महेश पौडेल
पत्रकारिताको यात्रामा म भन्दा जेठा सहकर्मी प्रदिपजीको अगुवाईमा सञ्चालन भएको यस पत्रिकाले हालसम्म निरन्तरता प्राप्त गरेको छ । हामी यो निरन्तरताको मुक्तकण्ठले प्रशंसा गर्दै यो अंकलाई खुशी साटासाटको अंक ठानिरहेका छौं । यही खुशीलाई हामी धित मर्ने गरी लेख्छौं अनि भन्छौं किनकी हामीलाई निरन्तरता हुन सकेकोमा गर्ब छ । केही समयदेखि मध्यमार्गले बिकास पत्रकारितालाई समेत जोड दिदैं आएको छ । मोफसलमा यो प्रयासलाई राम्रो मान्न सकिन्छ । पत्रपत्रिका प्रकाशनभित्र निरन्तरताको बिषय मात्र अन्तिम कुरा भने होइन । बिशवमा एक सय बर्ष भन्दा बढी प्रकाशन भएको पत्रिका बन्द भएको घटना हामीबीच ताजै छ । अतः पत्रिका प्रकाशन सँगै यसभित्रका प्रकाशन सामाग्री,टिमवर्क र अझ भनौं सामाजिक दायीत्व सबैभन्दा मुल कुरा हो । यसलाई जोगाउन सके भाबी दिनमा पनि यसको निरन्तरताको सुनिश्चितता सम्भब र अर्थपूर्ण हुनजान्छ । अर्काे महत्वपूर्ण पाटो हाम्रो पत्रिका प्रकाशनले समाजमा के परिवर्तन ल्याउन मद्दत ग¥यो ? आचारसंहिता परिपालनमा हामी कति इमान्दार रहन सक्यौ ? यसमा कार्यरत पत्रकार साथीहरुले श्रमजीबि पत्रकार ऐन अनुसार तलब पाएँ कि पाएनन ? सबालहरु प्रशस्त छन् । त्यसैले पत्रिका प्रकाशनका जति पनि चुनौती छन् त्यो भन्दा बढी चुनौती यसको गुणात्मकतासँग गाँसिएका छन् । यी बिषयहरुको समग्र स्वरुप पत्रपत्रिकाहरु गुणात्मक छैनन् ? पत्रकारहरु योग्य छैनन् ? त्यसैले पत्रकारहरु जे पनि लेख्छन् जस्ता आरोपहरु खेप्नुपर्ने हाम्रो बाध्यता छ ।
यसै सन्दर्भमा हाम्रा राष्ट्रपति डा. रामबरण यादबले केही समय अघि नेपाल प्रेस काउन्सीलको संहितामा लेखेका थिए – जुनसुकै जागीर खान अथवा कुनै पोष्टमा नियुक्ति हुनका लागी जाँच दिनुपर्छ तर राज्यको चौथो अङ्ग पत्रकार हुन कुनै परीक्षा दिनुपर्दैन । यस्तै अर्काे पत्रकार मोहन मैनालीको शब्दमा – हाम्रो जस्तो मुलुकमा धेरै जस्तो पत्रकारहरु मेहनत गदैनन् भन्ने गुनासो सुनिन्छ । त्यसैले कतारको भिसा लागेको मानिसले खेत जोत्न अल्छि गरेझैं पत्रकारिता पेशामा लागेकाले पनि गुणस्तरीय काम गर्न नसकेको पाइन्छ । यी र यस्ता गुनासोको न्यूनिकरणका लागी पनि पत्रकारहरुले गुणस्तरीय पत्रकारिताका लागी तलका मुलभुत पक्षमा ध्यान दिनु जरुरी छ ः–
बिज्ञापन र समाचार
नेपालको पत्रकारिता भित्र मोफसलको पत्रकारिताको बेग्लै अन्तरकथाहरु छन् । राष्ट्रिय स्तरमा खुलेका पत्रपत्रिकाहरुको कथा र ब्यथा भन्दा पनि जिल्लामा पत्रिका प्रकाशन गरेर आफनो रुचि पुरा गर्ने र ब्यबसायीकता बचाई राख्ने नामको मनोबलले पत्रिकाको गरिमा र साखलाई कमजोर बनाएको छ । मोफसलको पत्रपत्रिकाहरुमा कतिपय बिज्ञापनहरु समाचार बनेर आउँछन् सायद यो उनीहरुको रहर होइन बाध्यता हुनुपर्छ । जसले पत्रकारिताको पत्रकारको वजनलाई कमजोर बनाएको छ । यसको कारण स–सानो बिज्ञापनको नाममा समाचारको मृत्यु गर्ने वा बार्गेनिङ्ग गर्ने वा बिज्ञापनसँग समाचार बेच्ने संस्कृतिको उदाहरण हो । जसले पत्रपत्रिका वा सञ्चारमाध्यमका लागी कालान्तरमा फाइदा पुग्दैन । तर बिडम्बना अभाबमा पत्रकार बन्न रुचि राखेकै कारण निरन्तर बिज्ञापन दिने दाताहरुलाई खुशी तुल्याउन लागीपरेका छौं । हाम्रो बाध्यता पनि हो । अर्काे तर्फ बिज्ञापन दातासँग सम्बन्ध सुमुधुर बनाउने नाममा बाक्लो बस उठ गर्ने गर्छौ । तर एउटा पत्रकारले समाचारका स्रोत वा ब्यबसायीक संघ संगठनका मानिसहरुसँग कस्तो सम्बन्ध कायम गर्नुपर्छ भन्ने बुझेर पनि बुझपचाइ रहेका छौं । तर यस खाले संम्बन्ध पछिका दिनमा लाभदायक नहुन सक्छ । बिज्ञापन दातासँगबाट बिज्ञापन ल्याउन नसकेका कारण पत्रकारको जागीर समेत खोसिएको थुप्रै उदाहरण पनि ताजै छन् । त्यसैले पनि पत्रकार चेपुवामा छन् । अर्काे समाचार छापे बापत रिपोर्टरले पैसा लिने प्रचलन पनि उत्तिकै रहेको छ ।
रिपोर्टर र ब्यबस्थापकः
अर्काे मोफसलमा एउटै मानिस रिपोर्टर र ब्यबस्थापक बन्ने रोगले न पत्रिकाको मर्म न त धर्म नै पुरा गर्न सक्छ ? यस्तो भुमिका रहँदा त्यो ब्यक्ति न त रिपोर्टर बन्छ ? न त कुशल ब्यबस्थापक नै ?
यसको दुर्बल पक्ष दुबै एउटै बन्दा उसको समाचारको पाटो बलियो भयो भने ब्यबस्थापकीय पक्ष कमजोर हुनजान्छ । ब्यबस्थापकीय बक्ष बलियो भए समाचारको पाटो कमजोर हुन्छ । सत्य बोल्नु पर्दा जिल्लाहरुका हकमा अब सञ्चारसंस्थामा काम गर्ने जो कसैले रिपोर्टिङ्ग मात्र गर्नेले आफ्नो रोजीरोटी धान्न सक्दैनन् । पत्रिका सञ्चालकले त्यसरी बिषय छुटाएर नियुक्ति पनि दिदैनन । नियुक्ति दिइ हाले पनि तलब पाउँदैनन ।
समाचार र स्तम्भ
हामी धेरै जसो राजनैतिक समाचारलाई केन्द्रबिन्दुमा राखेर समाचार लेख्ने गर्छौ । तर त्यसको प्रभाब के ? केही राजनैतिक दलका नेता कार्यकर्तालाई खुशी तुल्याउन नाममा लेखिएको समाचार कुनै पनि हिसाबमा अर्थपूर्ण रहदैनन । समाचार जहाँ सूचना र नयाँ जानकारी हुनैपर्छ । तर हामी बिभिन्न स्तम्भहरु समाबेश गरेर फरक फरक रुचि भएका पाठकको पत्रिका बनाउन चाहदैनौं । के पत्रिका भनेको राजनैतिकर्मीको मात्र हो । खेलकुद, साहित्य, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायतका बिषयहरुमा औपचारिक कार्यक्रम भए बाहेक हाम्रा कलम नचल्नु बिडम्बना हो । यसको आशय हामी बिषय छनौटमा कमजोर छौं । यसैगरी समाचारहरुमा पनि पेज भरेर झन्झट पुरा गर्न बढी क्रियाशिल छौं । हाम्रा पाठकहरुले कस्तो बिषय र समाचार खोजेका छन् त्यसतर्फ हाम्रो पटक्कै ध्यान छैन । जसका कारण हाम्रो पत्रकारितामा गुणस्तरीयताको प्रश्न उठ्ने गर्छ ।
यी यावत समस्याको समाधान गुणस्तरीयताको जिम्मा केबल पत्रकारहरुको भागमा छ । सायद राज्य जिम्बेवार भएको भए सञ्चारमैत्री भएको भए आज नेपालको सञ्चारको बिकासक्रमले कोल्टे फेर्ने थियो । म त भन्छु मुलुको सञ्चारमा आएका प्रगती सञ्चरकर्मीको एकलो प्रयास नै हो । यसैको जगमा टेकेर काभ्रेमा पनि बिगत दश बर्षसम्म साप्ताहिक पत्रिकाको गरिमालाई जोगाएर यहाँसम्म ल्याउने सबै साथीहरुलाई बधाई दिन चाहन्छु । अन्त्यमा, बिकासानन्दको भनाई सापटी लिदैं ‘केही परिबर्तन गर्नु छ भने आफैंबाट शुरु गरौं’ भन्दै मध्यमार्गको उत्तरोत्तर प्रगतीको कामना गर्दछु ।
(लेखक, नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष एबं यस साप्ताहिकका पूर्व कार्यकारी सम्पादक हुन् ।)
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |