logo
२०८३ श्रावण १०, आईतबार |
📰
🔍

फ्रान्सको भीषण डढेलो नियन्त्रणबाहिर, दुई लाख ५० हजारभन्दा बढी मानिस विस्थापित

प्रभातफेरी अनलाइन९ पटक पढिएको | १ घण्टा अघि
फ्रान्सको भीषण डढेलो नियन्त्रणबाहिर, दुई लाख ५० हजारभन्दा बढी मानिस विस्थापित

काठमाडौं, पश्चिम फ्रान्समा फैलिएको भीषण डढेलोका कारण आइतबार राति थप ५५ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। यससँगै डढेलोका कारण घर छाड्न बाध्य हुने मानिसको सङ्ख्या दुई लाख ५० हजारभन्दा बढी पुगेको छ।

अधिकारीहरूका अनुसार आगो वाइन उत्पादनका लागि प्रसिद्ध सहर बोर्दो नजिक पुग्दै गएको छ। बोर्दोस्थित गिरोन्ड क्षेत्र प्रशासनले सहरको दक्षिण–पश्चिममा रहेका थप पाँच बस्तीका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान निर्देशन दिएको छ।

गिरोन्ड प्रशासनका अनुसार रातभर चलेको तीव्र हावाका कारण डढेलो थप फैलिएको हो। साताको मध्यदेखि नियन्त्रणबाहिर रहेको आगोले आइतबार बिहानसम्म करिब ४२ हजार हेक्टर क्षेत्र जलेको अनुमान गरिएको छ। यो क्षेत्रफल म्यानहटन टापुभन्दा करिब सात गुणा र पेरिस सहरभन्दा चार गुणा ठूलो हो।

लगातारको तातो हावाको लहरका कारण सुक्खा बनेका पाइनका जङ्गल र झाडी क्षेत्र डढेलोको उच्च जोखिममा परेका छन्। दमकलकर्मीले जमिन र आकाश दुवैबाट आगो नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् भने अग्निनियन्त्रण विमानमार्फत पानी र आगो रोक्ने रसायन छर्किने काम भइरहेको छ।

बोर्दोका मेयर थोमस काजेनाभले आगो महानगरीय क्षेत्रको नजिक आइपुगेको बताएका छन्। उनका अनुसार आगो सहरको सबैभन्दा नजिकको बिन्दुबाट करिब १५ किलोमिटर दूरीमा पुगेको छ।

आगो नियन्त्रणका लागि सेनासमेत परिचालन गरिएको छ। यसै क्रममा गिरोन्ड प्रशासनले बोर्दो प्रवेश गर्ने र बाहिरिने मुख्य राजमार्गको केही भाग बन्द गरेको छ।

यसैबीच, छिमेकी स्पेनमा पनि भ्यालेन्सिया क्षेत्रसहित विभिन्न स्थानमा फैलिएको डढेलोका कारण हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। स्पेनमा यसै साता फैलिएका डढेलोका कारण करिब एक लाख १६ हजार मानिस प्रभावित भएका छन्।

फ्रान्सको ल्यान्डेस क्षेत्रमा लागेको अर्को डढेलोका कारण पनि करिब ३० हजार मानिस विस्थापित भएका छन्। पछिल्ला घटनासँगै दक्षिण–पश्चिम फ्रान्समा डढेलोका कारण विस्थापित हुनेको कुल सङ्ख्या दुई लाख ५० हजारभन्दा बढी पुगेको छ।