बुद्धिमान् त्यो हो जसले हरेक घटनाबाट केही न केही पाठ सिक्तछ, चाहे अनुकूल घटना होस् वा प्रतिकूल घटना होस् । प्रायः हामीहरू अनुकूल घटना भएमा रमाउने गर्दछौँ भने प्रतिकूल घटनाबीच दुःखी हुन्छौँ, चिन्तित हुन्छौँ । घटनाहरू चाहे सुघटना होउन् वा दुर्घटना होउन्, तिनीहरू आकस्मिक आवरणभित्र अनायास उपस्थित हुने स्वाभाविकता हुन्, एक नियमित नियमितता नै हुन् ।
आगलागी प्रायः भइरहन्छ, कहिले कहाँ त कहिले कहाँ । त्यसबाट धनजनको ठूलो क्षति पनि हुन्छ । गाउँ–सहरका बस्तीबीच भीषण आगलागी भएमा आम मान्छेहरू आगलागीको कारण, धनजनको क्षति, समाधानका उपायहरू आदिका बारेमा चर्चा–परिचर्चा गरेर बसेका हुन्छन् भने त्यही गाउँ–सहरको चतुर व्यापारीचाहिँ घटनाको ऊहापोह गरेर समय खेर नफाली आगोबाट भस्म भएका वस्तुहरूको मागको प्रक्षेपण गर्दै आपूर्ति गर्नुपर्ने सामग्रीहरूको अर्डर गरेर स्टक राख्न थाल्दछ । त्यस्तै कुनै ठाउँमा ठूलो बाढीले सर्वनाश निम्त्याउँदा पनि वा ठूलो खडेरी पर्दा पनि बाढी र खडेरीको चर्चा–परिचर्चा नगरी सफल व्यापारीहरू अन्न आदि (धान, चामल, गहुँ) को आपूर्ति–व्यापारको विस्तारमा लागिहाल्छन् । विगत आठ–दस वर्षयता हामी नेपालीहरू लोडसेडिङको मारमा पिल्सिरहेका छौँ । दैनिक कति घन्टा लोडसेडिङ भयो, पोहोर कति घन्टा थियो, अर्को महिना कति घन्टा हुने हो, लोडसेडिङतालिका लिनुपर्ने, इन्भर्टर राख्नुपर्ने, सरकार बेकम्मा भयो आदि तर्क–वितर्क र चर्चा–परिचर्चामा नै हामी रुमल्लिएका छौँ । तर यसैबीच चतुर व्यापारीहरूचाहिँ डिजेल÷पेट्रोल जेनेरेटर, इन्भर्टर, सोलार सिस्टम, ग्यास हिटर, ग्यास गिजर, ब्याट्री आदिको आयात र आपूर्तिमा व्यस्त छन् र करोडौँको व्यापार गरिरहेका छन्, लाखौँ रुपियाँ कमाइ गरिरहेका छन् । गत हप्ता मेरा एकजना व्यापारी मित्र एउटा तथ्याङ्क पस्कँदै थिए । उनको भनाइमा विगत ५–७ वर्षयता मात्रै नेपालमा आयात गरिएका साना–ठूला जेनेरेटर, इन्भर्टर र ब्याट्रीको कूल लागत हिसाब गर्ने हो भने त्यति लागतले मात्रै पनि देशमा चार–पाँच सय मेगावाटको जलविद्युत परियोजना बनिसक्ने थियो ।
२०५२ सालतिरको कुरा हो, म र मेरा एकजना व्यापारी मित्र तीर्थाटनमा दक्षिण भारततिर गएका थियौँ । तिरुपतिको दर्शन गरेर मद्रास फर्केको एक साँझ होटलमा ‘दूरदर्शन’ को टी० भी० समाचार हेर्दा नेपालको समाचार पनि थाहा पाइयो । नेपालका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रतिनिधिसभा भङ्ग गरेर मध्यावधि निर्वाचनमा जाने निर्णय लिनुभएको थियो । मध्यावधि निर्वाचनको खबरले म स्तब्ध र केही चिन्तित भएँ । भर्खर पुनस्र्थापित प्रजातन्त्रलाई संस्थागत गर्नुपर्ने जिम्मेवार पार्टीका जिम्मेवार नेताले पार्टीभित्रको सामान्य मतान्तरलाई व्यवस्थापन गर्नुपर्नेमा त्यसो नगरेर स्पष्ट बहुमत हुँदाहुँदै उहाँबाट मध्यावधि निर्वाचनमा जाने घातक निर्णय लिइयो भनेर म दुःखी भएँ । तर मेरा व्यापारी मित्र न दुःखी भए न चिन्तित नै । उनी त ब्रिफकेस खोलेर टेलिफोन डाइरेन्टरी पल्टाउँदै रिसेप्सनमा फोन गरेर ८–१० वटा नम्बर टिपाएर अर्जेन्ट ट्रङ्कलको अनुरोध गर्न थाले । म जिल्ल परेँ र उनलाई सोधेँ — “होइन, किन यसरी धमाधम नम्बर टिपाएका ? यी कहाँका नम्बर हुन् ? यी सबै फोन गरिसक्ता त ११ बजिसक्छ ।”
उनले बताएपछि मैले थाहा पाएँ उनले भारतका ठूला–ठूला पेपर मिलका सेल्स एक्जेक्युटिभहरूलाई फोन गरेर विभिन्न थरी टनका टन कागजको अर्डर दिन खोजेका थिए । म खिन्न भएको त्यही मध्यावधि निर्वाचनको खबरबाट प्रेरित र उत्साहित हुँदै उनले महानिर्वाचनमा कागजको ठूलो माग बढ्ने र आपूर्तिमा समस्या आउने देखेर अन्य कागज–व्यापारीकहाँभन्दा आफूकहाँ पर्याप्त स्टक जम्मा पारेर लाखौँ रुपियाँ कमाउने उनको योजना रहेछ । अर्थात् उनी पनि एक सफल व्यापारी भएकाले घटनाबाट लाभ लिन जान्दथे, लिए ।
यी त भए दैनिक दिनचर्याका घटना–परिघटनाबीच त्यसबाट पाठ सिक्ने र सबक लिने कुराहरू । आध्यात्मिक जगत्मा पनि यस्ता प्राकृतिक घटना, प्राकृतिक प्रकोप आदिबाट साधकले केही पाठ लिन सक्छन्, चिन्तनमनन गरेर एउटा नवीन तथ्य पहिल्याउन सक्नुपर्छ र लोकलाई बाँड्न सक्नुपर्छ ।
प्रकृति अति सुन्दर छ । प्रकृति जीवात्माहरूकी जननी र आश्रयस्थल पनि हो । ‘गीता’ ले प्रकृतिलाई सृष्टिकर्तृ माता र परब्रह्म परमात्मालाई पिता (पुरुष) मानेको छ, तथापि प्राकृतिक प्रकोप पनि सृष्टिको एक नियम हो अनि नियति पनि । प्रकृति भन्नाले पञ्चतàव (धर्ती, जल, अग्नि, वायु र आकाश) लाई बुझ्नुपर्ने हुन्छ । प्राकृतिक प्रकोपहरू अनायास एवं आकस्मिक रूपमा घटित हुने गर्दछन्, परिमाणात्मक र गुणात्मक रूपले साना या ठूला हुने गर्छन्, तर हुन् त नियमित चक्र नै । त्यस्ता प्राकृतिक प्रकोपहरूले समेत हामीलाई केही न केही सन्देश दिइरहेका हुन्छन् । भूकम्पले दिने एक सन्देशका रूपमा रविशङ्करले एक ठाउँमा भन्नुभएको छ — भूकम्पका साना–ठूला झड्काहरूबाट हामीले के बुझ्नुपर्छ भने तिमीले जतिसुकै बलियो र जतिसुकै ठूलो महल बनाए पनि तिमी पूर्णरूपेण सुरक्षित छैनौ, पूर्ण सुरक्षित स्थान त तिमीबाहिर होइन, तिमीभित्रै छ, भित्रै खोज भनेर भूकम्पले हामीलाई झकझक्याइरहेको हुन्छ । त्यसै गरी ग्रहण, सुनामी आदिबाट पनि हामीले सबकहरू सिक्नुपर्छ । त्यस्ता प्रकोपहरूले दिइरहेका सन्देशहरू ग्रहण गर्न या बुझ्न केही चिन्तन गर्नुपर्ने हुन्छ ।
प्राकृतिक प्रकोपहरूमा के–के पर्दछन् त भन्दा भूकम्प, ज्वालामुखी, अतिवृष्टि, अनावृष्टि, भीषण हिमपात, भीषण असिनावर्षा, उल्कापात, बाढीपहिरो, चट्याङ, आगलागी, हुन्डरी, आँधी, सुनामी आदि । हामीले के कुरा बुझ्नुपर्ने हुन्छ भने हाम्रो शरीर पाँच तàवहरूले बनेको छ र यो संसार (ब्रह्माण्ड) पनि त्यही पञ्चतàवले बनेको छ । ती हुन् आकाश, वायु, अग्नि, जल र माटो वा धर्ती । यहाँ उद्धृत प्राकृतिक प्रकोपहरू कुन–कुन तàवहरूमा घट्ने हुन्छन् त भन्दा सबैभन्दा बढी प्रकोपहरू माटोमा अर्थात् धर्तीमा हुने रहेछ । अनि क्रमशः जलमा, अग्निमा अनि वायुतàवमा हुँदो रहेछ भनेर बुझिन्छ । तर आश्चर्य नै मान्नुपर्छ आकाशतàवमा भने कुनै प्रकोप भएको अनुभूति हुँदैन । बादलमुनि हुने प्रकोपहरूको निष्कृय साक्षी मात्र घटाकाश हुन्छ, तर महाकाश प्रकोपरहित हुन्छ । यहीँनेर प्रकृतिको गूढ रहस्य लुकेको छ कि !
तàव जति स्थूल हुन्छ त्यति नै विकारी र प्रकोपजन्य हुन्छ, जति सूक्ष्म हुँदै जान्छ त्यति नै कमविकारी र प्रकोपन्यूनता हुँदै जान्छ । तàव जति सूक्ष्म हुन्छ त्यति नै शक्तिशाली हुन्छ तर प्रकोप आदि न्यून हुँदै जान्छ । स्थूलताबाट सूक्ष्मता हुँदै जानु विकारीबाट अविकारी हुँदै जानु हो । तàवहरूमा सबैभन्दा सूक्ष्म तàव आकाश हो । आकाश अन्य सबै तàवको सार हो र आश्रयस्थल पनि हो । आकाश भनेको खाली स्थान, रिक्त स्थान वा शून्य हो । यो शून्य त हो तर शान्त, निर्विकार, निर्गुण र निर्विशेष तàव हो । यो सत्व, रज, तम तीन गुणबाट बाहिर छ, गुणातीत छ । त्यसैले यो विकाररहित अनि प्रकोपरहित हुन्छ । सृष्टिको लय हुँदा वा महाप्रलयकालमा शेष चार तàवहरू वायु, अग्नि, जल र धर्तीलाई यसले आफूभित्र समाहित गरिदिन्छ अनि सृष्टिको आरम्भमा फेरि आफूबाट वायु, वायुबाट अग्नि, अग्निबाट जल र जलबाट पृथ्वी विस्तार गर्ने गर्दछ ।
आकाशतàवको अर्को एउटा विशेषता के छ भने पञ्चकृत्य अर्थात् पाँचवटा कृत्य (कार्य) गर्न सक्ने परब्रह्म परमात्माले गर्ने कार्यहरू सृष्टि, स्थिति (पालन), लय (विनाश), तिरोभाव र अनुग्रह गर्दा सृष्टि धर्तीबाट, सृष्टिको पालन जलतàवबाट, सृष्टिको विनाश अग्नितàवबाट गर्नुहुन्छ भने वायुबाट तिरोभाव (जीवहरूको देहान्तरण, ८४ लाख योनिहरूमा भ्रमण गराउने आदि) गर्नुहुन्छ अनि आकाशतàवबाट अनुग्रह गर्नुहुन्छ । अनुग्रह भनेको मुक्ति दिने कार्य हो । जीवात्माहरूलाई ८४ लाख योनिहरूको गोलचक्करबाट मुक्त गर्ने तàव नै आकाश हो । यस अर्थमा आकाशतàव मुक्तिक्षेत्र हो ।
आकाशबाहेकका चार तàवहरूले बेलाबेलामा विध्वंससमेत लिएर आउने हुँदा हामीले पाँचौँ तàव आकाशतàवमा बढी ध्यान केन्द्रित गर्नुपर्ने हुन्छ । लयगणनाक्रममा मात्र आकाश पाँचौँ तàव हो, सृष्टिआरम्भक्रममा चाहिँ आकाश नै पहिलो तàव हो । यावत् प्राकृतिक प्रकोपहरूबाट बच्ने एउटा मात्र उपाय भनेको प्रकोपशून्य तàव आकाशको आश्रय लिनु नै हो, अर्थात् हाम्रो पिण्ड (शरीर) भित्रको आकाशतàवको खोजी गरेर हामीले त्यसैको आश्रय लिनुपर्ने हुन्छ । यो देहभित्रको आकाशतàवको केन्द्र हाम्रो हृदयाकाश हो । षटचक्रहरूमध्ये केन्द्रीय चक्र हृदयचक्रमा नै हृदयाकाश रहेको हुन्छ । मूलाधारबाट स्वाधिष्ठान, मणिपुर, अनाहत हुँदै माथि सहस्रारतिर जाने मूल त्रयनाडी (इडा, पिङ्गला र सुषुम्णा) मध्ये बीचमा रहेर बहने सुषुम्णामा हाम्रो मुटुबाट पछिल्तिर (ढाडतिर) गएको अति सूक्ष्म धमनी जोडिने सङ्गमस्थान नै हृदयाकाश हो । त्यो रिक्त स्थानमा जीवात्मा निवास गर्दछ । शैवदर्शनमा जीवात्माको आकारलाई वाणलिङ्ग भनेर बताइएको छ । भगवान् शिव स्वयं पनि ध्यानस्थ हुँदा त्यही वाणलिङ्गको ध्यान गर्नुहुन्छ । हामीहरूले आफूलाई अर्थात् आफ्नो सूक्ष्मशरीरलाई इन्द्रियहरूबाट वा इन्द्रियजन्य विषयहरूबाट क्रमशः हटाउँदै लगेर, विविध तàव, दोष एवं प्रकोप आदिबाट अलग्याएर आफूलाई त्यही हृदयाकाशमा स्थित अनि स्थिर गर्न सक्नुपर्ने हुन्छ । त्यो स्थान नै सुरक्षित स्थान हो । त्यस्तो सुरक्षित स्थान हृदयाकाशमा स्थित रहनु वा आफूलाई स्थिर गर्न सक्नु नै ध्यानको उत्कर्ष हो अनि त्यस्तो ध्यानमा निरन्तरमा प्राप्त गर्न सक्नु नै वास्तविक योग हो । परब्रह्म परमात्माको अनुग्रह प्राप्त गर्नका लागि पनि हृदयाकाशमा स्थित रहने अनि स्थिर रहने प्रयत्न गर्नु नै हाम्रो आध्यात्मिक मार्ग हो । आफ्नो स्वरूप अथवा जीवात्मालाई नै ‘गीता’ मा भगवान्ले अध्यात्म बताउनुभएको छ । वास्तविक योगरूप, अध्यात्मरूप एवं अनुग्रहस्थल मुक्तिक्षेत्रसमेत भएकाले यो आकाशतàव प्रकोपशून्य छ र विकारमुक्त पनि छ । परब्रह्म परमात्मा नै मुक्तिदाता हुन् । मुक्तिदाता परब्रह्म निर्गुण, निर्विकार, निराकार र निर्विशेष भएझैँ मुक्तिक्षेत्र आकाश पनि निर्गुण–निराकार भएकाले प्रकोपमुक्त छ ।
‘शिवस्वरोदय’ मा भगवान् शिव पार्वतीलाई बताउनुहुन्छ —
तàवाद्ब्रमाण्डऽमुत्पन्नं तàवेन परिरवत्र्तते ।
तàवे विलियते देवि तàवाद् ब्रह्माण्ड निर्णयः ।।
अर्थात् हे देवी ! तàवबाट नै ब्रह्माण्डको उत्पत्ति र पालन भई तàवमा नै यसको लय हुन्छ । त्यसैले यस ब्रह्माण्डको निर्माणमा तàव नै मुख्य छ ।
यस श्लोकमा तàवहरूको नायक आकाशमा ब्रह्माण्ड स्थित रहेको पुष्टि गर्न खोजिएको छ । ‘शिवस्वरोदय’ मै फेरि भगवान् शिव देवी पार्वतीलाई बताउनुहुन्छ — “निरञ्जन निराकार जुन एउटा परब्रह्म परमात्मा छ, त्यसबाट नै यो आकाशतàव उत्पन्न भएको हो ।”
