logo
२०८३ आश्विन ३, शनिबार |
📰
🔍

पाँचखालको सेमी–अर्गानिक तरकारीप्रति काठमाडौंका उपभोक्ताको विश्वास बढ्दै

प्रभातफेरी अनलाइन९ पटक पढिएको | १ घण्टा अघि
पाँचखालको सेमी–अर्गानिक तरकारीप्रति काठमाडौंका उपभोक्ताको विश्वास बढ्दै

पाँचखाल / पाँचखालमा उत्पादित स्वच्छ तथा सेमी–अर्गानिक तरकारीप्रति काठमाडौंका उपभोक्ताको विश्वास बढ्दै गएको छ। माग बढेसँगै काठमाडौंका उपभोक्ता उत्पादनस्थलमै पुगेर तरकारी उत्पादन प्रक्रिया, प्रविधि र गुणस्तरको प्रत्यक्ष अवलोकन गर्न थालेका छन्।

लवग्रीन नेपालले पछिल्लो आठ वर्षदेखि कृषक पाठशालामार्फत हजारौँ कृषकलाई एकीकृत शत्रुजीव व्यवस्थापन (आईपीएम) प्रविधिबारे तालिम दिँदै स्वच्छ तथा सुरक्षित तरकारी उत्पादनमा सहजीकरण गर्दै आएको जनाएको छ। संस्थाले पछिल्ला तीन वर्षदेखि बजार व्यवस्थापनमा समेत सक्रियता बढाउँदै काठमाडौंको पेप्सिकोला, टोखास्थित ग्रान्डी भिल्ला, भक्तपुर तथा काभ्रेका विभिन्न स्थानमा बिक्री कक्ष र आपूर्ति व्यवस्था मिलाएको छ।

बढ्दो माग र उपभोक्ताको विश्वासलाई थप सुदृढ गर्ने उद्देश्यले काठमाडौं तथा ग्रान्डी भिल्लाका करिब १५ जना अगुवा उपभोक्ताले पाँचखालमा उत्पादन भइरहेका सेमी–अर्गानिक तरकारीको स्थलगत निरीक्षण गरेका छन्।

लवग्रीन नेपालका कार्यकारी निर्देशक नारायण ज्ञवालीको नेतृत्वमा भएको अवलोकनअघि पाँचखालस्थित संस्थाको प्रधान कार्यालयमा अन्तरक्रिया गरिएको थियो। कार्यक्रममा ज्ञवालीले संस्थाको उद्देश्य, कृषकसँगको सहकार्य र हालसम्मका उपलब्धिबारे जानकारी दिनुभएको थियो।

पाँचखाल नगरपालिका–६ का वडाध्यक्ष रामशरण दुलालले पाँचखालको तरकारी उत्पादनको अवस्था, विषादी प्रयोग न्यूनीकरण तथा स्वच्छ उत्पादनका लागि भइरहेका प्रयासबारे जानकारी दिनुभयो। उहाँका अनुसार वडा नं. ६ मा आईपीएम कृषक पाठशाला तथा लवग्रीन नेपालको प्राविधिक सहयोगमा २० भन्दा बढी कृषक समूह स्वच्छ तरकारी उत्पादनमा सक्रिय छन्।

उपभोक्ताहरूले पाँचखालको तरकारी लामो समयसम्म ताजा रहने, स्वाद राम्रो हुने तथा उत्पादनस्थलबाट प्रत्यक्ष आपूर्ति हुँदा तुलनात्मक रूपमा सस्तो पर्ने अनुभव सुनाएका छन्। ग्रान्डी भिल्लाका उपभोक्ताहरूले मागअनुसार आपूर्ति बढाउनसमेत आग्रह गरेका छन्।

कृषकहरूले गाईको गहुँत, तितेपाती, निमका पात, भर्मी कम्पोस्टलगायत स्थानीय स्रोतमा आधारित जैविक पदार्थ तथा पहेँलो स्टिकी ट्र्यापजस्ता प्रविधि प्रयोग गर्दै आएको बताइएको छ।

वडाध्यक्ष दुलालले उत्पादन लागत र श्रमअनुसार उचित मूल्य नपाउँदा किसान निराश हुने गरेको भन्दै कृषि क्षेत्रमा राज्यको थप ध्यान आवश्यक रहेको बताउनुभयो। उहाँले पाँचखालको तरकारीलाई आफ्नै ब्रान्ड र लोगोमार्फत गुणस्तर मापन गरी अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने प्रयास भइरहेको जानकारीसमेत दिनुभयो।

उत्पादनस्थलमै पुगेर उपभोक्ताले किसानसँग प्रत्यक्ष संवाद र उत्पादन प्रक्रिया बुझ्ने अभ्यासले उत्पादक र उपभोक्ताबीचको दूरी घटाउनुका साथै किसानका लागि बजार सुनिश्चित गर्न र उपभोक्तालाई गुणस्तरीय तरकारी उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।