मोहन दुवाल, साहित्यकार
तथा जनमतका प्रधानसम्पादक
आनन्ददेव भट्ट ः एकजना बौद्धिक व्यक्तित्व । एकजना साहित्यकार । एकजना वामपन्थी चिन्तक । राजनीतिज्ञ । धेरैथोकमा विभाजित एकजना कर्मशील मान्छे । नेपालको माटोमा कर्मशील भएर गएका यो मान्छेले नेपाली समाज, जनता र देशकै हितखातिर धेरै परिश्रम बगाएर गएका थिए । तर यिनले खर्चेको परिश्रमका अनगिन्ती बूँदहरूको मूल्याङ्कन र रेखाङ्कन भएको जस्तो देखिएन । प्रगतिशील साहित्यका व्याख्याता तथा निकै चर्चामा आइसकेका प्रगतिशील समालोचक आनन्ददेव भट्टले जीवनका युवावस्थादेखि नै जीवनपर्यन्तसम्म चिन्तन, मनन, अध्ययन गर्दै राजनीतिक र साहित्य विषयमा विश्लेषण गर्ने र आफ्नो विचार राख्ने कुरामा कहिल्यै पनि पछि परेनन् ।
प्राध्यापक छँदादेखि माक्र्सवाद–चेत्बाट प्रभावित यिनी चितवन, धरान जहाँ पुग्दा पनि आफ्नो पहिचान देखाउन कहिल्यै पछि सरेनन् । धेरै हण्डर खाए यिनले, धेरै ठक्कर ख्वाए यिनलाई तर पनि यिनी विचलित नभइकन आफ्नै यात्रामा बढिरहे । कम्युनिष्ट सिद्धान्त मन पराएर कम्युनिष्ट पार्टीमा लागे । तर आनन्ददेव भट्ट जस्तो विश्लेषक, बुद्धिजीवी कहिल्यै केन्द्रीय समितिमा रहेर राजनीति गर्न पाएनन् । बैतडीजस्तो ठाउँमा पुगी चुनावमा उठे, तर यिनी दुवैपल्ट हारे । यस्तै चक्र–चक्रमा विभाजित भई दिए यिनका जीवन–प्रसङ्गहरू । सधैं हस्याङफस्याङ, सधैं कुदाकुद, सधैंको अध्ययन मननकै स्वरूप हुन् – आनन्ददेव भट्ट ।
वि.सं. १९९३ असोज २५ गते जुम्लाको खलङ्गामा पिता जयदेव भट्ट र माता हीरादेवी भट्टका सुपुत्र भई आनन्ददेव भट्टको जन्म भएको हो । विद्वान पिताको रेखदेखमा हुर्कन पाएका यिनले पटना विश्वविद्यालयबाट एम.ए. र लण्डन विश्वविद्यालयबाट एम.एड. उत्तीर्ण गर्न पाएका हुन् । सुशीला खरेलको मायाप्रिती र संसर्गबाट निझर््र र सौरभका स्रोत हुन पाएका यिनका साहित्यिक प्रेरणा स्रोत हुन् पाल्पाका माधवप्रसाद देवकोटा । वि.सं. २०१५ सालमा सर्वप्रथम कविताको पुस्तक अब हिमाल बोल्छको प्रकाशन गराएर साहित्यिक क्षेत्रमा देखापरेका यिनी निबन्ध प्रबन्ध, समालोचना लगायत शिक्षा, पत्रकारितात्मक लेखनमा २००७ सालदेखि लागिपरेका एकजना चर्चित लेखक हुन् । नेपालका बौद्धिक व्यक्तित्व अर्थात् राजनीतिक चिन्तक हुन् – आनन्ददेव भट्ट । प्रगतिशील लेखक संघ नेपालका केन्द्रीय अध्यक्षसमेत रही नेतृत्व प्रदान गरिसकेका यिनीले प्रगतिशील साहित्यको इतिहासमा आफ्नो अलग्ग पहिचान बनाउन सफल व्यक्तित्व पनि हुन् ।
वि.सं. २०१७ सालदेखि प्राध्यापन पेसामा संलग्न रहेका यिनी धनकुटा, धरान, चितवनका क्याम्पसहरूमा प्राध्यापन गर्दै त्रिविवि पाठ्यक्रम विकास केन्द्र र अंग्रेजी शिक्षण विभाग कीर्तिपुरमा समेत कार्य गरेको देखिन्छ । २०५० देखि मात्र यिनी स्वेच्छिक अवकास प्राप्त गरी साहित्य र राजनीति सेवामा पूर्णकालीन रहे । २०१० सालमा नै राजनीति गरेवापत पक्राउमा परेका यिनी २०६२ सालसम्म पटक पटक गरी दुई वर्षभन्दा बढी जेलजीवन व्यतित गरेको देखिन्छ । स्पष्ट वक्ताका रूपमा सबैले चिनेका भट्ट नेकपा (एमाले)सँग सम्बन्धित कम्युनिष्ट पनि हुन् । २००८ सालदेखि नै कम्युनिष्ट पार्टीमा संलग्न रही कार्यदक्षता देखाइसकेका यिनले २००९ सालमा नेकपाको पूर्ण सदस्यता लिएका हुन् । चन्द्रधर उप्रेती, गोविन्दप्रसाद लोहनी, अरविन्द रिमालहरूकै प्रभावमा परेर राजनीति गरेका यिनले राजनीतिका साथै साहित्य सिर्जना र अध्ययनमा पनि त्यसैताकादेखि आफूलाई समर्पित तुल्याएका हुन् ।
साहित्यलाई प्रगतिमुखी जीवनको कलात्मक अभिव्यक्ति भन्न रुचाउने यिनी कर्तव्यशील सेवा नै साँचो र सुन्दर जीवन हो भन्छन् । आफ्नो अन्तिम दिनसम्म राष्ट्र र जनताको पक्षमा दृढता र ध्यानपूर्वक उभिन सकूँ भन्ने दृष्टिकोण बोकेर राष्ट्र र समाजमा देखा पर्दै आएका यिनले स्वदेशी साहित्यकारहरूमा लक्ष्मीप्रसाद देवकोटा, गोपालप्रसाद रिमाल, भूपि शेरचन, गोविन्द भट्ट मन परेको उल्लेख गरेका छन् । विदेशी साहित्यकारहरूमा शेली, इब्सेन, चेखोब, गोर्कीलाई मन परेको यिनी उल्लेख गर्ने गर्छन् । कवितामा त्यति चर्चामा नआएतापनि आनन्ददेव भट्टका ९ वटा काव्य कृतिहरू प्रकाशित छन् । प्रकाशित कृतिहरूमा अब हिमाल बोल्छ (२०१५), गुराँस (२०१५), आमा बोलाउँछिन् (२०१७), १७ साल (खण्डकाव्य, २०१५), ओमरखैयालाई जवाफ (२०१६), जीवनकै थुम्कोबाट (२०१६), तिमीलाई देख्दा (२०१७), साहिँली मैया (खण्डकाव्य, २०१८), युरी एलेक्सबीच गागरिन (२०१९) छन् । थुप्रै कविताका समीक्षा समेत लेखेर थुप्रै कविताहरू लेखिसकेका भट्टलाई कविका रूपमा भन्दा समालोचकका रूपमा सबैले स्वीकार्ने गर्छन् । प्रगतिशील समालोचकका रूपमा आफ्नो पहिचान बनाइसकेका समालोचक आनन्ददेव भट्टका प्रकाशित समीक्षा तथा समालोचना सङ्ग्रहहरूमा समालोचनाका बाटोतिर (२०१९), हाम्रा प्रतिभाहरू (२०१९), प्रतिभा पहिचान (२०४७), जनताको साहित्य (२०४८), व्यावहारिक समालोचना (२०४९) आदि छन् । जगत्को सृष्टिदेखि सबै विषयमा सूक्ष्म दृष्टि र चिन्तन राख्दै आफ्नो अनुभूति पोखिरहन रुचाउने यिनले अन्य विविध विषयमा पनि आफ्नो विचार कृतिमा पोखेर गएका छन् । यिनका यस खालका थुप्रै पुस्तक पुस्तिकाहरूमध्ये पुस्तकाकारमा प्रकाशित पुस्तकहरूमा जगत्को सृष्टि र सञ्चालन प्रक्रिया (२०४६), स्वतन्त्रता र कम्युनिष्टहरू (२०४८), दृष्टिविन्दु (२०४८), केही आत्मपरक निबन्धहरू (२०४९) छन् । यिनी २०२० सालमा नै हेनरिक इब्सेनको नाटक जनताको शत्रु अनुवाद कृति प्रकाशित गराएर निकै चर्चामा आएका यिनले जीवनको अन्त्यसम्म नै खोजी, अनुसन्धान र लेखनमा सक्रिय भएर गए ।
यिनले निकै गरे, निकै लेखे, निकै बोले तर थोरैमात्र चर्चा पाए । पाँच दशकभन्दा अगाडिदेखि नै निरन्तर लेखिरहन सक्नु, छपाइरहन सक्नु, एकै ढङ्गले विचार सम्प्रेषण गरिरहन सक्नु भट्टका निजी विशेषताहरू हुन् । इनिगिनेका थोरै व्यक्तिहरू मात्र यस खालका गुणले सम्पन्न हुन्छन् । तर आनन्ददेव भट्टको जे जति मूल्याङ्कन र कदर हुनुपर्ने हो सोको मूल्याङ्कन यस समाजले गरेको देखिँदैन । आफू संलग्न पार्टी, आफू क्रियाशील रहेको समाज, आफ्नो दृष्टि–बिम्ब व्याप्त रहेको र सधैं देखिरहने देश र जनताले पनि भट्टको उचित मूल्याङ्कन भए गरेको देखिँदैन । पद्मकन्या माध्यमिक विद्यालय, नेपाल प्रगतिशील प्राध्यापक संघ, जनमत प्रकाशन जस्ता केही क्षेत्रले सामान्य ढङ्गको सम्मान गर्नु बाहेक आनन्ददेव भट्टलाई कसैले सम्मान गरेको देखिँदैन । तर पछि प्रलेसको सक्रियतामा र आयोजनामा भट्टसरको अभिनन्दन र अभिनन्दनग्रन्थ प्रकाशित गराएर निकै महत्वपूर्ण उल्लेख गर्न लायकको कार्यक्रम भएको देखिन्छ । यो नै उनीप्रतिको प्रगतिशील लेखकहरुले गरेको उचित मूल्याङ्कनको कार्यक्रम बन्यो ।
प्रगतिशील दर्शनप्रति प्रतिबद्धता राख्दै जीवनका उकाली–ओरालीहरू पार गर्दै गएका यिनले प्रगतिशील साहित्य लेखन तथा प्रकाशनमा अग्रता कायम गर्न सफलतामात्र हासिल गरेर गएनन् प्राध्यापन, राजनीतिक तथा सामाजिक क्रियाशीलतामा पनि आफ्नो अडान र दृढतामा दृढ भई गएका हुन् । जीवनको अन्त्यसम्म पनि आनन्ददेव भट्टले माक्र्सवादको संरक्षण गर्न, प्रगतिशील साहित्यको व्याख्या र परिचय दिन, चेतनामूलक विचार सम्प्रेषण गर्न लागिपरेर गएको देखिन्छ । यस अर्थमा यिनी अथक यात्री हुन् – आफ्नो दृढ निश्चयी यात्राका लागि । यस अर्थमा उनी जनता र देशको रक्षार्थ विचार सम्प्रेषण गरिरहेका एकजना चेतनशील जनता र देश पक्षधर लेखक तथा प्रेरणास्रोत हुन् भन्न सकिन्छ ।
३३ वर्षसम्म यिनीले शिक्षण क्षेत्रमा कार्य गरे । प्राध्यापक, उपनिर्देशक, प्रशासक समेत भई त्रिविवि सेवा गरिसकेका यिनीले सुरुचिपूर्ण ढङ्गले आफ्नो कार्यकाल शिक्षाक्षेत्रमा बिताएर गएको देखिन्छ । यस क्षेत्रमा कार्य गर्दा पनि यिनले आफ्नो व्यक्तित्वलाई उदाहरणीय बनाउन सफल रहे । कवि, निबन्धकार, व्याख्याताका रूपमा पनि परिचय दिनसकिने व्यक्तित्व भएर पनि आनन्ददेव भट्टले आफूलाई विशेषतः समालोचकका रुपमा चिनाएर गएको देखिन्छ । स्पष्ट वक्ता तथा बहुआयायिक व्यक्तित्वका रूपमा परिचय दिन सुहाउने यिनी राजनीतिमा सक्रिय रहँदारहँदै पनि राजनीतिमा जम्न सकेनन् । देशकै लागि एउटा नाम बनिसकेका आनन्ददेव भट्टले जीवनभर राजनीति, सामाजिक, शैक्षिक, साहित्य, संस्कृति विषयमा आफ्नो दृष्टिकोण विचार राख्न जाँगर चलाएर गएका एकजना दृढनिश्चयी व्यक्तित्वको रुपमा आफ्नो परिचय छोडेर गएका छन् । यही दृढपनले नै आनन्ददेव भट्टमा सुन्दरता र सौम्यता देखिएको हो ।
मूर्खहरूले हैकम चलाउन सक्ने ठाउँमा सज्जनको दुर्गति हुँदा विस्मात नगरे हुन्छ । नकचरोहरूले नियम कानुन लेख्ने भएपछि इज्जत र मर्यादाको कुरो गर्नु भूल हुन्छ । षड्यन्त्रकारीहरूले कार्य थाल्ने ठाउँमा यो त्यो भनेर गुण र अवगुण नछुट्याए हुन्छ । आनन्ददेव भट्ट पनि यस्तै सोच्दा हुन् कि के सोच्दा हुन् ? म त आनन्ददेव भट्टका सबै कार्य, सिर्जना नियालेर आनन्ददेव भट्ट कतै नअटाएको सन्दर्भ हेरिरहेछु ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |