भीमटार ÷ सिन्धुपाल्चोकको भिमटार –९ विसदेउटारका सुन्दर माझी मध्य घाम चर्कोमा पनि आगो बालेर आँगन डिलमै घरेलु रक्सि बनाउँदै थिए ।
आफ्नो संस्कृती अनुशार विभिन्न चार्डपर्व र अन्य तिथी श्राद्धहरुमा पनि रक्सिलाई सगुनको रुपमा लिइने हुँदा संस्कृति बचाउनकै लागि घरेलु तीनपाने रक्सिको उत्पादन गरिने गरिएको उनले बताए । यसरी उत्पादन गरिने रक्सि कोदोबाटै बनाइने पनि उनी बताउँदै थिए । सहज रुपमै गाउँघरमा कोदो जतिपनि पाइने भएकाले रक्सिका लागि यसको प्रयोग गरिने गरिएको उनको भनाई छ ।
सुन्दर जस्तै जिल्लामा धेरैजसोले अहिले कोदोबाट रक्सि बनाउँदै आएका छन् । केहिले संस्कृति बचाउँनकै लागि रक्सि बनाउने गरेको बताए पनि अधिकांसले व्यापारका लागि पनि कोदोको रक्सि बनाएको बताएका छन् । कोदो रक्सि उत्पादनको भरपर्दो कच्चा पद्धार्थ भएको र अहिले जिल्लाका स्थानिय बजारका अतिरिक्त छिमेकी जिल्ला तिर पनि यसको राम्रो माग भएकाले कोदोको रक्सि बनाउनेहरु दैनिक रुपमा बढ्दै गएको पाइएको छ ।
हुन त घरेलु रक्सि उत्पादन र विक्रि वितरणका लागि अनुमती लिनु पर्ने कानुनी प्रावधान छ तर जिल्लाका गाउँ–गाउँमा यस नियमले खासै प्रभाव पारेको छैन । विभिन्न जनजातीहरुको बाहुल्य रहेको सिन्धुपाल्चोक जिल्लामा उनीहरुले आफ्नो संस्कृती जोगाउने उद्देश्यले रक्सि उत्पादन गर्ने गरेको बताउँदै आए पनि पछिल्ला दिनहरुमा संस्कृतिको नाउँमा यसले विकृती फैलाएको केहि स्थानियहरुले बताएका छन् ।
जिल्लामा उत्पादन हुने कूल कोदो मध्ये करिब ९० प्रतिशत कोदो घरेलु मदिरा उत्पादनका लागि प्रयोग हुँदै आएको छ । जिल्लाको अधिकांश ठाउँमा कोदो उत्पादन हुने र उत्पादित कोदो विउविजन र खाद्यान्नका लागि भन्दा पनि मदिरा उत्पादनमा प्रयोग हुने जिल्ला कृषि विकास कार्यालय सिन्धुपाल्चोकका प्रमूख ईश्वरी पाण्डेले जानकारी दिए ।
पाण्डेका अनुसार मदिरा उत्पादनका लागि कोदोको प्रयोगले जिल्लामा कोदोको विक्रीवितरण पनि राम्रै हुने गरेको छ । जिल्लामा १ पाथि फलेको कोदो १ सय ४० रुपैयाँको दरले बेचबिखन हुँदै आएको छ । यो वर्ष २१ हजार २ सय ५२ मेट्रिक टन कोदो उत्पादन भएको कार्यालयले जनाएको छ ।
यसरी उत्पादित कोदोको रोटी र ढिंडो खानेहरुको तुलनामा रक्सि बनाएर खानेहरुको बाहुल्य रहेको ज्यामिरेका टंक खड्काले बताए । सिन्धुका गाउँ गाउँमा उत्पादित हुने कोदोको माग बाहिरी जिल्लाहरुमा पनि हुने गरेको तर अधिकांसले रक्सिका लागि प्रयोग गर्ने हुँदा माग अनुशार पठाउन नसकिएको उनको बुझाई छ । कोदोलाई अन्य परिकारका रुपमा प्रयोग गरिने हो भने यसबाट राम्रो फाइदा लिन सकिने भएपनि यसतर्फ कसैले चासो नदेखाएको पनि उनले बताएका छन् ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |