-ज्ञानमणि कालोटोपी
वुढानिलकण्ठ, काठमाडौं
व्यवसायीकरुपमा मौरी पालेर यहाँका एक कृषकले अहिले उल्लेख्य रुपमा सफलता पाएका छन् ।
तीस वर्ष देखिको प्रयास र मिहेनतले वुढानिलकण्ठका कृषक पवन सत्यालले अहिले यो सफलता पाएका हुन् । तीस वर्ष अगाडि मौरीपालनको कुनै सम्भावना नभएको समय देखि उनले शुरु गरेको यो व्यवसायबाट आफूले त राम्रो सफलता पाएका छन् नै अरु पन्ध्र जनालाई पनि प्रत्यक्ष रोजगारीको अवसर मिलेको छ । मौरीपालन व्यवसाय शुरु गर्दाका दिनहरुमा उनलाई धेरै समस्या थियो । मौरी पाल्नका लागि कुनै व्यवस्थित निकाय थिएन । आवश्यक मौरीहरु कतैबाट किनेर ल्याउने सम्भावना पनि थिएन । आर्थिकरुपमा पनि समस्या नै थियो । एउटा मौरी देख्दा समाउन त्यसको पछि लाग्दै जानु पर्ने अवस्था थियो । त्यति मात्र होईन , साथीभाई तथा आफन्तले नचाहिने काम गरेर समय बर्बाद पारेको भन्दै गाली पनि गरे, उनलाई । तर पनि पवनको आँट र हिम्मतलाई केहिले पनि रोकेन । उनले मौरीपालन सम्बन्धि अध्ययन र अनुसन्धान गरेर शुन्य लगानीबाट शुरु गरेको यस व्यवसायमा अहिले करिब २ सयको हाराहारीमा मौरीका घारहरु रहेका छन् । मेलीफेरा जातको मौरी पालेका उनले आफ्नै घर नजिकै करिब २ रोपनी जग्गा भाडामा लिएर आफ्नो व्यवसायलाई निरन्तरता दिईरहेका छन् । उनी भन्छन्–‘ आँट र जाँगरले जो कसैलाई पनि एक दिन सफलता दिलाएरै छोड्छ ।’
सानै उमेर देखि कृषि तर्फ आकर्षित सत्याल विद्यालयस्तरको पढाईको क्रममा शिक्षकले तिमी भविष्यमा के बन्छौ भनेर प्रश्न गर्दा सफल कृषक बन्छु भन्ने जवाफ दिन्थे । त्यतिखेर उनको जवाफ सुन्दा नाक खुम्च्याउने साथीहरु अहिले पवनको सफलता देखेर दङ्ग भएका छन् । स्थायी घर राजधानी कै बाँसबारी भए पनि कामका लागि उपयुक्त वातावरण मिलेकाले उनी केहि वर्ष अगाडि वुढानिलकण्ठ सरे । त्यहाँ उनले गार्डेन एपियरी तथा खरायोपालन केन्द्र खोलेर आफ्नो खुशिको यस व्यवसायलाई निरन्तरता दिईरहेका छन् ,अहिले । वार्षिक यति नै कमाई हुन्छ भन्न गाह्रो भए पनि उनले यसबाट सोचे भन्दा राम्रै आम्दानी गरेका छन् । उत्पादित महलाई प्रतिकेजी ४ सय सम्ममा विक्रि गर्ने गरिएको बताउने कृषक सत्यालले त्यहाँबाट इच्छुक व्यक्तिलाई मौरीको घार पनि विक्रि गर्ने गरेका छन् । ‘ मौरी सहितको घार एउटाको ४ हजार ६ सयमा विक्रि हुन्छ ।’ उनी भन्छन् –‘ गएको वर्ष ४ सय घार विक्रि गरिएको थियो । यस वर्ष यो संख्या वढाउने अभियानमा छु ।’ मौरीमा लगानी गर्ने कृषकहरुको संख्या कम भएकाले यो व्यवसाय फस्टाउन नसकेको उनको भनाई छ ।
आफुले पालेका मौरीहरुलाई चराउन लैजाने क्रममा पवन कहिले दाङ्ग पुग्छन् त कहिले चितवन । मौरीका लागि फूलको आवश्यक पर्ने भएकाले विभिन्न ठाउँमा लैजानु परेको उनी बताउँछन् । त्यहाँ पनि उनले विक्रि केन्द्रहरु खोलेर सर्वसाधारण कृषकहरुलाई सजिलो बनाएका छन् । नेपालको मौरीपालन व्यवसाय पहिले देखि नै तराई केन्द्रित रहदै आएकाले यो पहाड तिर त्यति फस्टाउन नसकेको सत्यालको भनाई छ । उनले अहिले यसलाई पहाड केन्द्रित बनाउने अभियान थालेका छन् । नेपालमा व्यवसायीक रुपमा मौरीपालन गर्ने पहिलो कृषकका रुपमा परिचित ४९ वर्षिय कृषक सत्यालका अनुशार फूलको सिजन भएको मौसमका प्रत्येक एघार दिनमा एक घार मौरीले मह उत्पादन गर्छ । मौरीका लागि वर्षायाम उपयुक्त मौसम नभए पनि असोज महिना देखि जेठ सम्म राम्रो मानिन्छ । यो समयमा प्रतिघार ६० केजी सम्म मह उत्पादन हुने गरेको उनको अनुभव छ ।
यस व्यवसायका लागि पवनले कृषि विकास वैंकबाट आर्थिक सहयोग पाएका छन् । २ वर्ष अगाडी अन्य कृषकहरुको लागि ऋण रोक्का गरिंदा पनि वैंकले उनका लागि प्राथमिकतामा राखेर ऋण प्रवाह गरिदिए पछि कामका लागि सजिलो भएको सत्यालले बताए । नेपालमा मौरीपालन व्यवसायमा प्रत्यक्षरुपमा लाग्ने कृषकहरुको संख्या करिब १५ सय जति छ । उनीहरुले जम्मा ३० हजार जती मौरीका घार पालेका छन् । यसबाट वार्षिक तीन सय टन मह उत्पादन भए पनि यो नेपालका लागि नपुग भएकाले बाहिरबाटै आयात गर्नु पर्ने अवस्था छ । अहिले नेपालमा वर्षेनी हजारौं युवाहरु वैदेशिक रोजगारमा गईरहेका छन् । यो जनशक्तिलाई यहिं परिचालन गर्न सके मौरीपालन व्यवसायलाई अझ शसक्त बनाउन सकिने पवनको अनुभव छ । उनी भन्छन्–‘ यसबाट मैनको पनि उत्पादन हुने भएकाले सरकारले मौरीपालक कृषकहरुलाई विशेष प्राथमिकतामा राख्नु आवश्यक छ । ’
प्रत्येक दिन उनको व्यवसाय हेर्न आउनेहरुको अहिले निकै भिड लाग्ने गरेको छ । यहाँबाट सिकेर अरु २० जनाले पनि यो व्यवसाय शुरु गरेका छन् । उनले यसका लागि मात्र करिब ३० लाख लगानी गरेका छन् । केहि वर्ष अगाडि देखि मौरीका अतिरिक्त खरायोपालनको पनि शुरुवात गरेका सत्यालले खरायोको माग पुरा गर्न नसक्दा अहिले यसको पालन भने छोडेका छन् । केन्द्रमा अहिले २ सय मौरीका घार रहेको र केहि समय पछि अझ विस्तारका साथ खरायोपालनलाई पनि निरन्तरता दिने सोचाई रहेको उनले जानकारी दिए ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |