प्रभातफेरी अनलाइन१२ पटक पढिएको | २०८३ भाद्र ३, बुधबार
काठमाडौं / ब्रह्माकुमारीजले पूर्व विश्व प्रशासकीय प्रमुख राजयोगिनी तपस्वीरूप दादी प्रकाशमणिज्यूको १८ औँ पुण्यतिथिको पावन अवसरमा दोस्रोपटक विश्वव्यापी रूपमा ‘बृहत् रक्तदान कार्यक्रम’ आयोजना गर्ने भएको छ। सोही अवसरमा ब्रह्माकुमारीज नेपालले ‘ज्ञान–पान, योग–ध्यान, रक्तदान’ भन्ने सन्देशसहित आगामी भदौ ५ गतेदेखि देशका विभिन्न स्थानमा रक्तदान तथा रक्तसंकलन कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।
रक्तदान कार्यक्रम आयोजना हुने स्थानहरूको विस्तृत विवरण समाचारको अन्त्यमा समावेश गरिने जनाइएको छ। रक्तदान गर्न इच्छुक व्यक्तिहरूले ब्रह्माकुमारीज नेपालको फेसबुक पेजमार्फत कार्यक्रमसम्बन्धी विस्तृत जानकारी लिन सक्नेछन्।
ब्रह्माकुमारीज आध्यात्मिक संस्थाका साथै सामाजिक सेवामा समेत सक्रिय संस्था भएको आयोजकले जनाएको छ। संस्थाले UNICEF तथा ECOSOC जस्ता अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गर्दै विश्वका १४० राष्ट्रमा सेवा प्रदान गर्दै आएको बताइएको छ। सामाजिक सेवाअन्तर्गत नशामुक्ति अभियान, प्राकृतिक विपत्तिमा सहयोग तथा रक्तदान र रक्तसंकलनलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ।
ब्रह्माकुमारीजले मानवमा मानवीय भावना विकास गर्ने, दिव्य गुण धारण गर्न प्रेरित गर्ने तथा चरित्र निर्माणमा सहयोग पुर्याउने उद्देश्यले आध्यात्मिक गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ। प्राकृतिक विपत्तिका पीडित, दुर्घटनामा परेका तथा उपचारका क्रममा रगत आवश्यक पर्ने बिरामीलाई सहयोग गर्ने उद्देश्यले रेडक्रस, अस्पताल तथा अन्य सामाजिक संस्थासँग सहकार्य गर्दै रक्तदान तथा रक्तसंकलन कार्यक्रम सञ्चालन हुँदै आएको संस्थाले जनाएको छ।
दादी प्रकाशमणिको पुण्यतिथिमा रक्तदान अभियान आयोजना गर्नुको उद्देश्य उहाँले आफ्नो जीवनकालमा समाज तथा विश्वका लागि पुर्याउनुभएको आध्यात्मिक र सामाजिक योगदानको स्मरण गर्नु रहेको ब्रह्माकुमारीजले जनाएको छ।
सन् १९२२ मा जन्मनुभएकी दादी प्रकाशमणिले १४ वर्षको उमेरमै आध्यात्मिक ज्ञानमा आफ्नो जीवन समर्पित गर्नुभएको थियो। उहाँले आफ्नो सम्पूर्ण जीवन मानव सेवामा अर्पण गर्नुभएको आयोजकको भनाइ छ। ब्रह्माकुमारीजमार्फत सन् १९७२ देखि विदेश सेवा सुरु गर्नुभएकी दादी प्रकाशमणिले सन् १९८६ मा नौवटा देशबाट ‘शान्तिदूत अवार्ड’ प्राप्त गर्नुभएको थियो।
दादी प्रकाशमणि संयुक्त राष्ट्रसंघ (यूएन) मा आर्थिक मामिलासम्बन्धी सल्लाहकारसमेत रहनुभएको थियो। सन् १९९२ मा मोहनलाल सुखाडिया विश्वविद्यालय, उदयपुरबाट उहाँलाई डक्टरेट उपाधिबाट सम्मान गरिएको थियो।
दादी प्रकाशमणिको स्मृतिमा विश्वव्यापी रक्तदान अभियान सञ्चालन गरिएको यो दोस्रोपटक हो। गत वर्ष उहाँको १८ औँ पुण्यतिथि स्मृति दिवसको अवसरमा आयोजना गरिएको रक्तदान अभियानमा नेपाल र भारतबाट गरी ८८ हजार पिन्ट रक्त संकलन भएको थियो। नेपालबाट मात्रै ११ हजार ५१६ पिन्ट रक्त संकलन भएको आयोजकले जनाएको छ। उक्त अभियानमा ८८ हजार पिन्ट रक्त संकलन गरी ब्रह्माकुमारीजले भारतको OMG Book of Records मा रेकर्डसमेत कायम गरेको जनाएको छ।
यस वर्ष पनि उल्लेखनीय मात्रामा रक्त संकलन गर्ने लक्ष्य संस्थाले राखेको छ। ‘ज्ञान–पान, योग–ध्यान, रक्तदान’ भन्ने सन्देशसहित सञ्चालन हुने अभियानमा रक्तदानअघि आध्यात्मिक ज्ञानका पुस्तकमा रहेका नैतिक विषयवस्तु अध्ययन गराई सकारात्मक चिन्तनसहित रक्तदान गराउने अवधारणा रहेको आयोजकले जनाएको छ।
आयोजकका अनुसार सकारात्मक सोच र संकल्पको प्रभाव मानव जीवन तथा प्रकृतिमा पर्ने विश्वासका आधारमा रक्तदातालाई रक्तदानअघि सकारात्मक चिन्तन गराउने कार्यक्रमको उद्देश्य हो। यसबाट रक्तदानलाई केवल सामाजिक सेवा मात्र नभई सकारात्मक सोच र आध्यात्मिक चेतनासँग जोड्ने प्रयास गरिएको संस्थाको भनाइ छ।
यसै वर्षको रक्तदान कार्यक्रमको औपचारिक शुभारम्भ ब्रह्माकुमारीज नेपालले श्रावण ३१ गते काठमाडौंको प्रदर्शनी मार्गस्थित महेन्द्र पुलिस क्लबमा कार्यक्रम आयोजना गरी गरिसकेको छ। अब भदौ ५ गतेदेखि देशका विभिन्न स्थानमा बृहत् रक्तदान तथा रक्तसंकलन कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।
रक्तदान गर्न इच्छुक व्यक्तिहरूले कार्यक्रमको स्थान, मिति, समय तथा अन्य आवश्यक जानकारी ब्रह्माकुमारीज नेपालको आधिकारिक फेसबुक पेजबाट प्राप्त गर्न सक्नेछन्।
लिंक- https://www.facebook.com/profile.php?id=61583827022071