logo
२०८३ श्रावण १०, आईतबार |
📰
🔍

नवीकरण रोकिँदा देशभरका दुई हजार एम्बुलेन्स थन्किए, सेवामा असर पर्ने चेतावनी

प्रभातफेरी अनलाइन७ पटक पढिएको | १ घण्टा अघि
नवीकरण रोकिँदा देशभरका दुई हजार एम्बुलेन्स थन्किए, सेवामा असर पर्ने चेतावनी

काठमाडौं, स्वास्थ्य ऐन, २०७५ को प्रावधानका कारण नवीकरण हुन नसक्दा देशभरका करिब दुई हजार एम्बुलेन्स सञ्चालनविहीन भएका छन्। ऐनले स्वास्थ्य संस्था बाहेकका निकायलाई एम्बुलेन्स सञ्चालन गर्न रोक लगाएपछि गैरसरकारी संस्था र निजी क्षेत्रबाट सञ्चालित एम्बुलेन्स नवीकरण हुन नसकेका हुन्।

संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपालका अध्यक्ष नवराज लामिछानेका अनुसार स्वास्थ्य संस्था बाहेकले सञ्चालन गरेका एम्बुलेन्सको नवीकरण रोकिएको छ। उनका अनुसार थप करिब एक हजार ५०० एम्बुलेन्स पनि यही समस्याबाट प्रभावित छन्।

देशभर करिब छ हजार एम्बुलेन्स रहेको तथ्याङ्क छ। तीमध्ये स्वास्थ्य संस्थाले सञ्चालन गरेका एम्बुलेन्स नवीकरण भएका छन् भने गैरसरकारी संस्था र निजी क्षेत्रबाट सञ्चालित धेरै एम्बुलेन्स सेवा दिन नसक्ने अवस्थामा पुगेका छन्।

अध्यक्ष लामिछानेले ऐन लागू भएदेखि नै संशोधनका लागि सरकारी निकायसँग पहल गर्दै आएको बताए। तत्कालीन स्वास्थ्य मन्त्री डा. सुधा शर्मालाई समेत समस्याबारे जानकारी गराइएको र नयाँ सरकार गठन भएपछि स्वास्थ्य मन्त्रालयसँग पुनः छलफल गर्ने तयारी रहेको उनले बताए।

उनले ऐन संशोधन नभए धेरै एम्बुलेन्स थन्किने र सर्वसाधारणले आपतकालीन स्वास्थ्य सेवा सहज रूपमा पाउन कठिन हुने चेतावनी दिए। “मानवतासँग प्रत्यक्ष जोडिएको विषय भएकाले नयाँ सरकारले यसलाई गम्भीर रूपमा लिनुपर्छ,” लामिछानेले भने। एम्बुलेन्स सञ्चालन रोकिँदा चालकहरूको रोजगारीसमेत प्रभावित भएको उनको भनाइ छ।