प्रभातफेरी अनलाइन१८ पटक पढिएको प्रकाशित मिति: ७ घण्टा अघि (७ घण्टा अघि)
काठमाडौं, शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेटवार्ता गरेका छन्।
भेटमा नेपाल–अमेरिका सम्बन्ध, शिक्षा र खेलकुद क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार, प्राविधिक तथा व्यावसायिक शिक्षा, सीपमूलक शिक्षाको प्रवर्द्धन तथा सम्भावित नयाँ सहकार्यका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।
अमेरिकाले युएसआइडीमार्फत अर्ली ग्रेड रिडिङ तथा लर्निङ कार्यक्रमसहित नेपालको शिक्षा क्षेत्रमा लामो समयदेखि सहयोग गर्दै आएको छ।
मन्त्री पोखरेलले नेपाल र अमेरिकाबीचको ऐतिहासिक र मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गर्दै सरकारले विद्यालय शिक्षामा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन, व्यवहारिक शिक्षा प्रवर्द्धन तथा विद्यालय तहदेखि नै खेलकुदलाई पाठ्यक्रममा समावेश गर्ने तयारी गरिरहेको जानकारी दिए।
उनले विद्यालयहरूको भौतिक पूर्वाधार मूल्याङ्कनको काम अघि बढाइएको र त्यसकै आधारमा आवश्यकता अनुसार बजेट विनियोजन गरिने पनि बताए।
कार्यवाहक राजदूत अर्बमले नेपालको शिक्षा र खेलकुद क्षेत्रको विकासका लागि अमेरिका सहकार्य र आवश्यक सहयोग गर्न सकारात्मक रहेको बताउँदै सरकारले अघि बढाएका शिक्षा सुधारका कार्यक्रमहरूमा निरन्तर साथ दिने प्रतिबद्धता व्यक्त गरे।