logo
२०८३ भाद्र ३, बुधबार |
📰
🔍

नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा सगुन पौडेल नियुक्त

प्रभातफेरी अनलाइन१४ पटक पढिएको | २०८३ भाद्र २, मंगलबार
नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा सगुन पौडेल नियुक्त

काठमाडौं / जनस्वास्थ्य विज्ञ तथा स्वास्थ्य नीति र प्रणाली विशेषज्ञ सगुन पौडेल नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा नियुक्त भएका छन्।

स्वास्थ्य क्षेत्रमा १३ वर्षभन्दा बढी अनुभव हासिल गरेका पौडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामा प्राविधिक तथा नेतृत्वदायी भूमिकामा काम गरेका छन्।

उनले स्वास्थ्य प्रणाली सुदृढीकरण, स्वास्थ्य नीति तथा योजना, स्वास्थ्य वित्तीय व्यवस्थापन, स्वास्थ्य जनशक्ति विकास र कार्यान्वयन अनुसन्धानका क्षेत्रमा काम गरेका छन्।

पौडेलले बेलायतको लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिन तथा लन्डन स्कुल अफ इकोनोमिक्सबाट स्वास्थ्य नीति, योजना तथा वित्तसम्बन्धी स्नातकोत्तर अध्ययन गरेका छन्। साथै, उनले गाड्जाह माडा विश्वविद्यालयबाट जनस्वास्थ्यमा स्नातकोत्तर र पोखरा विश्वविद्यालयबाट जनस्वास्थ्यमा स्नातक गरेका छन्।

नवनियुक्त अध्यक्ष पौडेलले स्वास्थ्य व्यवसायको गुणस्तर, व्यावसायिक मापदण्ड, नियमन तथा स्वास्थ्य व्यवसायीको क्षमता विकासलाई प्रभावकारी बनाउन भूमिका खेल्ने अपेक्षा गरिएको छ।