logo
२०८३ अषाढ २७, शनिबार |
📰
🔍

पूर्णखोप सुनिश्चित विद्यालय घोषणा गर्ने देशकै पहिलो पालिका बन्यो मण्डनदेउपुरपालिका

प्रभातफेरी अनलाइन१९ पटक पढिएको प्रकाशित मिति: १ घण्टा अघि (१ घण्टा अघि)
पूर्णखोप सुनिश्चित विद्यालय घोषणा गर्ने देशकै पहिलो पालिका बन्यो मण्डनदेउपुरपालिका

काभ्रे / महादेवस्थानस्थित नगरपालिका सभाहलमा आयोजित घोषणा कार्यक्रममा जिल्ला खोप समन्वय समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमले नगरपालिकास्तरीय खोप समन्वय समितिका अध्यक्ष तथा नगरप्रमुख टोकबहादुर वाईवालाई जिल्ला खोप समन्वय समितिको तर्फबाट प्रमाणपत्र प्रदान गर्नुभएर बिधिवत रुपमा प्रमाणीत गर्नु भएको हो । कार्यक्रममा नगर प्रमुख टोक बहादुर वाइवाले पूर्णखोप सुनिश्चित भएका ५९ वटा विद्यालयलाई नगरपालिकास्तरीय खोप समन्वय समितिको तर्फबाट प्राप्त प्रमाणपत्र हस्तान्तरण गर्नुभएको छ ।

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका राष्ट्रिय पूर्णखोप निर्देशिका बमोजिम पूर्णखोप सुनिश्चित विद्यालय घोषणा गर्ने नेपालकै पहिलो स्थानीय तह बनेको छ । आर्थिक वर्ष २०८२/०८३ मा नगरपालिका क्षेत्रभित्रका विद्यालयमा भर्ना भएका ५९ महिनामुनिका ६५९ जना बालबालिकाले नेपाल सरकारले उपलब्ध गराउने सबै खोप तथा आवश्यक मात्रा पूरा गरेको वडा र विद्यालय तहबाट सुनिश्चित भएपछि नगरपालिकालाई पूर्णखोप सुनिश्चित विद्यालय भएको स्थानीय तहका रूपमा घोषणा गरिएको नगरप्रमुख वाइवाले बताउनु भएको छ ।

नगरपालिकाभित्र रहेका ४३ वटा सामुदायिक र ६ वटा संस्थागत विद्यालयमा अध्ययनरत ५९ महिनासम्मका सबै बालबालिकाले राष्ट्रिय पूर्णखोप निर्देशिकाअनुसार पाउनुपर्ने सबै खोप प्राप्त गरेको प्रमाणित भएपछि ती विद्यालयलाई पूर्णखोप सुनिश्चित विद्यालय घोषणा गरिएको हो । सोही आधारमा सम्पूर्ण मण्डनदेउपुर नगरपालिकालाई पूर्णखोप सुनिश्चित विद्यालय भएको नगरपालिका घोषणा गरिएको छ ।

कार्यक्रममा जिल्ला खोप समन्वय समितिका अध्यक्ष दीपककुमार गौतम, नगर प्रमुख टोकबहादुर वाईवा, उपप्रमुख विष्णुमणि नेपाल, प्रमुख प्रशासकीय अधिकृत अमृत धिताल, जनप्रतिनिधिहरू, जनस्वास्थ्य कार्यालय काभ्रेका खोप अधिकृत पार्थमणि न्यौपाने, विश्व स्वास्थ्य संगठन (WHO) का प्रतिनिधि डा. रुपेश तिमिल्सिना, नगरभित्रका विद्यालयका प्रधानाध्यापक तथा शिक्षक, स्वास्थ्य संस्था प्रमुख, स्वास्थ्यकर्मी, राजनीतिक दलका प्रतिनिधि, विद्यालय नर्स, राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा पूर्णखोप सुनिश्चित अभियानलाई सफल बनाउन समन्वय, सहकार्य र सहजीकरणमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा, बाल स्वास्थ्य तथा खोप सेवा शाखा (टेकु, काठमाडौं), जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोक, विश्व स्वास्थ्य संगठन (WHO–IVD) नेपाल तथा खोप अधिकृत पार्थमणि न्यौपानेलाई सम्मानपत्रसहित सम्मान गरिएको थियो । पूर्णखोप सुनिश्चित विद्यालय अभियानले बालबालिकालाई खोपबाट रोकथाम गर्न सकिने रोगबाट सुरक्षित राख्दै विद्यालय र समुदायस्तरमा खोप कार्यक्रमको दिगोपनालाई थप सुदृढ बनाउने अपेक्षा गरिएको उपप्रमुख बिष्णुमणि नेपालले जनाएका छन ।