logo
२०८३ आश्विन ६, मंगलबार |
📰
🔍

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, बागमतीमा उच्च सतर्कता अपनाउन आग्रह

प्रभातफेरी अनलाइन१२ पटक पढिएको | ५७ मिनेट अघि
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, बागमतीमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ / बागमती प्रदेशमा असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन प्रदेश सरकारले नागरिकलाई आग्रह गरेको छ।

आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा हुनसक्ने भएकाले आवश्यक सावधानी र पूर्वतयारी अपनाउन अनुरोध गरेको हो।

भारी वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढ्नुका साथै आकस्मिक बाढी, पहिरो र डुबानको जोखिम रहेको मन्त्रालयले जनाएको छ। सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले यात्रा गर्नुअघि मौसम र सडकको अवस्था बुझ्न आग्रह गरिएको छ।

नदी तथा खोला किनार, पहिरो जोखिमयुक्त क्षेत्र, भिरालो जमिन र डुबान सम्भावित स्थानका बासिन्दालाई विशेष सतर्क रहन तथा जोखिमको संकेत देखिए सुरक्षित स्थानमा जान मन्त्रालयले अनुरोध गरेको छ।

अत्यावश्यकबाहेक लामो दूरी तथा रातिको यात्रा नगर्न, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती तथा बिरामीको सुरक्षामा विशेष ध्यान दिन पनि आग्रह गरिएको छ।

मन्त्रालयले ११५५, विपद् सहायता १२३४, नेपाल प्रहरी १००, सशस्त्र प्रहरी १११४ तथा विपद् सम्पर्क व्यक्ति ९७६९७६१२१४ मा आवश्यक जानकारी वा सहायता लिन सकिने जनाएको छ।