प्रभातफेरी अनलाइन१४ पटक पढिएको प्रकाशित मिति: ६ घण्टा अघि (६ घण्टा अघि)
काठमाडौं, चितवन राष्ट्रिय निकुञ्जमा एकसिङ्गे गैँडा मार्ने उद्देश्यले प्रवेश गरेको आशंकामा दुई जनालाई पक्राउ गरिएको छ।
पक्राउ पर्नेमा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मध्यविन्दु नगरपालिका–१ का ६८ वर्षीय खड्गनारायण चौधरी र चितवनको इच्छाकामना गाउँपालिका–५ का ५२ वर्षीय टेकबहादुर मगर रहेका छन्। उनीहरूलाई नवलपरासीको मध्यविन्दु नगरपालिका–३ ब्रह्मस्थानघाटबाट पक्राउ गरिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ।
उनीहरूको साथबाट एक थान कार्टुस बन्दुक र गोली बरामद भएको छ। साथै चौधरीको घरमा खानतलासी गर्दा बाघको दाँतजस्तो देखिने सात थान आखेटोपहार, एक थान माउजर बन्दुक, गोलीगठ्ठा तथा भारतीय ५०० दरका १३६ थान नोट फेला परेको निकुञ्जले जनाएको छ।
दुवैविरुद्ध संरक्षित वन्यजन्तु एकसिङ्गे गैँडा मार्ने उद्योग तथा संरक्षित वन्यजन्तुको आखेटोपहार खरिद–बिक्रीसम्बन्धी मुद्दामा अनुसन्धान सुरु गरिएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार उनीहरूविरुद्ध नवलपुर जिल्ला अदालतमा अभियोग दर्ता गरिएको निकुञ्जले जनाएको छ।