Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

लालित्यमय शैलीको सागरमा विचारको उत्तुङ्ग, छाल उठेको कविता संग्रहमा घोत्लिंदा

प्रभातफेरी अनलाइन ६३७ पटक पढिएको प्रकाशित मिति: २०७९ मंसिर २७, मंगलबार (३ साल अघि)
लालित्यमय शैलीको सागरमा विचारको उत्तुङ्ग, छाल उठेको कविता संग्रहमा घोत्लिंदा

डम्बर थामी “अनुपम”

नरत्वं दुर्लभं लोके विद्या तत्र सु दुर्लभा ।
कवित्वं दुर्लभं तत्र शक्तिस्तत्र सु दुर्लभा ।।
(अर्थात् ः यो संसारमा मान्छेको जन्म हुनु दुर्लभ कुरा हो । मानव भएपछि विद्या प्राप्त गर्नु या विद्वान हुनु पनि दुर्लभ कुरा हो । कवि हुनु र प्रसिद्धि पाउनु त झन् दुर्लभ कुरा हो ।)
उक्त संस्कृत श्लोक म (स्वयं) २०४९ सालतिर हिलेपानी संस्कृत मा.वि. मा पढ्दा कण्ठस्थ गरेको थिएँ । अहिले झट्ट स्मृतिपटलमा रिल झैं फनफनी घुम्यो । यही संस्कृत श्लोकको भावोद्गार जस्तै एउटा नामी कविता संग्रहको बारेमा मनमा लागेको केही कुरा पोख्न गईरहेको छु । जुन कविता संग्रहको शिर्षक हो ः ‘जब एउटा मान्छे हराउँछ’ ।
म दिग्गज कवि तथा साहित्यकार त होइन । तर पनि हृदयमा मुस्लो भएर उठेका भावनाहरुलाई कलम र कापीको माध्यमद्वारा बेला बेलामा पोख्ने गर्छु । कहिलेकाही फेसबूकको भित्तामा पनि सजाउने गर्छु । यही शिलशिलामा सामाजिक सन्जालको माध्यमबाट भद्र, शालीन, मृदुभाषी अनुवादक तथा कवि चन्द्र गुरुङसँग चिनजान भयो । सामाजिक सन्जालबाट शुरु भएको हाम्रो साहित्यिक चिनारी अझ प्रगाढ बन्दै गयो । र मैले उनका रचनाहरुलाई अझ मिहिन ढङ्गले अध्ययन गर्न लागें । उनका रचनाहरु अत्यन्तै उत्कृष्ट लाग्न थाल्यो । र बेला बेलामा साहित्यिक भलाकुसारी पनि हुँदै गयो । केही महिना अगाडि उनै शालीन कवि चन्द्र गुरुङ्कृत ‘जब एउटा मान्छे हराउँछ’ कविता संग्रह लोकार्पण भएको थियो । यो खबरले म सा¥है पुलकित भएको थिएँ । तर भौतिक दूरिले म निकै टाढा परदेशको गुमनाम कन्दरामा थिएँ । तर पनि यो सात समुद्रपारी उनको कविता संग्रह मैले हाता पारेरै छोडें । लिम्बु समुदायको मौलिक साँस्कृतिक पर्व चासोक तङ्नाम (न्वागी पर्व) को नयाँ अनुभूति सँगसँगै ‘जब एउटा मान्छे हराउँछ’ कविता संग्रहलाई पनि दिलमा सजाउन पाएँ । सँगसँगै कवि दिल दुखी जन्तरे ज्यू को ‘पालामको राजकुमारी’ र कवि विमला तुम्खेवा ज्यूको ‘हातमा पृथ्वी लिएर उभिएको मान्छे’ कविता संग्रह पनि प्राप्त गर्ने सैभाग्य मिल्यो ।


