काभ्रे । धार्मिक नगरीको रुपमा परिचित पनौती नगरपालिका ऐतिहासिक धरोहरको रुपमा लिइँदै आएको छ । यहाँ आवासीय भवन भन्दा धार्मिक आस्थासँग जोडिएका मठ–मन्दिरहरुको संरचनाहरु बढि रहेको सामाजिक अभियान्ता एवं शिक्षाविद् प्रेमबहादुर प्रधानले बताउनुभएको छ ।
उहाँका अनुसार काशीको शिरको रुपमा यस प्रयाग भूमिलाई लिने गरिन्छ । त्यसैको एउटा महत्वपूर्ण पाटो पनौतीको त्रिवेणी पर्दछ । जहाँ हजारौं मठ–मन्दिर लगायतका देवालयहरु अहिले पनि श्रद्धालुहरुका लागि पर्खिबसेका छन् । यस्तो पावन भूमिका बारेमा थप भनिराख्नुपर्ला जस्तो लाग्दैन । पनौती नगरको लिखित इतिहास पुरानो छ । प्राचीन ग्रन्थहरुका अनुसार पनौती एउटै ढुङ्गा माथिको शहर हो । लिलावती र सुखवा नदीको संगममा गन्धर्वतिर्थ जहाँ सतीदेवीको भाल पतन भइ भालेश्वर उत्पन्न भएको किंवदन्तीमा पाइन्छ । गन्धर्वतिर्थ गालव ऋषिको तपोभूमी हो । धनेश्वर महादेव रहनु भएको रोद्र पर्वत भृगु ऋषिका साथै कर्ण र पशुरामको तपोभूमी हो । पनौतीको मुटुमा रहेको गन्धमाला पर्वतको फेदी शचीतिर्थमा इन्द्रेश्वर महादेव हुनुहुन्छ, त्रिवेणीघाटमा इन्द्रकी पत्नी शचीले तपस्या गरेकी थिइन् भनिन्छ । यसै पवित्र त्रिवेणीघाटमा १२ वर्षे मकर मेला लाग्ने गरेको छ । उक्त मेलाले पनौतीलाई सर्वत्र चिनाएको छ । परापुर्व समयदेखि यो क्षेत्र तपोभूमीका रुपमा सावित गरेको छ ।
प्राचीन वस्ती ब्रम्हपुर (बल्थली), व्यहावल (विहावर), नमोबुद्धको जन्मभूमी न्हुवहाल किसीटोल, प्राचीन बस्तीहरु, ललितकलाले यूक्त नेपालको प्राचीन र मध्यम कालको विभिन्न स्रोत सामग्रीले भरिपूर्ण यस क्षेत्रमा लिखित र अलिखित तन्त्र परम्परा जिउँदो प्रमाणको अवस्थामा छन् । जीवित संस्कृति र खुल्ला संग्रहालयको रुपमा रहेको पनौतीको अध्ययन अध्यापन जरुरी छ । यसलाई अनुसन्धानकर्ताको मूल थलोको रुपमा विकास गर्न सकिन्छ । विभिन्न पर्वतबाट हिमश्रृंखलाको दृश्यावलोकन, चामखर्क, लामाडोल, नागीडाँडाबाट सूर्योदय र सूर्यास्तको दृश्यावलोकन, नदीहरुको सौन्दर्यता र खेतका गह्राहरुको आकर्षणले पर्यटकलाई लोभ्याइ रहेको भएता पनि पछिल्लो समय उर्वरा भूमि कंक्रिट जंगलका रुपमा परिणत हुनुले यसको स्वरुप माथि नै प्रश्न चिन्ह खडा गरेको गुनासो स्थानीयवासीले गरिरहेका छन् ।
प्राकृतिक र साँस्कृतिक सम्पदाले भरिपूर्ण यस क्षेत्रमा आन्तरिक र बाह्य पर्यटक भित्र्याउन स्थानीय सरकार, स्थानीय संघसंस्था क्रियाशिल रहिरहेको पाइन्छ । पनौती क्षेत्रमा भएका गढी गौंडाहरु, चित्रकला, विहार, शहिदपार्क, विभिन्न पैदल मार्गहरु, क्रमिक विकास भैरहेको होटेल, रिसोर्ट र होमस्टेहरुले पर्यटन उद्योगमा टेवा पु¥याइरहेका छन् । प्राचीन स्मारक क्षेत्रको रुपमा घोषित पनौतीलाई विश्व सम्पदा सूचीमा सूचिकृत गराउन विभिन्न पहलहरु भईरहेका छन । परम्परागत ज्ञान, सिप, कला र आधुनिक ज्ञान, विज्ञान र प्रविधियुक्त शिक्षा फ्युजन गरी नयाँ मौलिक शिक्षाको विकास अनि यसैको आडमा पर्यटन क्षेत्रको थप विकास गर्न जरुरी छ । उक्त कार्यले पनौतीको विकासका साथै राष्ट्रिय आयमा समेत टेवा पु¥याउन सक्छ ।
आर्य सभ्यतामा ओतप्रोत हुँदै पनौती निरन्तर विकास भईरहेको छ । हिँड्दै छ पाइला मेट्दै छ भने जस्तो आज कयौं आर्य पद्धति लोप भईसकेको छ । जन्म पछि मृत्यु अनिवार्य छ । मृत्युसँगै सबै मेट्ने वा ज्ञान पुस्तान्तरण गरी जीवन्त राख्ने हाम्रो सामु गम्भिर प्रश्न उठेको छ । प्रकृति, संस्कृति र मानव बीच अन्योन्याश्रित सम्बन्ध छ, प्रकृती र संस्कृतिका केहि अंश लोप भए । मानव जातीलाई प्रत्यक्ष आघात पुग्दछ । प्राचीन लिपी अध्ययन परम्परा छुट्नाले क्रमशः इतिहास अपुरो बन्दैछ । इतिहास भनेको प्राचीन चरित्र संग्रह हो ।
लिखिततन्त्र परम्परा अन्तर्गतका शैवतन्त्र, शाक्ततन्त्र, वैष्णवतन्त्र, गाणपत्यतन्त्र, सौरतन्त्र, बौद्धतन्त्र र जैनतन्त्र मुलतः पनौती क्षेत्रमा जीवन्त रहेतापनि मूल सत्व र तत्व लोप भईसकेको छ । लोपोन्मुख वन्यजन्तु, लोपोन्मुख चराचुरुङ्गी, लोपोन्मुख वनस्पति जस्तै इतिहास, संस्कृति, सम्पदा, आदिवासी आदि लोपोन्मुख नहुने परिपाटी कसरी बनाउन सकिन्छ ? के यहाँको गुरुकुल, विहार, गुम्बा र चर्चमा सभ्यता सिकाउन सकिन्छ ? पनौतीको वैभवलाई वर्तमान रोशीको असला माछा जस्तो हुन नदिन तथ्यहरु र प्रमाणहरुको आधारमा परामर्शदातृ, विज्ञहरुको सल्लाहमा दीर्घकालिन गुरुयोजना बनाई तत्काल होमिए पनौती नगर पक्का पक्की बन्न सक्दछ ।
तत्काल गुरुयोजना बनेमा के हुन सक्छ ? भृकुटीको उचित मुल्याङ्कन र कदर स्वरुप उनलाई राष्ट्रिय विभूति बनाउन सकिन्छ । सम्पदा वैभवको उपज पनौती विश्व सम्पदा सूचीमा सूचीकृत हुन सक्दछ । भालपतन भएको भालेश्वर पनौतीकै हो, चन्द्रागिरिमा भनि छरिएको भ्रम चिर्दछ ।स्वनामधन्य व्यक्ति र कृती स्मरणमा खोज प्रतिष्ठानमार्फत ज्ञान पुस्तान्तरण गर्दछ ।
अलिखित संविधानको रुपमा परिचित गोष्ठी परम्पराको मौलिक जागरण हुन्छ । पनौती असला माछाको ख्यातीवाट पुनः चिनिन्छ । कृषि वन पर्यटन उद्योगका माध्यम आफ्नो आयस्रोत वढाउन सक्दछ । दुषित राजनीतिवाट जोगिदै भाइचाराको सम्बन्ध स्थापित गर्दछ । मार्गदर्शक तथा गुरु नगरपालिका वन्न सक्दछ । सुचना र प्रविधिको शहर, बस्न लाग्छ रहर भन्ने दिन आउन सक्ने वातावरण सिर्जन गर्नु आजको आवश्यकता हो । त्यसका लागि सरोकारवाला पक्ष गम्भीर रहन जरुरी छ ।
पनौती विकासको प्रचुर सम्भावना वोकेको ऐतिहासिक, साँस्कृतिक भूमी हो । राष्ट्रियस्तरमा ख्याती कमाएको ठूलो जनशक्ति पनौती नगरमा वस्दछन् । ज्ञानले भरिएको घडा रुपी यो नगर वास्ना खोजिरहेको कस्तुरी जस्तो चालमा छ । कार्य आचार संहिता सहित निर्माणमा लाग्न खास गार्हो छैन । “आमूल परविर्तनको शुत्र ज्ञान नै हो मुल मन्त्र” भन्ने विचारमा आधारित यस सोचलाई सफलीभूत वनाउन परम्परागत ज्ञान, सिप, कला र आधुनिक ज्ञान, विज्ञान र प्रविधियुक्त शिक्षा फ्युजन गरी नयाँ ज्ञान विस्तार र फैलावट गर्न सके मौलिक पहिचानका कारण अपनत्वको भावनाले व्यापकता पाउँदछ । पर्यटनको गन्तव्य सूचीमा पर्दछ । यहाँको ज्ञान बजारीकरण गर्न आवश्यक छ ।
भनिन्छ, भूत पाठशाला हो, वर्तमान गोरेटो हो, भविष्य गन्तव्य हो । पनौती पाठशाला, गोरेटो र गन्तव्य तिन ओटै हो । अर्थात ज्ञानराशीहरुको पुञ्ज हो, दिग्दर्शन हो, आउनुहोस् पनौती नगरको सर्वाङ्गीण विकासमा हातेमालो गरौं । यो आजको आवश्यकता हो । अपेक्षा राखौं, यि आवश्यकताहरुलाई नेतृत्वले गम्भीर रुपमा लिनेछ र गुरु योजनाका साथ अगाडि बढाउनेछ भन्ने अपेक्षा नगरवासीले राखेका छन् । नगरवासीका यि अपेक्षाहरुलाई पूर्णता दिन सके मात्र पनि समृद्ध नगरको लक्ष्यतर्फ अगाडि बढ्न सक्ने विश्वास रहेको छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |