प्रभातफेरी अनलाइन१९ पटक पढिएको प्रकाशित मिति: २०८३ अषाढ ४, बिहिबार(४ दिन अघि)
काठमाडौं , बीपी राजमार्ग अन्तर्गत नमोबुद्ध–२ मा भएको बस दुर्घटनामा ज्यान गुमाएकाहरूको शोकमा रोशी गाउँपालिकाले असार ५ गते (भोलि) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गत जेठ २९ गते दिउँसो भएको उक्त दुर्घटनामा रोशी गाउँपालिकाका सात जना स्थानीयसहित आठ जनाको घटनास्थलमै मृत्यु भएको थियो। सोही घटनाप्रति शोक व्यक्त गर्दै गाउँपालिकाले आफ्ना मातहतका सम्पूर्ण कार्यालय तथा शैक्षिक संस्थामा बिदा घोषणा गरेको हो।
गाउँपालिका अध्यक्ष दिनेश लामाद्वारा जारी शोक वक्तव्यमा पालिका कार्यालय, वडा कार्यालय, शैक्षिक संस्था तथा आकस्मिक सेवाबाहेकका स्वास्थ्य संस्थासहित गाउँपालिकाअन्तर्गतका सबै कार्यालयमा शोक बिदा दिइने उल्लेख गरिएको छ।
वक्तव्यमा दुर्घटनामा गाउँपालिकाका नागरिकहरूले अकालमै ज्यान गुमाउनु परेको भन्दै रोशी गाउँपालिका परिवारले गहिरो दुःख व्यक्त गरेको छ।