परदेशको कुनामा साहुको सन्दूकभित्र जिन्दगी रहेकोले घुँडा धसेर ज्ञान गुणका पुस्तकहरु अध्ययन गर्ने फुर्सद त हुँदैन नै । तर पनि यस्तै पेचिलो घडीको बीचबाट अध्ययनको समय निकाल्ने गर्छु । सर्वप्रथम अब्बल कविता संग्रह ‘जब एउटा मान्छे हराउँछ’ मा एक जोडा नयनहरु रेसको घोडा झैं दौडाउन थाल्छु तब मेरो मस्तिष्कमा साहित्यिक भूकम्पले हल्लाउँदै लैजान्छ । उथलपुथल पार्दै लैजान्छ । सरल भाषा, लालित्यमय शैली । अनुपमेय विम्ब प्रतीक । सलल बगिरहने लयविधान र ओजस्वी भावविधान । शब्दालङ्कार र अर्थालङ्कारको समुचित संयोजन । वैचित्र्य कला ! उपमा र उपमेयको विस्मित संयोजन । आहा ! मनोहर भावलहरहरु । यसरी विभिन्न खण्डमा विभक्त पचास कविताहरु मध्यमा केही कविताका उद्धृतांशहरु यहाँ उल्लेख गर्न गईरहेको छु ।
कलेटी परेको छ मुस्कानले लेफ्टराईट गर्ने ओठ
घामले डढेको छ मंगोल पहिचान
‘बाको अनुहार’ शिर्षकको यो कवितामा कविले बाप्रतिको स्नेह । बाले आफ्नो सन्ततिको लागि गर्ने दुखको बोझिलो पहाड । र यति दुःख हुँदाहुँदै पनि थेप्चो नाक र चिम्सा आँखा भएकाहरूको पहिचान हराएकोले अब अस्तित्व र पहिचानको लागि पनि उठ्नु पर्ने बेला आएको सन्देश दिएका छन् । म पनि थुप्रै पहिचानको आन्दोलनमा सरिक भईसकेको योद्धा भएकोले मलाई यो पंक्तिले धेरै नै छोयो ।
यात्राबाट फर्केका खुट्टाहरुले
थकान बिसाउन घर आँगनमा टेक्दैछन्
गुंडतिर उडेको चराले छुनेछ फेरि नयाँ क्षीतिज
‘यस साँझ’ शिर्षकको यो कवितामा कविले जिन्दगीमा संघर्षदेखि डराउनु हुन्न । भाग्नु हुन्न । थाक्नु पनि हुन्न । केही बेर थकान बिसाए पनि आफ्नो मक्सद पूरा नभएसम्म गन्तव्यमा पुग्नैपर्छ । तबमात्र आशाको नयाँ क्षीतिज छुन सकिन्छ भन्ने सन्देश दिएकाछन् । म पनि युद्धबिराम गरेर फर्किएको योद्धा भएकोले यो पंक्तिले मलाई निकै भावुक तुल्यायो । उर्जा पनि दियो ।
यस कुरुप समयमा
देखिन्छ यो देश
भित्तामाथि झुन्डिएको थोत्रो मानचित्रमा
हड्डीको एउटा टुक्रो जस्तो
‘देश हड्डी र कुकुरहरु’ शिर्षकको यस कवितामा कविले देशको शासन सत्ता चलाउने साँईदुवाहरुप्रति तीखो व्यंग प्रहार गरेकाछन् । देशलाई स्वीट्जरल्यान्ड र सिंगापुर बनाउँछु भनेर गुड्डी हाँक्ने तर सत्ता खिचातानीमा अल्झिरहने । एउटा हड्डीमा कुकुरहरु झगडा गरे जस्तै गर्ने । यस्ता नेताहरूले गर्दा देश यस्तो बर्बादीको दिशातिर गएको हो । यसमा सम्पूर्ण जनताहरु सचेत हुनुपर्छ र खबरदारी गरिरहनुपर्छ भन्ने भन्ने सन्देश दिन खोजेका छन् ।
सिमानामा उभिएर
भोको पेट
नाङ्गो आङ
खाली हातखुट्टा
चुम्दैछु एक मुठ्ठी माटो
‘देश प्रेम’ शिर्षकको यस कवितामा कविले पूर्खाहरुको रगतले सिमारेखा कोरिएको हाम्रो देशको सिमा रक्षाको कुरा सशक्त ढंगले उठाएका छन् । छिमेकीको हेपाहा प्रवृति । गोमन सर्पले जस्तो सिमानालाई डसिरहँदा सिमानाको रक्षार्थ सिमानाका बासिन्दाहरु बलियो स्फटिक भएर उभिन्छन् । देवनारायण यादव जस्ता सपुतहरु खम्बा झैं अडिग हुन्छन् । गोविन्द गौतम झैं वीर सपूतहरु छातिमा गोली थाप्न पनि तयार हुन्छन् । तर आफ्नो देशको सुगन्ध आउने माटो चुमिरहन्छन् भन्ने वीरताको सन्देश दिएका छन् । यो कविता निकै सशक्त छ ।
यो मरुभूमिसँगै
सामेल छ ईच्छाहरुको लामो क्यानभासमा
एउटा मृगतृष्णा जीवन
‘एउटा मृगतृष्णा जीवन’ शिर्षकको यस कवितामा कविले हजारौं आकांक्षा र सपनाहरू सजाएर लाखौं ज्यामी माहुरी जस्ता युवाहरू आफ्नो देश छाडेर अरबको खाडीमा भासिएको कुरालाई सुन्दर ढंगले प्रस्तुत गरेकाछन् । तर ती सपनाहरू मृगतृष्णा झैं कहिल्यै पूरा नहुने तीतो सत्यलाई पनि सुन्दर ढंगले उजागर गरेकाछन् । म पनि बाध्यताले परदेशीएको मनुवा भएकोले यो पंक्तिले मलाई निकै नै भावुक तुल्याएको छ ।
अँध्यारो साँझ
आईपुग्यौ तिमी मेरो संघारमा
यसघडी
मनभरि
चलेको छ लहर–लहर माया पिरती
‘विश्वास’ शिर्षकको यो प्रेमिल कविता मार्फत कविले चोखो माया र विश्वासको प्रतिविम्ब उजागर गरेका छन् । प्रेमिल कवितामा पनि कविको लेखनी सा¥है अब्बल भएको अनुभूति भयो ।
जब हातहरु बिरोधमा उठ्छन्
खुट्टाहरु जुलुसमा हिंड्न थाल्छन्
मुखहरु मात्र नारा चिच्याउँछन्
तब चाहिँ
सब ठिकठाक हुन सक्दैन
‘सब ठिकठाक हुनै सक्दैन’ शिर्षकको यो कवितामा कविले देशमा अन्याय, अत्याचार भयो भने पक्कै पनि न्यायको आवाज गर्जिन्छ । बिरोध र विद्रोहका तूफानहरु चल्छ । जनगर्जनका सुनामीहरु आउँछ । यस्तो बेला शासकहरु कुम्भकर्णे निद्रामा पर्नुहुन्न । जनताका मागहरू पूरा गर्नुपर्छ भन्ने सन्देश दिएकाछन् । यी शब्दहरफहरु मेरो मुटुको धड्कनमा सदैव सजिईरहन्छ ।
शब्द लिएँ
र, हिंडे आफ्नै हृदयभित्र जाने
मातृभाषाको राजमार्ग
‘मातृभाषा’ शिर्षकको यस कवितामा मातृभाषाको महत्व बहुआयामिक ढंगले उजागर गरिएको छ । मान्छे जन्मिएपछि शुरुमा आमाबाट नै भाषा सिक्दछ । र मानिसको जीवनको पहिलो गुरुआमा नै आमा हुन् ! र आमाको जत्तिकै महत्त्व मातृभाषाको पनि छ भन्ने सन्देश दिएको छ ।
म रन्थनिन्छु
र, सोच्छु
के पानीलाई थाहा छ ?
मैले उसलाई छुनुहुन्न भन्ने
‘पानी नचल्ने मान्छे’ शिर्षकको यस कवितामा जातिय भेदभाव र छुवाछूतको बारेमा गम्भीर कुरा उठाएकाछन् । सृष्टिकालदेखि नै मान्छे एउटै भए पनि धर्मको नाममा छुवाछूत गर्ने । विभेद गर्ने । जुन परम्परा छ यसलाई निर्मूल पार्नुपर्छ र समुन्नत समाजको निर्माण गर्नुपर्छ भन्ने सन्देश दिएकाछन् । आखिर पानीलाई त छुनु हुन्छ र हुन्न भन्ने कुरा थाहा छैन नि !
मेरो गाउँमा
मोटर गाडी आएर पनि थुप्रै सालसम्म
आएन गाउँको घाउमा मल्हमपट्टी गर्ने स्वास्थ्य चौकी
आएन प्रियजनको परदेशी सन्देश ल्याउने
हुलाक घर
आएन गाउँको आँखा खोलिदिने पाठशाला
‘गाउँमा मोटर’ शिर्षकको यस कवितामा कविले गाउँमा मोटरबाटो पुग्नु मात्रै सर्वोपरि विकास होइन । गाउँमा गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा, रोजगारको ग्यारेन्टी भएन भने गाउँ पछाडि परिरहने कुरालाई कलात्मक ढंगले प्रहार गरेका छन् । हाम्रो गाउँमा पनि मोटर पुगेको धेरै वर्ष भयो । तर जनताको जिवनस्तर उस्तै छ ।
यस जाडोमा
एउटा तानाशाहका निरंकुश ओठमा
फूलिरहेको छ कुटिल मुस्कान
‘निकै जाडो छ’ शिर्षकको यस कवितामा कविले निरंकुश व्यवस्थामाथि जाडोको बिम्ब प्रयोग गरेर कडा प्रहार गरेकाछन् । जब अन्योलताको हुस्सुले ढाक्छ । प्रतिरोधका आवाजहरु कठांग्रीन्छन् । नशा–नशामा रगत पनि धाराको चिसो पानी झैं बग्छ । तब तानाशाहहरुको ओठमा कुटिल मुस्कान फूल्छ भन्ने सन्देश दिएका छन् । त्यसैले हरबखत समय तात्नु नै पर्ने रहेछ भन्ने अनुभूति भएको छ ।
साथी ! सबथोक छ परदेशमा
मात्रै टुटेको छ
यी सब जतनपूर्वक सम्हाल्ने मुटु
उतै घरदेशमा
‘परदेश–२’ शिर्षकको यस कवितामा कविले परदेशमा जति धन आर्जन गरे पनि । जति सुविधा सप्पन्न ठाउँमा बाँचे पनि आफ्नो देशको माया अदपमा नै राखिएको हुन्छ । सब सम्झनाहरु घरदेशतिरै हुन्छ भन्ने सन्देश दिएकाछन् ।
उदासीमा जुन किनारमा उभिने गथ्र्याै
हो, त्यो नदी हराउँछ
साथ उक्लने देउराली हराउँछ
बाटोको छातीबाट पदचिन्हहरु हराउँछन्
आपतमा आश्वस्त पार्ने स्वर हराउँछ
जब एउटा मान्छे हराउँछ
कविता संग्रहको प्रतिनिधि कविता ‘जब एउटा मान्छे हराउँछ’ शिर्षकको कवितामा कविले आफू हराएपछि सबथोक हराउँछ भन्ने सन्देश दिएकाछन् । आफ्नो गाउँ हराउँछ । हिमाल, पहाड, तराई, लेक, बेंसी हराउँछ । मनोरम प्राकृतिक छटाहरु हराउँछ । घर, आँगन, दलान र बिसाउने चौतारीहरु हराउँछ । चाडपर्वहरु हराउँछ । दिन हराउँछ । रात हराउँछ । प्रेमिल बात हराउँछ । चराचुरुङ्गीहरुको चिर्बिर हराउँछ । गीतको लय हराउँछ । अक्षर हराउँछ । साथै आमाको आशीर्वाद पनि हराउँछ । तर यी सबथोक हराए पनि हजारौं माइल टाढा उडेको पक्षी अन्तमा आफ्नो गुँड सम्झेर पखेटा फटफटाउँदै फर्किन्छ । र आफ्नै परिवारसँग बसेर जिन्दगीको अन्तिम स्वास फेर्न लालायित हुन्छ । नकारमा सकार र मृत्युमा जीवन देख्ने यो कविता निकै सशक्त र अजम्बरी छ । कविका आगामी पाइलाहरु झन् सशक्त हुँदै अगाडि बढून् । मेरो तर्फबाट हार्दिक हार्दिक शुभकामना ।
उक्त हृदयसंवेद्य हरफहरु मेरो मन मस्तिष्कमा तरंगित भएका अनुभूतिका छापहरु मात्र हुन् । यसलाई समीक्षाको रूपमा नलिइदिनु हुन पनि अनुरोध छ । र बाँकी कुरा कविसँगको साक्षात्कारसँगै पूरा हुनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0