यसरी के बुझिन्छ भने परब्रह्म परमात्माको ‘एकोऽहं बहुस्याम्’ को सृष्टिसङ्कल्पको पहिलो सोपान नै आकाश रहेछ ।
आकाशमा स्थित र स्थिर हुन त्यति सजिलो छैन । आकाशमा स्थिर हुन आकाशतिर ध्यान दिनुपर्छ तर ध्येयवस्तु निराकार भइदिँदा अलि असहज हुन्छ । सगुण साकार वस्तुमा ध्यान केन्द्रित गर्न सजिलो हुन्छ, तर निर्गुण निराकारमा कठिन । त्यसका लागि वैदिक शास्त्रले उपाय पनि बताएको छ । पञ्चतàवमा हरेक तàवको एउटा–एउटा बीजाक्षर बताइएको छ । आकाशतàवको बीज हं हो । महाशून्य नीलो आकाशको कल्पना गर्दै त्यही बीजको ध्यान गर्न सकिने र यो बहुरङ्गी छटाबीच त्यो बीजाक्षरलाई राखेर ध्यान गर्न सकिने कुरा बताइएको छ । अनि सनातन वैदिक शास्त्र के पनि भन्छ भने हं बीजलाई केन्द्रमा राखेर निराकार निर्विकार आकाशतàवको ध्यानमा सिद्ध योगी वा साधक त्रिकालदर्शी हुन्छ, साथै उसले अष्टसिद्धि पनि प्राप्त गर्दछ । (शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘आध्यात्मिक क्षितिजमा टहल्दा’ बाट)
कविता प्रतियोगितामा कविहरूको ओइरो
काठमाडौँ । बानेश्वरस्थित रत्न पुस्तकालयको स्वर्णमहोत्सवका अवसरमा आयोजित प्रतियोगितात्मक कविगोष्ठीमा सुरेश सुवेदी, अर्जुन अन्योल र केशव भट्टराई प्रथम, द्वितीय र तृतीय भएका छन् । सान्त्वना पुरस्कार भने बाजुराम पौडेल र सरस्वती चिमोरियाले जितेका छन् । विेजेताहरूलाई स्वर्ण महोत्सवको मूल समारोहको अवसर पारी आगामी फागुन ४ गते पुरस्कार वितरण गरिनेछ । पुरस्कारको रकम १० हजार, ७ हजार, ५ हजार र २५—२५ सय रुपियाँसहित प्रमाणपत्र रहेको छ । वाचन गर्नेहरू सबैलाई प्रमाणपत्र दिइएको त्यस समारोहमा काभ्रे जिल्लाका कविहरू सकुल थापा, हरिप्रसाद चौलागाईं र आर० सी० विरहीलगायतले भाग लिएका थिए । निर्णायक समितिमा प्रा० गोपीकृष्ण शर्मा, प्रा० डा० विष्णुराज आत्रेय र प्रा० डा० कुलप्रसाद कोइराला हुनुहुन्थ्यो ।
कवयित्री तोया गुरुङको प्रमुख आतिथ्य, रत्न पुस्तकालयका अध्यक्ष श्यामप्रसाद अर्यालको सभापतित्व र आनन्द इभेन्ट ब्याङ्क्वेटको प्रायोजनमा सम्पन्न उक्त गोष्ठीमा जीवनचन्द्र कोइरालाले स्वागत भाषण र कलाधर काफ्लेले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कविगोष्ठीमा ८९ वटा कविताहरू वाचन गरिएका थिए भने टाढाटाढाबाट कविता वाचन गर्न पुगेका कविहरू भने दिनभरि बसेर पनि पालो नआएपछि फर्कन ढिलो हुने भएकाले कविता वाचन नगरी फर्किएका थिए ।
कविगोष्ठीका लागि प्राप्त सम्पूर्ण कविताहरूको सङ्कलनका रूपमा आगाामी फागुन ४ गते सार्वजनिक गर्ने गरी पुस्तक प्रकाशन गरिन लागेको जानकारी साहित्यकार हरि मञ्जुश्रीले गराउनुभएको छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |