logo
२०८३ मंसिर ७, सोमबार |
☰
📰
🔍
✕

नेपाल मेडिकल कलेजमा बीएससी नर्सिङ विद्यार्थीलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण

प्रभातफेरी अनलाइन७३ पटक पढिएको | श्रावण ३, २०८३ | आईतबार
नेपाल मेडिकल कलेजमा बीएससी नर्सिङ विद्यार्थीलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण

काठमाडौं, चिकित्सा तथा नर्सिङ शिक्षालाई थप व्यवहारिक, प्रभावकारी र बिरामी–केन्द्रित बनाउने उद्देश्यसहित नेपाल मेडिकल कलेजले बीएससी नर्सिङ दोस्रो वर्ष (१३औँ ब्याच) का विद्यार्थीहरूका लागि ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण सञ्चालन गरेको छ।

लेक्चरर पूजा प्रकाशको निरीक्षण तथा सहजीकरणमा आयोजित कार्यक्रममा प्रि–हस्पिटल तथा आकस्मिक (इमर्जेन्सी) विभागमा बिरामीको अवस्थाअनुसार गरिने ट्रायेज प्रक्रिया, नर्स, चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीको भूमिका र आपसी समन्वयबारे व्यवहारिक अभ्यास गराइएको थियो।

विद्यार्थीहरूले अस्पतालको वास्तविक वातावरणको अनुकरण गर्दै आकस्मिक अवस्थामा बिरामीको प्राथमिकता निर्धारण, उपचार व्यवस्थापन र टोलीगत समन्वय कसरी गर्ने भन्ने विषयमा अभ्यास गरेका थिए। प्रशिक्षक पूजा प्रकाशका अनुसार यसले कक्षाकोठामा प्राप्त सैद्धान्तिक ज्ञानलाई व्यवहारमा रूपान्तरण गर्न महत्वपूर्ण सहयोग पुग्नेछ।

उनका अनुसार परम्परागत व्याख्यान विधिबाट मात्रै अध्ययन गर्दा विद्यार्थीलाई सिकेको विषय व्यवहारमा लागू गर्न कठिन हुन सक्छ। सिमुलेसनमार्फत सिकाइ गर्दा अस्पतालमा कार्यरत हुँदा आत्मविश्वास बढ्ने, परीक्षामा विषय स्पष्ट रूपमा प्रस्तुत गर्न सक्ने र सिकेको ज्ञान लामो समयसम्म स्मरण रहने फाइदा हुन्छ।

कलेजका अनुसार स्वास्थ्य क्षेत्रमा जनसांख्यिकीय परिवर्तन, औसत आयु वृद्धि, नयाँ प्रविधिको प्रयोग, प्रमाणमा आधारित उपचार प्रणाली र अनुसन्धानमुखी अभ्यास बढेसँगै चिकित्सा शिक्षालाई समयानुकूल बनाउनु आवश्यक भएको छ। त्यसका लागि व्याख्यानसँगै स्किल डेमोन्स्ट्रेसन, रोल प्ले, परियोजनामा आधारित अध्ययन, प्रमाणमा आधारित अभ्यास, ड्रिल तथा सिमुलेसनजस्ता आधुनिक शिक्षण विधि पाठ्यक्रममा समावेश गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।

सिमुलेसन शिक्षण विधिमा वास्तविक अस्पताल तथा बिरामीको अवस्थाको नक्कल गरी सुरक्षित वातावरणमा विद्यार्थीलाई अभ्यास गराइन्छ। यसले आवश्यक क्लिनिकल सीप, निर्णय क्षमता, सञ्चार कौशल र टोलीगत कार्यशैली विकास गर्नुका साथै जटिल तथा दुर्लभ अवस्थाको सामना गर्ने आत्मविश्वास पनि बढाउँछ।

चिकित्सा शिक्षामा सिमुलेसनको व्यवस्थित प्रयोग सन् १९३० तिरबाट सुरु भएको मानिन्छ। यसको आधार भने प्राचीनकालमा भारतीय शल्यचिकित्सक सुश्रुतले कमलको पात र जनावरको छालामा शल्यक्रियाको अभ्यास गराउने परम्परासम्म पुग्ने उल्लेख गरिएको छ।

सन् १९६८ मा कम्प्युटरद्वारा सञ्चालन हुने पूर्ण शरीरयुक्त मानव मेनिक्विन विकास भएपछि चिकित्सा शिक्षामा सिमुलेसनले नयाँ आयाम पाएको थियो। त्यसयता सीपीआर अभ्यासका मोडेल, नर्सिङ शिक्षाका विभिन्न मेनिक्विन तथा भर्चुअल सिमुलेसन प्रणालीको विकास हुँदै आएको छ।

नेपाल मेडिकल कलेजका अनुसार नर्सिङ शिक्षामा सिमुलेसन विधि आधारभूत बिरामी हेरचाह, ड्रेसिङ, इन्जेक्सन, बिरामीको पोजिसन परिवर्तनदेखि आकस्मिक उपचार व्यवस्थापनसम्मका सीप सिकाउन विशेष प्रभावकारी छ। आधुनिक सिमुलेसनमा मेसिनसँगै विद्यार्थीलाई विभिन्न भूमिकामा प्रस्तुत गराएर यथार्थपरक सिकाइ गराउने अभ्यास पनि विस्तार हुँदै गएको छ।

 

कलेजले यस्ता व्यवहारिक तथा विद्यार्थी–केन्द्रित शिक्षण कार्यक्रमलाई निरन्तरता दिँदै भविष्यका दक्ष, जिम्मेवार र आत्मविश्वासी स्वास्थ्यकर्मी उत्पादन गर्ने लक्ष्यका साथ सिमुलेसनमा आधारित शिक्षणलाई थप विस्तार गर्ने जनाएको छ।