मण्डनभेग ÷ जिल्लाको देउपुरका कृषक शंकर डोटेलले आजभन्दा करिब डेढ दशक अगाडि देखि आफ्नो पाखो बारीमा कफिखेती शुरु गरेका थिए । अहिले उनी वार्षिक एक देखि डेढ लाख सम्म कफि खेती बाटै आम्दानी गर्छन् । देउपुरमा उनी जस्तै करिब पाँच सय भन्दा वढि कफि खेती गर्ने कृषकहरु छन् । न्युनतम दशहजार देखि वढिमा डेढलाख सम्म वार्षिक आम्दानी कफि खेतीबाटै लिने कृषकहरुको संख्या यहाँ धेरै छ । देउपुरमा मात्र होइन, जिल्लाको महादेवस्थान, चण्डेनीमण्डन, जैशिथोक, पाँचखाल, ज्याम्दी, अनेकोट, च्याम्राङ्गवेशि लगायत २ दर्जन भन्दा वढि गाविसका करिव दशहजार भन्दा वढि कृषकहरु अहिले प्रत्यक्षरुपमा कफिखेती तिर लागेका छन् । यस खेतीबाट अहिले सोचेभन्दा राम्रो आम्दानी हुन थालेको सम्वन्धित कृषकहरुको भनाई छ । ‘शुरुमा त कफिको पनि खेती गरिन्छ र ,जस्तो लागेको थियो ।’ मण्डनभेगका कृषक उद्धव पराजुली भन्छन्– “अब त कफि खेती नै हाम्रो आम्दानीको मुख्य स्रोत बनेको छ ।” कफि खेती नगर्दाका दिनहरु यहाँका कृषकहरुका लागि अत्यन्त कष्टकर थिए । सामान्यरुपमा घर चलाउन पनि आर्थिक समस्या नै जटिल रुपमा देखा पर्ने गरेको थियो । अब त्यस्ता दिनहरु कथा जस्ता भएका छन् । कफि खेतीका लागि कृषकहरुलाई वातावरण त सहज भएको छ नै , यसका अतिरिक्त उत्पादित कफिलाई बजारको पनि समस्या छैन । यसले गर्दा अझ सजिलो भएको कृषकहरुले बताएका छन् । गाउँ–गाउँका कृषकहरु आफैं संगठित भएर विभिन्न समुहहरु खोलेका छन् । यस्ता समुहहरुले उत्पादित कफिहरु कृषकहरुलाई उचित मुल्य दिएर संकलन गर्छन् । समुहहरुले संकलन गरेका कफिहरु जिल्ला कफि विकास समितिले खरिद गरिदिएर कृषकहरुलाई सजिलो बनाइदिएको छ । एकपटक रोपेपछि पटक–पटक रोपिरहनु नपर्ने, नियमित सिंचाई र मलको आवश्यकता नपर्ने आदि कारणले गर्दा कफि खेतीगर्न किसानहरुलाई सजिलो भएको छ । नगदे बालीका रुपमा लिइने गरिएको कफि अहिले जिल्लाका सुख्खा डाँडाहरुमा लटरम्म हुने गरि फलेको देखिन्छ । वर्षमा २ पटक आम्दानी लिन सकिने कफि खेती गरिएको जग्गामा घुसुवा बालीका रुपमा अदुवा, हलेदो , तथा तरकारीहरु पनि रोप्न सकिन्छ । जसले गर्दा एउटै जग्गाबाट दोहोरो उत्पादन गर्न सकिने भएकाले धेरै कृषकहरु यस तर्फ लाग्न सकेको उनीहरुले बताएका छन् । यहाँ उत्पादित कफि जिल्लाका अतिरिक्त राजधानी लगायत देशका विभिन्न शहरहरुका साथै विदेश तिर पनि निर्यात हुने गरेको छ । किसानहरुले उत्पादित कफि मात्र नभएर यसका विरुवाहरु पनि तयार गरेर बेच्ने गरेका छन् । यसबाट पनि राम्रै आम्दानी हुने गरेको चण्डेनीमण्डनकी कृषक विजया नेपालले बताइन् । पछिल्ला दिनहरुमा परम्परागत खेतीबाट टाढिदै गएका जिल्लाका अधिकांश कृषकहरु अहिले पशुपालन, तरकारीखेती तथा कफि, अम्रिसो खेती लगायतका नगदेबाली तर्फ आकर्षित हुन थालेको नेपालले जानकारी दिइन् ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |