logo
२०८३ आश्विन ३, शनिबार |
📰
🔍

नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सुचिकृत गर्न पहल

प्रभातफेरी अनलाइन६९३ पटक पढिएको | २०७९ पौष २१, बिहिबार
नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सुचिकृत गर्न पहल

काभ्रे । नमोबुद्ध नगरपालिकाले ऐतिहासिक नमोबुद्ध मन्दिर परिसरलाई विश्व सम्पदा सूचीमा सुचिकृत गर्न आवश्यक प्रकृया अघि बढाई थप पहल गर्ने निर्णय गरेको छ ।
दोस्रो नगर सभाको दोस्रो अधिवेशनले नमोबुद्ध नगरपालिका –११ स्थित धार्मिक, ऐतिहासिक, पुरातात्विक, साँस्कृतिक, वातावरणीय तथा प्राचिन महत्व बोकेको विश्व प्रसिद्ध नमोबुद्ध मन्दिर परिसरलाई मौलिक स्वरूप कायम गर्न नगरपालिकाले निर्माण गरेको दीर्घकालीन गुरुयोजनालाई सम्बन्धित सरोकारवालाहरुको सहकार्य, सहयोग र समन्वयमा थप परिमार्जन गरी विश्व सम्पदा सूचीमा सुचिकृत गर्न आवश्यक प्रकृया अगाडी बढाई थप पहल गर्ने विशेष प्रस्ताव पारित गरेको हो । नगरपालिकाले यसअघि नै गुरुयोजना बनाएर काम अघि बढाएको छ भने सरोकारवालासंग पटक–पटकको छलफल समेत चलाइसकेको छ ।
विद्यायन समितिका संयोजक तथा वडा नं ६ का अध्यक्ष टिका बहादुर के.सीले पेश गरेको ‘विनियोजन ऐन, २०७९’ को अनुसूची माथिको संशोधन प्रस्ताव पनि पारित भएको छ । दोश्रो नगर सभाको पहिलो अधिवेशनबाट स्वीकृत भएको नीति, कार्यक्रम तथा बजेट (वार्षिक नगर विकास योजना) मा हाल सम्म भएको ‘भौतिक तथा आर्थिक प्रगति प्रतिवेदन’ प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद लम्सालले पेश गरेका थिए । नगर सभाले लोकतन्त्र र प्रजातन्त्र प्राप्तिका लागि जीवन उत्सर्ग गर्ने ज्ञात अज्ञात शहिदहरु प्रति श्रद्धाञ्जली तथा श्रद्धासुमन अर्पण गरेको छ ।