मेरा बुबा बद्रीप्रसाद पहाडीले अत्यन्त आदर गर्ने व्यक्तित्वमध्ये एकजना हुनुहुन्थ्यो बद्रीविक्रम थापाज्यू । २०३४–३५ सालको कुरा हुनुपर्छ, मेरा पिताजीसँग पुलचोकस्थित उहाँको घरमा भेट्न गएको थिएँ ।
त्यो संस्मरण आज पनि मेरो मानसपटलमा ताजा छ । उहाँ अत्यन्त शालीन व्यक्तित्वका धनी हुनुहुन्थ्यो । मैले सानैदेखि सुनेको थिएँ २००७ सालको सङ्घर्षमा उहाँको अभूतपूर्व योगदान रहेको थियो । म उहाँलाई श्रद्धासुमन अर्पण गर्न चाहन्छु । २००७ सालको सङ्घर्षमा झन्डै साढे ९ महिनासम्म जेलमा बस्नुभएको, सर्वस्वहरण भएको र मृत्युदण्डको पर्खाइमा रहनुभएको बद्रीविक्रम थापाको योगदान अतुलनीय छ ।
क्रान्तिकारी र परिवर्तनको संवाहकका रूपमा उहाँ स्थापित हुनुभयो । निरङ्कुशताका विरुद्ध उहाँले सङ्घर्ष गर्नुभयो । परिवर्तन ल्याउन सजिलो छ, तर त्यसलाई संस्थागत गर्न कठिन छ । उहाँजस्ता गान्धीवादी नेतालाई सम्मान गर्दा म गान्धीकै प्रसङ्ग स्मरण गर्न चाहन्छु । भारत ब्रिटिसको उपनिवेशबाट स्वतन्त्र भयो ।
गान्धी मुर्दावादको नारा लाग्यो । पाकिस्तानबाट आएका शरणार्थीहरूको बेग्लै पीडा थियो । हिन्दू र मुस्लिमको दङ्गा थियो । लाखौँ मानिसहरू मारिए । करोडौँ मानिसहरू विस्थापित भए । गान्धीको पछिल्लो कालखण्डलाई हेर्नुभयो भने उहाँले बस्नुभएको उपवास, आमरण अनसन समालोचकको दृष्टिकोणमा अप्रिय पनि ठानिएको छ । तर गान्धी आफ्नो निष्ठाबाट विचलित हुनुभएन ।
भारत र पाकिस्तानको बीचमा भएको सम्झौताअनुरूप ५५ करोड पाकिस्तानलाई दिने कि नदिने भन्ने विषयमा गान्धीले भन्नुभयो — सत्य भनेको सत्य हो, दिने भनेपछि दिनुपर्छ । त्यो कुरा कतिपयलाई राम्रो लागेन होला । २००७ सालको क्रान्तिपछि शान्तिमण्डलको गठन भएको थियो । त्यसमा बद्रीविक्रम थापा पनि रहनुभएको थियो । उहाँको योगदान छ मुक्तिसेनालाई कसरी फिर्ता ल्याउने, कसरी अन्त्य गर्ने र सद्भाव कसरी राख्ने भन्ने कुरामा ।
त्यसपछि बडाहाकिमका रूपमा उहाँले विभिन्न जिल्लाहरूमा गएर सेवा गर्नुभएको छ । २०१७ सालमा तत्कालीन राजाको कदमपछि संसद विघटन हुँदा १० महिना उहाँलाई सेवाबाट बर्खास्त गरियो । त्यसपछि एउटा प्रशासकका रूपमा आफ्नो कर्तव्य विभिन्न अञ्चलहरूमा गएर उहाँले निर्वाह गर्नुभएको छ ।
बद्रीविक्रम थापा एउटा प्रशासकका रूपमा जहिलेसुकै रहँदा पनि स्वतन्त्रतासेनानीप्रतिको संवेदनशीलताबाट उहाँ कहिल्यै विचलित हुनुभएको थिएन । मैले बद्रीविक्रम थापाका पुस्तकहरू पनि पढेको छु । उहाँ विशिष्ट व्यक्तित्व हुनुहुन्थ्यो । उहाँसँग सिक्नुपर्ने कुरा के हो भने हामीले हाम्रो ऊर्जालाई कसरी प्रयोग गर्ने भनेर जान्नुपर्दछ ।
मलाई बद्रीविक्रम थापाको अर्को प्रसङ्ग पनि याद आउँछ । साहित्य र समाजसेवामा उहाँ रुचि मात्र राख्नुहुन्नथ्यो, साहित्यिक कार्यक्रम सकिएपछि बद्रीविक्रम थापा १० मिनेटको बाटोमा आफ्नो अञ्चलाधीशको गाडीमा नचढेर पैदल नै हिँड्नुहुन्थ्यो । गाडीमा जाँदा अर्को गौरव हुन्थ्यो होला । तर रामहरि जोशी र भीमबहादुर तामाङहरूले पनि लुखरलुखुर हिँडेको मैले देखेको छु । ठूला नेताहरूचाहिँ गाडीमा हिँडिरहेका हुन्छन् । त्यसैले हामी जुन आदर्शको कुरा गर्छौं, बद्रीविक्रम थापा त्यस्ता धेरै कुरामा अविस्मरणीय आदर्श हुनुहुन्छ । गान्धीले आफूलाई कष्ट दिएर जगत्को भलो गर्ने काम गर्नुभयो ।
तर आज अरूलाई दुःख दिएर जगत्को भलो गरेको भन्ने डरलाग्दो रोग सुरु भएको छ । हाम्रो समाजमा सहिष्णुता घट्तैछ । धैर्य समाप्त हुन थालेको छ । हाम्रो अघिल्लो पुस्ताबाट हामीले सिक्नुपर्ने कुरा के हो भने हामीले अरूलाई आदर गर्न सकेनौँ भने आउने पुस्ताले पनि हाम्रो आदर गर्दैन । बद्रीविक्रम थापाका बारेमा थुप्रै ग्रन्थहरू प्रकाशित गरेर विगतका धाराहरूलाई वर्तमानसँग जोड्ने मात्र होइन, भविष्यमा पनि प्रक्षेपण गर्नुपर्दछ । यो अत्यन्त महàवपूर्ण कुरा हो ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |