प्रभातफेरी अनलाइन२ पटक पढिएको प्रकाशित मिति: २०८३ अषाढ ४, बिहिबार(२८ मिनेट अघि)
काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं. ४ द्वारा आयोजित दोस्रो चेयरमेन कप अन्तरस्कुल चेस च्याम्पियनसिपको उपाधि बाँसबारी माध्यमिक विद्यालयले जितेको छ। उत्कृष्ट प्रदर्शन गर्दै बाँसबारीले लगातार दोस्रो वर्ष पनि उपाधि आफ्नो नाममा पार्न सफल भएको हो।
दुईदिने प्रतियोगितामा गल्र्स र ब्वाइजतर्फका ६ विधा समावेश थिए। बाँसबारीले कुल १२७ अंक जोड्दै मुख्य ट्रफी जित्यो। दुर्गा भवानी एकेडेमी ३७ अंकसहित उपविजेता तथा महेन्द्र राष्ट्रिय मावि २८ अंकसहित तेस्रो स्थानमा रहे।
बालुवाटार प्यालेस ब्यांकेट एन्ड इभेन्ट्समा सम्पन्न प्रतियोगिताको व्यवस्थापन हिमालयन चेस एकेडेमीले गरेको थियो। प्रतियोगितामा २२ विद्यालयका ३०४ विद्यार्थी सहभागी थिए। सहभागीहरू वडा नं. ४ का स्थानीय तथा सोही वडास्थित विद्यालयमा अध्ययनरत विद्यार्थी थिए।
पुरस्कार वितरण कार्यक्रममा वडा नं. ४ का अध्यक्ष दिनेश महर्जन, राष्ट्रिय खेलकुद परिषद्की बोर्ड सदस्य मोनालिशा खम्बूलगायतले ट्रफी, मेडल, प्रमाणपत्र तथा अन्य पुरस्कार प्रदान गरेका थिए।
व्यक्तिगत प्रतिस्पर्धामा कक्षा १–४ गल्र्सतर्फ बाँसबारीकी विद्या ढुंगाना प्रथम, सिमरन कार्की द्वितीय र सुप्रिया तामाङ तृतीय भइन्। कक्षा ५–८ गल्र्सतर्फ पनि बाँसबारीकी सुप्रिया खत्री, कृतिका गुरुङ र अलिशा थापा क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा रहिन्।
कक्षा १–४ ब्वाइजतर्फ एनसीसीएसका श्रेयांश सापकोटा प्रथम भए भने बाँसबारीका शिव थापा दोस्रो र पञ्चकन्या आधारभूत विद्यालयका सागर तामाङ तेस्रो भए। कक्षा ५–८ ब्वाइजतर्फ दुर्गा भवानीका ओजोन तामाङ पहिलो, बाँसबारीका सन्देश भट्ट दोस्रो र दुर्गा भवानीकै दिवज धमला तेस्रो भए।
कक्षा ९–१२ गल्र्सतर्फ बाँसबारीकी अप्सरा खत्री प्रथम, दुर्गा भवानीकी स्वस्तिका तामाङ द्वितीय र आशिर्वाद सेकेन्डरी स्कुलकी निङ्वा पोमु तृतीय भइन्। ब्वाइजतर्फ साउथ वेस्टर्न कलेजका अभिवन पाण्डे पहिलो, बाँसबारीका विन्दास अधिकारी दोस्रो तथा किस्ट कलेजका अग्रज कटुवाल तेस्रो स्थानमा रहे।