logo
२०८३ आश्विन ३, शनिबार |
📰
🔍

‘माटो सुहाउँदो’ संविधान निर्माण भए नेपाल विश्वगुरु राष्ट्र बन्न सक्छ : अच्युतकृष्ण शरण

प्रभातफेरी अनलाइन१० पटक पढिएको | १ घण्टा अघि
‘माटो सुहाउँदो’ संविधान निर्माण भए नेपाल विश्वगुरु राष्ट्र बन्न सक्छ : अच्युतकृष्ण शरण

काठमाडौं / संविधान दिवसका अवसरमा अच्युतकृष्ण शरणले नेपालको संविधान देशको इतिहास, मौलिक पहिचान, सभ्यता, संस्कृति र सामाजिक–भौगोलिक यथार्थअनुकूल हुनुपर्ने धारणा व्यक्त गरेका छन्।

उनले संविधान दिवसलाई संविधान जारी भएको दिन स्मरण गर्ने औपचारिक अवसरमा मात्र सीमित नगरी संविधानले सुनिश्चित गरेका अधिकार, सुशासन, न्याय, समानता र समृद्धि नागरिकको दैनिक जीवनमा कति कार्यान्वयन भए भन्ने समीक्षा गर्ने दिनका रूपमा लिनुपर्ने बताएका छन्।

शरणका अनुसार संविधानमा मौलिक हक, सामाजिक न्याय, समावेशिता र कल्याणकारी राज्यका व्यवस्था भए पनि तिनको प्रभावकारी कार्यान्वयन, संस्थागत क्षमता, कानुनी स्पष्टता र शासकीय संस्कारमा अझै प्रश्न उठिरहेका छन्। किसान, श्रमिक, युवा, उद्यमी तथा आम नागरिकले राज्यबाट न्याय, सेवा, अवसर र सुरक्षाको अनुभूति गर्न सक्ने अवस्था निर्माण हुनुपर्ने उनको भनाइ छ।

उनले भ्रष्टाचार, कुशासन र राजनीतिक अस्थिरतालाई व्यक्तिको नेतृत्व परिवर्तनबाट मात्र समाधान गर्न नसकिने भन्दै संविधानको दर्शन, राज्य संरचना, कार्यान्वयन क्षमता र शासकीय संस्कारको पुनरावलोकन आवश्यक रहेको उल्लेख गरेका छन्।

हाल संविधान संशोधनका विषयमा बहस भइरहेका बेला नागरिकबाट प्राप्त सुझावलाई औपचारिकतामा सीमित नगरी गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्नेमा उनले जोड दिएका छन्। नेपालको भौगोलिक, सामाजिक, सांस्कृतिक तथा ऐतिहासिक विविधतालाई समेट्ने गरी आगामी संवैधानिक व्यवस्था निर्माण हुनुपर्ने उनको धारणा छ।

शरणले नेपालको प्राचीन सभ्यता, वैदिक ज्ञान, संस्कृति र प्रकृतिमैत्री जीवनपद्धतिलाई राज्यको नीति तथा विकाससँग जोड्नुपर्ने बताएका छन्। भौतिक विकाससँगै प्राकृतिक सन्तुलन, दिगो विकास, शान्ति, नैतिकता र मानवकल्याणलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।

उनले नेपालले आफ्ना मौलिक मूल्य, ज्ञान र प्रकृतिमैत्री जीवनपद्धतिलाई आधार बनाएर विकासको वैकल्पिक दृष्टिकोण प्रस्तुत गर्न सके विश्वस्तरमा विशिष्ट भूमिका निर्वाह गर्न सक्ने उल्लेख गर्दै ‘माटो सुहाउँदो’ संवैधानिक व्यवस्था निर्माण भए नेपाललाई ‘विश्वगुरु राष्ट्र’का रूपमा अघि बढाउन सकिने धारणा व्यक्त गरेका छन्।