logo
२०८३ श्रावण २१, बिहिबार |
📰
🔍

राष्ट्र बैंकको खुला बजार कारोबार कार्यविधिमा नवौँ संशोधन, प्रणाली थप डिजिटल र पारदर्शी

प्रभातफेरी अनलाइन९ पटक पढिएको | २०८३ श्रावण २१, बिहिबार
राष्ट्र बैंकको खुला बजार कारोबार कार्यविधिमा नवौँ संशोधन, प्रणाली थप डिजिटल र पारदर्शी

काठमाडौँ / नेपाल राष्ट्र बैंकले खुला बजार कारोबारलाई थप प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री बनाउन ‘खुला बजार कारोबारसम्बन्धी कार्यविधि, २०७८ (नवौँ संशोधन, २०८३)’ लागू गरेको छ।

संशोधित कार्यविधिले रिपो, रिभर्स रिपो, सोझै खरिद–बिक्री, धितोपत्र व्यवस्थापन, बोलकबोल प्रक्रिया, भुक्तानी, अनलाइन सहभागिता तथा दीर्घकालीन तरलता व्यवस्थापनसम्बन्धी प्रावधानलाई थप स्पष्ट र व्यवस्थित बनाएको छ।

नयाँ व्यवस्थाअनुसार खुला बजार कारोबारका अधिकांश मौद्रिक उपकरणमा न्यूनतम बोल रकम १० करोड रुपैयाँ कायम गरिएको छ। साथै, १० करोडले निःशेष भाग जाने रकमसम्म अधिकतम आह्वान गरिएको सीमाभित्र बोल गर्न सकिने व्यवस्था गरिएको छ।

यसैगरी, नियम उल्लंघन गर्ने सहभागीलाई छ महिनासम्म खुला बजार कारोबारको बोलकबोलमा सहभागी हुन नपाउने र २.५० प्रतिशतका दरले हर्जाना लाग्ने व्यवस्था पनि गरिएको छ।

राष्ट्र बैंकका अनुसार नवौँ संशोधनले खुला बजार कारोबारलाई कागजी प्रक्रियाबाट क्रमशः डिजिटल प्रणालीमा रूपान्तरण गर्दै तरलता व्यवस्थापन, जोखिम नियन्त्रण, नियामकीय अनुपालन तथा कारोबार सञ्चालनलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउने आधार तयार गरेको छ।