प्रभातफेरी अनलाइन १०७ पटक पढिएको प्रकाशित मिति: २०८२ श्रावण २२, बुधबार (७ महिना अघि)
काभ्रेपलाञ्चोक/ नेपाल सेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक जिल्ला शाखाको आयोजनामा एक दिने विपद् व्यवस्थापन सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
उक्त अभिमुखिकरण कार्यक्रममा जिल्ला शाखासँग आबद्ध रहेका उक्त शाखाका विपद्सँग आबद्ध प्रतिनिधिहरुको सहभागिता रहेको थियो । विपद् जोखिम जिल्लाको रुपमा समावेश भएको काभ्रेपलाञ्चोक जिल्लामा हुनसक्ने विपदका बारेमा सहभागिहरुलाई प्रशिक्षित गराउँदै विपद् व्यवस्थापन विज्ञ मधुसुधन थापाले यसका चूनौती र व्यवस्थापनका बारेमा वृत्तचित्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विज्ञ थापाले जिल्लामा हुनेसक्ने विपद्का घटनाका बारेमा जानकारी गराउँदै भइपरिआउने उपद्का घटनापछि उद्धार तथा राहत र पुर्नस्थापना तथा पुर्नलाभ लगायतका विषयमा प्रशिक्षित गराउनुभएको थियो ।
उक्त अभिमुखिकरण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी काभ्रेशाखाका आर्थिक प्रशासन शाखाप्रमुख एवं विपद् व्यवस्थापन विज्ञ बद्रीप्रसाद गौतमले विपद् र विपद् व्यवस्थापनका संयन्त्रलगायतका विषयमा जानकारी गराउनुभएको थियो । उहाँका अनुसार विपद्ले विनाश गर्छ, विनाशले जीवनचक्र आतङ्कित बनाउँछ, आतङ्कले जनधनको क्षति र तनाव बढाउँछ । मानव जीवनमा अप्ठ्यारो, आपत्कालीन, भयभित अवस्था सिर्जना भइ धनजनको क्षति हुनु विपद्को समय हो । मानव संकटले जीवन सञ्चालनमा अवरोध गर्ने हुँदा विपद् जोखिममा हासियारी अपनाउनुपर्छ । यस्तो संकट आकस्मिक र अप्रत्याशित रूपमा आउने हुँदा विपद्विरुद्ध सधैँ होसियारीसहित शासकीय तयारी हुनुपर्छ । विपत्ति प्राकृतिक र मानवीय कारणबाट हुने गर्दछ ।
प्राकृतिक विपत्तिमा बाढी, पहिरो, भूकम्प, आँधी, तुफान, चट्याङ, स्वास्थ्यको प्रकोप जस्ता विपद् पर्दछन् भने मानवीय कारणबाट हुने विपद्मा आगलागी, युद्ध, कमजोर संरचनाको निर्माण, दुर्घटना, वातावरणको विनाशबाट जोखिम भएको हुन्छ । देशको भौगोलिक अवस्था, शासकीय भूमिका र मानवीय क्रियाकलापबाट विपद्को स्तर आकलन गर्न सकिन्छ ।
नेपालमा हावा हुरी, चट्याङ, बाढी पहिरो, भूकम्प, आगलागी, दुर्घटना र स्वास्थ्यको प्रकोपको जोखिम रहेको छ । दुर्घटना र भूकम्पको प्रकोप जतिबेला पनि हुन सक्ने तर वर्षा सुरु हुनुअघि हावा हुरी, आगलागी र चट्याङ र स्वास्थ्यको प्रकोप जोखिम हुने गर्दछ । वर्षाको समय प्रायः असारदेखि भदौसम्म एक सय बीस दिन खतरा वा जोखिम हुने समयका रूपमा लिइन्छ । हाम्रो भूबनोट र प्राकृतिक कारण हावा हुरी, आगलागी, चट्याङ, स्वास्थ्यको प्रकोप र वर्षा हाम्रा लागि निकै चुनौती र कष्टकर हुनेमा द्विविधा छैन ।
नेपालले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन गर्न नीति तर्जुमा गरी लागु गरेको छ । विपद् व्यवस्थापन गर्ने संयन्त्र प्राधिकरण स्थापना गरी विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन गर्ने कार्य जिम्मेवारी तोकिएको छ । जोखिम न्यूनीकरण र व्यवस्थापन गर्न प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय परिषद्को व्यवस्था रहेको र परिषद्ले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन गर्न नीतिगत निर्णय गर्ने, समन्वय गर्ने, निर्देशन दिने काम गर्दछ ।
गृहमन्त्रीको अध्यक्षतामा राष्ट्रिय कार्यकारी समिति रहेको र समितिले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको केन्द्रीय निकायको काम गर्दछ । प्रदेश विपद् व्यवस्थापन कार्यकारी समिति, जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिको व्यवस्था गरी प्रदेश, जिल्ला र स्थानीय स्तरसम्म विपद् व्यवस्थापन गर्न आआफ्ना काम, कर्तव्य र अधिकार तोकिएको छ । विपद् व्यवस्थापनका लागि राष्ट्रिय कोषको व्यवस्था गरी दाताहरूले उक्त कोषमा रकम सहयोग गर्न सक्ने व्यवस्था भएको जानकारी गराउनुभएको थियो ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |