logo
२०८३ श्रावण १०, आईतबार |
📰
🔍

प्राकृतिक बराह मोरिङ्गा बजारमा, स्वास्थ्य प्रवर्द्धनसँगै महिला उद्यमशीलता र ग्रामीण अर्थतन्त्रमा टेवा दिने लक्ष्य

प्रभातफेरी अनलाइन७ पटक पढिएको | ३६ मिनेट अघि
प्राकृतिक बराह मोरिङ्गा बजारमा, स्वास्थ्य प्रवर्द्धनसँगै महिला उद्यमशीलता र ग्रामीण अर्थतन्त्रमा टेवा दिने लक्ष्य

काठमाडौं, स्वास्थ्यप्रति नागरिकको बढ्दो सचेतनासँगै शरीरको प्रतिरोधात्मक क्षमता अभिवृद्धि तथा विभिन्न रोगको जोखिम न्यूनीकरणमा उपयोगी मानिएको मोरिङ्गालाई शतप्रतिशत प्राकृतिक रूपमा उत्पादन गर्दै बराह एग्रो फुड्सले ‘बराह मोरिङ्गा’ बजारमा ल्याएको छ।

राजधानीमा शनिबार आयोजित एक कार्यक्रमबीच महिला आर्थिक सशक्तीकरणकी अगुवा नेतृ तथा पूर्वमन्त्री भगवती चौधरीले उक्त उत्पादनको औपचारिक सार्वजनिक गर्दै प्राकृतिक र शुद्ध खाद्य उत्पादनले स्वस्थ जीवनशैली प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताइन्।

उनले सुनसरीको बराहक्षेत्र–१ मा उत्पादन गरिएको बराह मोरिङ्गा भिटामिन, खनिज र प्रोटिनको उत्कृष्ट स्रोत भएको उल्लेख गर्दै यसले शरीरलाई आवश्यक पोषक तत्व उपलब्ध गराउन सहयोग गर्ने विश्वास व्यक्त गरिन्। स्थानीय उत्पादनलाई व्यावसायिक रूप दिँदै महिला उद्यमशीलता र युवा स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्यले अभियान अघि बढाइएको उनको भनाइ थियो।

पूर्वमन्त्री चौधरीले मोरिङ्गाले शरीरलाई आवश्यक पोषण प्रदान गर्नुका साथै स्वस्थ जीवनशैली कायम राख्न सहयोग पुर्‍याउने बताइन्। मधुमेह, उच्च रक्तचापजस्ता जीवनशैलीसँग सम्बन्धित समस्यामा यसको उपयोगिताबारे चर्चा गर्दै उनले मोरिङ्गाको उत्पादन र उपभोग विस्तार गर्न आवश्यक रहेकोमा जोड दिइन्।

ग्रामीण महिला उत्सुकता विकास मञ्चको प्राविधिक व्यवस्थापनमा स्थानीय आदिवासी तथा जनजाति महिलाहरूको सक्रिय सहभागितामा उत्पादन गरिएको बराह मोरिङ्गालाई देशव्यापी रूपमा विस्तार गर्ने लक्ष्य राखिएको छ। यसमार्फत ग्रामीण क्षेत्रमा महिला उद्यमशीलता र युवाको स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्य लिइएको आयोजकले जनाएको छ।

युएनडिपी, डी जेड आइ फाउन्डेसन र एलडब्लूआरको वित्तीय तथा प्राविधिक सहयोगमा सञ्चालन गरिएको परियोजनाले स्थानीय उत्पादनलाई व्यावसायीकरण गर्दै ग्रामीण अर्थतन्त्र सुदृढ बनाउन योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

कार्यक्रममा समाज कल्याण परिषद्का पूर्व सदस्य सचिव डिल्ली भट्ट, राजश्री विश्वविद्यालयका परीक्षा नियन्त्रक डा. श्यामकिशोर महतो, फरवार्ड माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भट्टराई, किसान नेटका अध्यक्ष सूर्य भुसाललगायतले मोरिङ्गाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे धारणा राखेका थिए। उनीहरूले यसको उत्पादन विस्तारले महिला सशक्तीकरण र ग्रामीण अर्थतन्त्रलाई थप मजबुत बनाउने बताएका थिए।

कार्यक्रममा बराह मोरिङ्गा नियमित सेवन गरिरहेका व्यक्तिहरूले आफ्ना अनुभव साझा गर्दै उत्पादनलाई अझ गुणस्तरीय, आकर्षक प्याकेजिङसहित अन्तर्राष्ट्रिय बजारसम्म विस्तार गर्न सुझाव दिएका थिए।

फरवार्ड नेपालका प्रमुख कार्यकारी निर्देशक द्रव्यराज चौधरीले बराह मोरिङ्गाको उत्पादनमा शुद्धता र गुणस्तरलाई उच्च प्राथमिकता दिइएको बताउँदै आगामी दिनमा उत्पादन, ब्रान्डिङ र बजार विस्तारलाई थप व्यवस्थित बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।