प्रभातफेरी अनलाइन २२२ पटक पढिएको प्रकाशित मिति: २०८३ बैशाख ६, आईतबार (१३ घण्टा अघि)

काठमाडौ /हालै सरकारले सुकुम्वासी परिवारहरूलाई बसोबास र जीविकोपार्जनको उचित विकल्प उपलब्ध नगराई जबरजस्ती उठिबास लगाउने तथा झुप्रा भत्काउने कार्यप्रति नेपाली कम्युनिष्ट पार्टीको गम्भीर ध्यानाकर्षण भएकोभन्दै बिज्ञप्तिमार्फ सरकारलाई चेतावनी दिएको छ ।
यस प्रकारको अमानवीय कदमले पीडित परिवारलाई बिचल्ली पार्नुका साथै सीमान्तकृत समुदायको राज्यप्रतिको जनविश्वास कमजोर बनाउने खतरा बढ्ने हाम्रो ठहर छ । सुकुम्वासी व्यवस्थापनका सन्दर्भमा समुचित पुनर्वासको व्यवस्था नगरी यस्ता कार्य नगर्न सरकारसमक्ष आग्रह गर्दछौं।
यसैगरी नयाँ सरकार गठन लगत्तै महङ्गी र कालो बजारी बढेकोमा तत्काल नियन्त्रण गर्न हाम्रो पार्टी आग्रह गर्दछ । साथै संविधानको मर्म र भावनाविपरीत विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने प्रयास अत्यन्तै आपत्तिजनक छ।
पञ्चायती कालखण्डमा समेत संगठित हुने अधिकार उपभोग गर्दै आएका विद्यार्थीहरूमाथि बलिदानीपूर्ण संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रमा यस्तो प्रतिबन्ध लगाइनु स्वीकार्य हुन सक्दैन। संगठित हुन पाउने संवैधानिक अधिकार तथा नेपालले अनुमोदन गरेका अन्तर्राष्ट्रिय सन्धि-सम्झौताविपरीत ट्रेड युनियनहरूमाथि प्रतिबन्ध लगाउने प्रयासप्रति पनि हाम्रो पार्टी चिन्ता व्यक्त गर्दछ। सरकारलाई यो विषयलाई हलुकारूपमा नलिन र पुनर्विचार गर्न आग्रह गर्दछौं।
ताजा जनादेशबाट बनेको वर्तमान सरकारप्रति जनताले सुशासन, सामाजिक न्याय तथा समृद्धिको ठूलो अपेक्षा गरेका छन्। सरकारले अघि सारेका वाचा तथा प्रतिबद्धतापत्रका सकारात्मक विषयहरूलाई हाम्रो पार्टी सकारात्मक रूपमा स्वागत गर्दछ । तथापि, शासन सञ्चालन प्रक्रिया तथा संसदीय अभ्यासका क्रममा देखिएको पूर्वाग्रही, मनोगत तथा एकपक्षीय दृष्टिकोण चिन्ताजनक छन्।
नेपाली कम्युनिष्ट पार्टी सरकारलाई अझ लोकतान्त्रिक बन्न, सुकुम्वासी, किसान, मजदूर तथा उपेक्षित, उत्पीडित समुदायप्रति सहिष्णु र जिम्मेवार बन्न, सामाजिक न्याय र सुशासनको विषयमा अनावश्यक स्टनबाजी नगर्न तथा लोकतान्त्रिक अधिकारहरूलाई थप संस्थागत गर्ने दिशामा अघि बढ्न आग्रह गर्दछ।
हामी लोकतन्त्रको सर्भिसिङका पक्षमा छौँ। तर लोकतन्त्रको सुदृढीकरण, अधिकारहरू खोसेर वा जनताको घरबास उजाडेर सम्भव हुँदैन, बरु सीमान्तीकृत समुदायका अधिकारहरूलाई सुदृढ गर्दै यी समुदायका पक्षमा सामाजिक न्याय र समृद्धि हासिल गर्नु नै सही मार्ग हो भन्ने ठहर नेपाली कम्युनिस्ट पार्टीको रहेको बिज्ञप्तिमा भनिएको छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |