्छ र ? छापिएका सबै कुरालाई सत्य ठान्छन् नेपालीहरु । त्यस माथि रु. एक हजार हात पारेर दैनिक अवबारमा लेख लेख्नेहरुका लेखोटलाई त गीताको वाणी जस्तै सम्झिन्छन् ।झन् यता केही वर्ष देखि त दल दलका विषय, नेता नेताका विषय । आफू सामेल भएको दलका नेताले बोलेको कुरा अमृतवचन, विपक्षीले बोलेका कुरा झुसिलो डकार । साना मिडियाले छापेका कुरा सबै वकबास, ठुला अखबारले छापेका कुरा सबै गीता जस्तै । त्यस माथि हिजो आज प्रधानमन्त्री भू.पू मन्त्री, भू.पू. सचिव, भू.पू. प्रधानसेनापति, भू.पू. प्रहरी अधिकृत र भू.पू. उच्च ओहोदाका कर्मचारी कति हो कति लेखकहरु । महिनामा ८÷१० वटा लेख लेखेबापत् त्यति नै हजार नगद आईहाल्यो, पेन्सन आफ्नै ठाउँमा छ र राजधानीमा घर छँदैछ, कम्तीमा पचार हजार देखि १५÷२० लाखसम्म भाडा आईहाल्छ, कतिपयका उद्योगधन्दामा सेयर, एनजिओ, आईएनजिओ स्कूल कलेजमा सेयर । होटल रेष्टुराँमा सेयर कति हो कति ।
अनि यिनै स्वनामधन्य महापुरुषहरु खान नपाएर खाडीमा अस्मिता विक्री गर्न जाने नेपाली युवाहरुलाई अर्ति बुद्धि दिने लेख छपाएर रु. एक हजार कमाउने, त्यही लेख विक्री गरेर मिडिया कम्पनीहरु मालामाल । घुमाई फिराई आफ्नै हात माथि । लेखन कार्य एउटा महत्वपूर्ण कला हो । कलाले समाजलाई रुपान्तरण गर्न सक्छ र गरिराखेको छ । त्यसको ठीक विपरित लेखनले नै समाजलाई विस्खलित पनि बनाई राखेको छ, जस्तै अस्लिल लेख तस्वीर, कथा र कला बेचेर पेट पाल्ने पनि पाइन्छन् । प्रकृत्ति स्वयंले दिएको शक्तिलाई भजाएर खानेहरुले अस्लील कला बेचेर समाजको महत्व नबुझेका मानिसलाई दिग्भ्रमित गर्नु नै महानता हो भन्ने मान्यताकै कारण पर्दामा आउने अनुहारहरुको सम्मान गर्छन् तर ऊ भित्रको मानव रुपी कुसंस्कारको पहिचान गर्ने प्रयासनै गर्दैनन् ।
फलतः साधु चोर र चोर साधु भैरहेका उदाहरणहरु प्रसस्तै छन् । यति मात्रै होइन, कतिपय यस्ता व्यक्तिहरु पर्दामा देखिएको अनुहार भजाएर ठगी गर्ने गर्छन, गरिरहकै छन् । लेखकहरुको सस्तो मनोविज्ञान पनि यस्तै हो । यो त भयो लेखन र कलालाई फुर्सतमा प्रयोग गर्नेहरुको गाथा । यो भन्दा पनि खतरनाक लेखकहरु पनि छन् नेपालमा ‘के गर्ने बाँच्नै प¥यो’ भन्नेहरु पनि छन् । २०४६ साल अगाडि पञ्चायतनीति तथा जाँचबुझ समिति थियो । त्यो समितिले पञ्च लेखकहरुको लेख जम्मा गथ्र्यो र पैसा दिन्थ्यो । तिनै लेख पत्रिकामा छपाए बापत् पत्रकारलाई पनि पैसा दिन्थ्यो । कति बाठा पञ्चहरु, उनीहरुलाई नै थाहा रहेछ नि ! ‘लेखकहरु पाठकलाई भ्रम छर्न सिपालु हुन्छन् ! भन्ने कुरा ।
तिनै पञ्चहरुको फर्मूला अहिले राजदुताबासहरु देखि लिएर ठुला मिडिया हाउस सम्मले अपनाएका छन्, तस्करीको पैसा छँदैछ, एकहजारको लेखकले लेखेका लेख छपाए बापत् १०÷१५ हजार थान पत्रिका विक्री भईहाल्छ, ५० हजार त कहि नजा । के यस्तै हुन्छ सामाजिक रुपान्तरणको परिभाषा । यस्तो क्रियाकलाप कसले, कहिले बन्द गर्ने ? कि निरन्तर चलिरहने !
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |