logo
२०८३ अषाढ २८, आईतबार |
📰
🔍

साउनदेखि ‘डेङ्गु सचेतना अभियान संचालन गर्न जनस्वास्थ्य कार्यालय काभ्रे कटिबद्ध छ : अधिकृत श्रेष्ठ

प्रभातफेरी अनलाइन१४ पटक पढिएको प्रकाशित मिति: ५२ मिनेट अघि (५२ मिनेट अघि)
साउनदेखि ‘डेङ्गु सचेतना अभियान संचालन गर्न जनस्वास्थ्य कार्यालय काभ्रे कटिबद्ध छ : अधिकृत श्रेष्ठ

काभ्रे / बर्खासंगै उत्पादन हुने विभिन्न रोगहरुका साथै डेङगु रोगको रोगथाम र नियन्त्रणका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता बारे निर्देशन जारी गरेको बिषयमा काभ्रे जिल्ला जनस्वास्थ्य कार्यालयले पनि मन्त्रालयको नियमित कार्यक्रम अन्तरगत आगामी आर्थिक वर्ष २०८३ र ०८४ मा साउन, भदौ र असोज महिनाभर देशव्यापी रूपमा ‘डेङ्गु सचेतना तीन महिने अभियान’ सञ्चालन गर्नेक्रममा काभ्रे जिल्ला पनि अछुतो नरहने जनस्वास्थ्य अधिकृत दिपेन्द्र श्रेष्ठले बताउनु भएको छ।

मन्त्रालयबाट जारी अभियानलाई प्रभावकारी बनाउन सबै स्थानीय तहसँग आवश्यक समन्वय र सहकार्य गरिसकेको अवस्थामा जनस्वास्थ्य कार्यालय काभ्रेले पनि आफ्नो भुमिका प्रभावकारी ढंगले जानू पर्छ । यो हाम्रो दायित्वको साथै जिम्मेवारी पनि हो ।

मन्त्रालयको प्रादेशिक तथा स्थानीय स्वास्थ्य समन्वय शाखाले जारी गरेको पत्रअनुसार गत आर्थिक वर्ष सञ्चालन गरिएको अभियानबाट डेङ्गु रोकथाम तथा नियन्त्रणसम्बन्धी जनचेतनामा वृद्धि हुनुका साथै समुदायको सक्रिय सहभागितामार्फत सङ्क्रमण न्यूनीकरणमा सकारात्मक प्रभाव परेको भन्दै यस वर्ष पनि अभियानलाई निरन्तरता दिइएको बताउनु हुँदै अधिकृत श्रेष्ठ थप्नु हुन्छ ।

अभियान अन्तर्गत प्रत्येक हप्ताको शुक्रबार ‘हरेक शुक्रबार, सफा शुक्रबार’ अभियान सञ्चालन गरिने छ। सार्वजनिक निकाय, कार्यालय, विद्यालय तथा सामुदायिक संस्थामा लामखुट्टेको प्रजननस्थल खोजी गरी नष्ट गर्ने तथा सरसफाइ कार्यक्रम सञ्चालन गरिने छ ।

यस किसिमको अभियान स्थानीय तहले आफ्नो भूगोल अनुसार कसरी प्रभावकारी बनाउन सकिन्छ त्यसै गरि संचालन गर्ने छन् । जस्तै वडा कार्यालय, टोल विकास संस्था, नागरिक समाज तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरी समुदायको सक्रिय सहभागितामा लामखुट्टेको प्रजननस्थल खोजी र नष्ट गर्ने अभियान सञ्चालन गर्नुपर्ने व्यवस्था जानकारी गराइसकेको छ । सोही अनुरुप जनस्वास्थ्य कार्यालय काभ्रेले समन्वयकारी भुमिका निर्भाह गर्ने छ ।

मन्त्रालयले डेङ्गु नियन्त्रणका लागि स्वास्थ्य तथा गैरस्वास्थ्य क्षेत्रबीच बहुपक्षीय समन्वय र नियमित अन्तरक्रियालाई पनि प्राथमिकता दिइएको छ ।

मन्त्रालयले दिएको निर्देशन अनुसार आफ्नो कार्यक्षेत्रभित्र रहेका अटो वर्कसप, टायर तथा कवाडी सामग्री व्यवस्थापन स्थल, निर्माणाधीन भवन र पानी जम्ने अन्य स्थानको नियमित अनुगमन गरी पानीको निकास तथा व्यवस्थापन गर्न भनेको छ । यसमा हाम्रो भुमिका समन्वय र सहकार्य रहने छ मन्त्रालयको कार्यक्रमलाई कसरी प्रभावकारी बनाउन सकिन्छ त्यसतर्फ जनस्वास्थ्य कार्यालय काभ्रे लागि परेको समेत जानकारी गराउनु भएको छ ।

अभियानका क्रममा प्रत्येक वडामा पोस्टर, ब्यानर, समूह छलफल, अभिमुखीकरण तथा अन्य स्थानीय माध्यममार्फत डेङ्गु को जोखिम, रोकथाम र नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन हुनेछ त्यसमा हाम्रो प्रत्येक्ष सहभागीता हुनेछ ।

लामखुट्टेको प्रजननस्थल खोजी तथा नष्ट गर्ने विधिसहित स्वास्थ्य शिक्षा सामग्री वितरण र व्यापक प्रचारप्रसारसमेत गर्न मन्त्रालयले पत्राचार गरिसकेको हुँदा हाम्रो मातहमा रहेका निकायलाई जानकारी गराइसकेको बताउनु भएको छ ।

त्यसैगरी, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले तयार पारेका रेडियो जिङ्गल तथा अन्य सन्देश स्थानीय एफएम र रेडियोमार्फत नियमित प्रसारण गरिने छ। स्वास्थ्य आमा समूह, युवा क्लब, शिक्षक, स्वयंसेवक, कलेज तथा विश्वविद्यालयका विद्यार्थीलाई समुदायमा स्वयंसेवकका रूपमा परिचालन गरी डेङ्गु नियन्त्रणका गतिविधिमा सहभागी गराइने भएको अनि अधिकृत श्रेष्ठले खुलासा गर्नु भएको छ।

विद्यालयमा साथी शिक्षा कार्यक्रम, सरसफाइ अभियान, विद्यालय स्वास्थ्य निरीक्षण टोली गठन, वक्तृत्वकला, हाजिरीजबाफ तथा चित्रकला प्रतियोगिताजस्ता कार्यक्रम सञ्चालन गरिने छ।

होटल, उद्योग तथा निजी क्षेत्रसँग सहकार्य गरी डिजिटल बोर्ड तथा अन्य सञ्चार माध्यमबाट डेङ्गुसम्बन्धी जनचेतना फैलाउन बिशेष गरि पहिलो पंक्तिमा स्वयंसेविका ज्युहरु रहनु हुनेछ ।

अभियानका क्रममा कोहि कुनै नागरिकलाई ज्वरोसँगै शरीरमा बिमिरा देखिने, जोर्नी वा मांसपेशी दुख्ने, टाउको तथा आँखाको वरिपरि दुख्ने, वाकवाकी लाग्ने वा बान्ता हुनेजस्ता डेङ्गुका लक्षण देखिएमा तत्काल नजिकको स्वास्थ्य संस्थामा पुग्न वा निःशुल्क १११५ हेल्थ हेल्पलाइनमा सम्पर्क गर्न लगाउने दायित्व तपाईं संचारकर्मिको पनि भएको जिकिर गर्नु हुँदै यो महामारी जन्यसमस्याबाट सर्वसाधारणलाई सुरक्षित राख्नु पर्ने जिम्मेवारी पूरा गर्नु नै सक्षम नागरिकको कर्तव्य रहेको अधिकृत श्रेष्ठ ठोकुवा गर्नुभएको छ।