logo
२०८३ अषाढ ४, बिहिबार |
📰
🔍

लैङ्गिक हिंसाविरुद्ध महिला सचेतना कार्यक्रम तथा नेतृत्व विकास तालिम उत्साहपूर्ण रूपमा सम्पन्न

प्रभातफेरी अनलाइन१९ पटक पढिएको प्रकाशित मिति: २०८३ अषाढ २, मंगलबार(२ दिन अघि)
लैङ्गिक हिंसाविरुद्ध महिला सचेतना कार्यक्रम तथा नेतृत्व विकास तालिम उत्साहपूर्ण रूपमा सम्पन्न

काभ्रे, महाभारत गाउँपालिका। महाभारत गाउँपालिकामा लैङ्गिक हिंसाविरुद्ध महिला सचेतना कार्यक्रम तथा नेतृत्व तथा क्षमता विकास तालिम उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ।

गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका तथा महिला जनप्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। जेठ ३१ गते वडा नं. १, २, ३ र ४ का महिला स्वास्थ्य स्वयंसेविका तथा महिला जनप्रतिनिधिहरूका लागि कार्यक्रम सञ्चालन गरिएको थियो भने असार १ गते वडा नं. ५, ६, ७ र ८ का सहभागीहरूलाई समेटेर दोस्रो चरणको कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रममा वडा अध्यक्ष कान्छामान जिम्बा, प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद खनाल, कार्यपालिका सदस्य बिकुमाया श्रेष्ठ, प्रहरी हवल्दार वीरबहादुर महत्तो तथा शाखा प्रमुख सङ्गीता लामालगायतले लैङ्गिक हिंसा न्यूनीकरण, महिला सशक्तीकरण तथा समुदायस्तरमा सचेतना अभिवृद्धिको महत्वबारे धारणा व्यक्त गर्नुभएको थियो। वक्ताहरूले महिलाको नेतृत्व विकास र सामाजिक सहभागिता बढाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताएका थिए।

यसैबीच, महाभारत गाउँपालिकामा बालबालिकाहरूको नेतृत्व विकास तथा क्षमता अभिवृद्धिका लागि आवासीय तालिमसमेत सञ्चालन गरिएको छ। जिल्लाको सदरमुकामबाट टाढा तथा दुर्गम क्षेत्रमा रहेको गाउँपालिकामा आयोजित उक्त तालिममा विद्यार्थी र शिक्षिकासहित ४४ जनाको सहभागिता रहेको थियो।

तालिममा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोग गर्दै लघुप्रवचन, नाटक, कथा, कविता, निबन्ध लेखन, समूह छलफल तथा नृत्यजस्ता सिर्जनात्मक माध्यमबाट नेतृत्व, व्यक्तित्व विकास र अभिव्यक्ति क्षमतासम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो।

सहभागीहरूले तालिमलाई ज्ञानवर्धक, प्रेरणादायी तथा मनोरञ्जनात्मक रहेको प्रतिक्रिया दिएका छन्। मानवअधिकारकर्मी तथा पत्रकार भोजराज तिमल्सिनालगायतका प्रशिक्षकहरूले सहजीकरण गर्नुभएको उक्त तालिम उत्साहपूर्ण तथा उपलब्धिमूलक वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।