— रामचन्द्र हुमागाईं
विश्वमै पत्रकारिता पेशालाई सम्मानजनक रुपमा लिने गरिन्छ । भनिन्छ, पत्रकारिता समाजको ऐना हो । पत्रकार त्यो ऐनाको कमाण्डर अर्थात विकृति रोक्ने खम्बा हो तर नेपालमा पत्रकारिता पेशालाई अनेक आरोप लाग्ने गर्छ । नलागोस् पनि किन ? विकृति, विसंगति जति छन् ती सबैलाई पत्रकारिता रुपी च्यादरले ढाक्ने गरिएको छ ।
राणा शासन कालमा पत्रकारिता पेशा नै थिएन । भएको पनि राणाहरुकै मुखपत्रका रुपमा राणहरुनै चलाउँथे । सम्पादक पनि राणाहरुकै छोराहरु हुन्थे । ०७ साल पछि थोरै विकास भयो । २००८ सालमा स्थापना भएको रेडियो नेपाल राणाहरुकै भजन गाँउथ्यो । ०१७ सालमा केही नीजि क्षेत्रमा पत्रकारिताले प्रवेश पायो, केही दिन पार्टीको त्यो पनि नेपाली काँग्रेस समर्थक थिए भने २०१७ साल पुस १ गते घोषणा गरिएको संविधानले निर्दलीयताको बहस नगर्ने पत्रिका र पत्रकार माथि प्रतिबन्ध नै लगायो मात्रै होइन पूरै निर्दलीयताको भजन मण्डलीका रुपमा पत्रिकारता स्थापित भयो । २०२८ सालमा आएर अलि फरक तर प्रतिबन्धात्मक पत्रकारिता सुरु भयो, त्यसले पनि देश र जनताको विषयमा बहस गर्न सकेन, मानौँ पाएन ।
२०३९ सालमा केही खुकुलो भयो । तर, राजनीतिक दलहरुको समाचार, वक्तव्य, दृष्टिकोण र चर्चा गर्दा अगाडि पट्टी ‘प्रतिबन्ध’ शब्द प्रयोग गरिएन भने सम्पादकले जेल जानुपर्ने र पत्रिकाको दर्ता खारेज हुने अवस्था आयो । एक किसिमको मिसन पत्रकारिता शुरु भएको मान्नैपर्छ तर कुनै सहयोगदाता वा सरकारी विज्ञापन पाउन सम्वन्धित पक्षको भजन नै गाउनुपर्ने स्थिति थियो र २०४६ सालमा आएर खुला दिलले लेख्न पाउने अवस्था त श्रृजना भयो तर बजार राजनीतिमुखी भयो । दलका कार्यकर्ता पत्रकारिता पेशामा आवद्ध भए । लगानीकर्ता पनि निकै जन्मिए । कतिपयलाई निर्र्दलीय कालमा कालोधन्दा गरेर आर्जन गरेको धन पत्रकारितामा लगानी गर्ने अवसर प्राप्त भयो, त्यो क्रम जारी नै छ । त्यसैलाई अहिले पनि पत्रकारिताको विकासका नाममा टाउको ठड्याउने अवसर प्राप्त भएको छ ।
समयसँगै पेशामा पुस्ता परिर्वतन हुनु अस्वभाविक होइन । यसरी पेशामा विकास र पुस्तामा परिवर्तन आए पनि मिसनमा परिवर्तन आउनु भनेको ठुलो विडम्वना र कलंक हो, त्यही कलंकित पत्रकारिता यतिबेला चलिरहेको छ । कहाँ बद्मासी भएको छ भन्ने कुराको खोजी गर्नुपर्नेमा कहाँ बद्मासी भएको छैन ? भनि खोज्नुपर्ने अवस्था आएको छ । पेशागत विकृति नै खबरदारी अँगमा प्रवेश गरेपछि त्यो देशको अवस्था कस्तो होला ? आफ्नै आङ कन्याएर छारो उडाउनुपर्ने अवस्थामा पुगेको छ आजको पत्रकारिता । राजनीतिक दल, दलको भातृसंगठनको रुपमा पस्किने क्रम जारी छ, को भन्दा को कम भन्ने सस्तो प्रतिस्पर्धाको रुपमा पुगेको छ, नेपाली पत्रकारिता ।
नपुगोस् पनि किन ? पेशा नै राजनीति, पेशा नै पत्रकारिता । जसलाई जे मन लाग्यो त्यो लेख्ने जो बलियो उसैको गुण गाउने । त्यसभित्रको वास्तविकता पटक्कै खेजी नहुने । के गर्न हुने, के गर्नु नहुने ? त्यो छुट्याउनै नसकिने पत्रकारिता शुरु भएको छ आजको नेपालमा । हुन त कुन ठाउँमा चोखो छ ? न सुरक्षा चोखो न निजामति सेवा, न विकास र नाफा मुलक संस्था चोखा, न राजनीति चोखो न व्यापारमा इमान्दारिता ? कसले निगरानी गर्ने ? यिनै विकृतिका विरुद्धमा खरो उत्रनुपथ्र्यो पत्रकारिता ।
दुःखका साथ भन्नुपर्ने भएको छ, यस्तो पत्रकारिता कहिलेसम्म चल्ला ? सरकारी सुविधामा चलखेल, राजनीतिमा चलखेल भए भरका कतै नभएका विकृतिहरुको संरक्षक भएको छ पत्रकारिता । न हिजोको मूल्याँकन न भविष्यको चिन्ता । हिजो जे खाए लाए पनि आज खानै पर्ने, विहान खाए बेलुकाको चिन्ता छैन । बेलुका जेनतेन खाए भोली देखाजायगा भन्ने जोगी प्रवृतिको पत्रकारिता । निर्देशित प्रक्रियाको प्रवृत्ति । कलिलो उमेरमा कुनै परिवर्तन नआउने आडम्वर ! आखिर जीवन भनेको परिवर्तित प्रवृत्ति न हो, किन यस्तो हेलचत्र्mयाई ? आखिर यो पेशामा लाग्नेहरुका लागि पनि अनुशासन बनेको छ, मर्यादा छ र भावुकता पनि त छ ? सत्यलाई बँग्याएर, असत्यलाई सच्चाएर, शक्तिको पुजा गरेर निर्धाको बत्ख्वाई गरेर कति दिन टिक्ने ?
छापामा आएका अक्षरहरु रामायण र गीताका पुस्तकहरुमा लेखिएकै अक्षर जस्ता हुन, पर्दामा आएका दृश्यहरु सत्ययुगका दृश्यहरु नै हुन् र कानमा सुनिएका सन्देशहरु आकाशवाणी नै हुन् भन्ने मानिसहरु बसोबास भएको मुलुकमा बँग्याएर, बढार्ईचढाई गरेर, उल्टोपुल्टो गरेर प्रचार प्रसार गर्नु इमान्दारिता हो कि पेशागत बेइमानी ? यो वा त्यो विषय मात्रै होइन कुनै विषय पनि यहाँ नेर भ्रम फैलिएको छैन भन्ने वातावरण कहिले आउला ? के यसलाई स्वतन्त्रताको स्वरुप दिन सकिन्छ ? सकिँदैन भने सामाजिक अपमान मान्नैपर्छ । यस्ता सामाजिक अपराधलाई रोकथाम नगर्ने हो भने यही भित्रबाट विद्रोहको शंखघोष हुनसक्छ । समयमै सम्वन्धित व्यक्ति वा समूहले ध्यान दिँदा राम्रै होला ।
(गताङ्कमा प्रकाशित रामचन्द्र हुमागाईंको लेखको शीर्षक ‘गरिबी घटाउने कि गरिब हटाउने ?’ हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ — सम्पादक)
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |