जिल्लाको होक्से गाविसको खराव परिचय बनेको छ , “मृगौला बेच्नेको गाउँ । ” धेरैले यसलाई “बैँक अफ किड्नी ” भन्ने गरेका छन् । विगत २० बर्षअघि देखि यहाँ शरिरको महत्वपुर्ण अंग मृगौला बेच्ने क्रम शुरु भए पनि अझै पनि यो रोकिएको छैन ।
जिल्लाको होक्से, ज्याम्दी, काभ्रे, महादेवस्थान, बालुवा , जैशीथोक लगायतका क्षेत्रमा क्षेत्रमा मात्र मृगौला बेच्नेको संख्या १ सय नाघिसकेको छ । बेच्नेलाई २ लाख सम्म दिने प्रलोभन देखाएर ३० देखि ६० हजारसम्म दिने गरिएको छ । आर्थिक रुपमा विपन्न यो क्षेत्रका मानिसहरु गरिवी नै मृगौला बेच्नुपर्ने कारण बताउने गरेपनि अरुको देखासिकी, दुईमध्ये एकले काम गर्ने वा अर्को पलाउने गलत जानकारीका कारण अमुल्य अंग मृगौला बेचिरहेका छन् । उनीहरु अहिले सामाजिक, आर्थिक तथा शारीरिक रुपमा पनि कमजोर बन्दै गएका छन् ।
जनअधिकार संरक्षण मञ्च, नेपाल तामाङ महिला घेदुङ, कानुनी सहायता केन्द्र, बहुसाँस्कृतिक मनोसामाजिक संस्था लगायतले जनचेतनामुलक कार्यक्रम, सुरक्षित बसाइसराई, कानुनी सहायता लगायतका कार्यक्रमहरु सञ्चालन गरिरहेका छन् । उनीहरुको अभियानले केही उपलव्धी हासिल गरेको त छ, तर यसैमा सन्तुष्ट हुने अवश्था भने छैन ।
हालसम्मकै ठूलो उपलव्धी मान्नुपर्छ की, मृगौला तस्करीमा संलग्न ठूलो गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । विगत २० बर्षदेखि तस्करीमा संलग्न मध्येका १० जनालाई जिल्ला प्रहरी कार्यलय काभ्रेले पक्राउ गरेको हो । पक्राउ परे मध्येका होक्सेका प्रेम बजगाई होक्सेमा तस्करीको शुरुवात गर्ने मध्येका मानिन्छन् । उनी २०५० सालदेखि नै मृगौला तस्करीमा संलग्न हुँदै आएका थिए ।
प्रहरीको यो सफलतालाई ठूलो उपलव्धी मान्नुपर्छ । तस्करी नियन्त्रणको लागि तदारुकता देखाउने जिल्ला स्थित प्रहरी नेतृत्व र अनुसन्धानमा खटिने प्रहरी धन्यवादका पात्र छन् । प्रत्यक्ष परोक्ष सहयोग गर्ने धेरैको पनि यसमा ठूलो योगदान छ । तर, तस्करी नियन्त्रणको लागि यति मात्र पर्याप्त छैन । स्थानीय राजनैतिक दलहरुले यसमा प्रतिवद्धता व्यक्त गर्नुपर्छ । स्थानीय सचेत नागरिकले प्रहरीलाई सुचना दिएर, स्थानीयलाई सचेत गराएर भुमिका खेल्न सक्छन् । स्थानीय नागरिक समाज, विद्यार्थी, बुद्धिजीवी लगायतले पनि आफ्नो भुमिका देखाउनुपर्छ । पक्राउ परेकालाई कडा कानुनी कार्वाही गर्न सकिएपनि अर्को समुह यसको तसकरीमा नलाग्न सक्छ । समग्रमा सबैको सामुहिक पहलले जिल्लाको र होक्सेको कलंकको रुपमा रहेको “मृगौला तस्करी ” निर्मुल हुन सक्छ । यसको लागि सरोकारवालाहरुले आजैबाट पहल थालौँ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |