कटुञ्जे ÷ “यतिका राम्रा भवन छन्, शिक्षकहरु पनि तालिम प्राप्त हुनुहुन्छ, शुल्क पनि कम नै छ, किन हामी हाम्रा छोराछोरीलाई नीजि विद्यालयमा पढाउने ” इन्द्रावती प्राथमिक विद्यालयका अविभावक विदुर कोइरालाले भने, “अहिलेसम्म जति गएपनि अव नयाँलाई सरकारी विद्यालयमा नै पढाउने प्रतिवद्धता व्यक्त गरौँ । ”
विद्यालयको भवन उद्धघाटन कार्यक्रममा सहभागी उनले सरकारी विद्यालयमा पनि गुणस्तरीय शिक्षा दिन सकिने बताए । “इन्द्रावती विद्यालयकै भवन हेर्नुस्, हाम्रा घर, कोठा पनि यति सफा छैनन् होला, समुदायको सकृयतामा भवन बनेको छ, सरकारी विद्यालयलाई राम्रो बनाउन अव हामी आफैँ लाग्नुपर्छ । ” उनले भने ।
०४७ सालमा स्थापना भएको विद्यालयको लागि सेभ द चिल्ड्रेन, नाङ्शाल एसोशिएसनकोे ९ लाख १० हजार र स्थानीयको जनश्रमदान र सहयोग गरी कुल १० लाख ११ हजारको लागतमा विद्यालय भवन बनेको हो । कक्षाकोठा व्यवस्थापन, घेराबारा, शौचालय र खानेपानीको लागि पनि ती संस्थाले विद्यालयलाई सहयोग गरेका छन् । यसअघि विद्यार्थीले भवनको समस्या भोग्दै आएका थिए । विद्यालयमा दुईवटा कक्षालाई बारेर ४ वटा कक्षा सञ्चाालन गरिएको थियो ।
मेथिनकोट ३ का बल च्याङवा लामाले ३ आना जग्गा उपलव्ध गराएपछि रामकृष्ण अधिकारीको सकृयतामा विद्यालय स्थापना गरिएको थियो । माटोको डल्लाले बनेको गाह्रोमा सेउलाले छाएको छानोबाट शुरु भएको विद्यालयलले ०५१ सालमा जिल्ला विकास समिति र गाउँ विकास समितिको सहयोगमा पाएको अधुरो जस्ताले छाएर बनाएको भवनमा पठनपाठन हुँदै आएको थियो । विद्यालयका संस्थापक विद्यार्थी श्रीकृष्ण अधिकारी कष्टकर ती दिन सम्झदैँ भन्छन्, “डल्लाको गारो थियो, कटुसको सेउलाको छानो थियो, घरबाट पिर्का ल्याएर पढ्नुपथर्यो, अझ पानी परेपछि त घरतिर कुद्नुपर्ने बाध्यता थियो । ”
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद अधिकारी समुदायको सकृयतामा विद्यालय भवन बन्न सकेकोमा खुशी व्यक्त गर्छन् । “सबैको सहयोगमा भवन बनेको छ, अझै समस्या रहेकाले सहयोग हुने आशा गर्छौँ । ” उनले भने ।
०६० सालमा आधारभुत तथा प्राथमिक शिक्षा कार्यक्रमको सहयोगमा दुई कोठे भवन बनेपछि हालसम्म त्यसैलाई बारेर कक्षा सञ्चालन हुँदै आएको थियो । विद्यालयका प्रधानाध्यापक मुरारीप्रसाद काफ्ले भवन बनेपछि पनि भवनको समस्या रहने बताउँछन् । “बारेर मात्र समस्या समाधान गरेका छौँ, नयाँ भवन बनेपनि भवनको समस्या भने छ । ” उनले भने ।
तामाङ समुदायको बाहुल्यता रहेको विद्यालयका विद्यार्थी इट्टाभट्टामा जाने गरेकाले विद्यार्थीको संख्या कम छ । “मेथिनकोट र कानपुरको विचमा पर्ने यो विद्यालय नजिकै अरु प्रावि पनि छन्, आर्थिक विपन्न समुदाय भएकाले इट्टाभट्टामा जानुपर्ने उनीहरुको वाध्यता पनि हो । ” प्रअ काफ्लेले भने । विद्यालयमा ६० विद्यार्थी छन् । २ दरवन्दी १ नीजि र राहत शिक्षक कार्यरत विद्यालयमा १ शिक्षकको समेत अभाव छ । अभावका कारण बहुकक्षा सञ्चालन गर्ने गरिएको छ । प्रधानाध्यापक कार्यलयको कामले बाहिर जानुपर्दा अझ समस्या हुने गरेको छ ।
भवन बन्दा खुशीयाली
“पहिला हाम्लाई भवनको दु ः ख थ्यो
नयाँ भवन बनेपछि सुख भो ”
भवन उद्धघाटन कार्यक्रममा विद्यार्थीले आफ्नो खुशी गित मार्फत यसरी व्यक्त गरे । उनीहरुले सहयोगी दाताहरुलाई धन्यवाद समेत दिए ।
जिल्ला शिक्षा कार्यलय काभ्रेका विद्यालय निरिक्षक हिराकाजी श्रेष्ठले भवन उद्धघाटन गरेका थिए । कार्यक्रममा शान्ती जनआदर्श सेवा केन्द्रका अध्यक्ष शंखबुद्ध लामा, सेभ द चिल्ड्रेन मध्यमाञ्चालका शिक्षा कार्यक्रम संयोजक हरि डंगोल, नेपाल प्रेस युनियनका केन्द्रिय कोषाध्यक्ष इश्वरी ओझा, जनक उच्च मावि श्रोत केन्द्रका स्रोत व्यक्ति पुर्णचन्द्र काफ्ले, नाङ्शाल एसोशिएसनका कार्यक्रम संयोजक पुस्कर काफ्ले, बुद्ध प्राविका प्रधानाध्यापक इन्द्रजित तामाङ, विद्यालयका शिक्षक शंकर सिग्देल, पुर्व विद्यार्थी श्याम अधिकारी लगायतले विद्यालय भवन बनेकोमा खुशी प्रकट गरे ।
विद्यालयले उल्लेखनीय योगदान पु¥याउने १२ जनालाई सम्मान समेत गरेको छ । सम्मानित हुनेमा बल च्याङवा तामाङ, कृष्णप्रसाद अधिकारी, माधवप्रसाद अधिकारी (क), माधवप्रसाद अधिकारी (ख), अम्विका तामाङ, चिनीमाया तामाङ, विष्णुमाया तामाङ, चन्द्रमाया तामाङ, भोलानाथ अधिकारी, भगवती प्याकुरेल , रिता कोइराला र धनबहादुर तामाङ छन् ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |