प्रभातफेरी अनलाइन८ पटक पढिएको | १ घण्टा अघि
काठमाडौँ / प्रतिनिधिसभा सदस्य रचना खतिवडाले आफू राजनीतिक रहर वा पदको लालचले सांसद बन्न नआएको बताएकी छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफ्नो छोरासहित जेनजी आन्दोलनमा ज्यान गुमाएका युवाका परिवारले न्याय पाउनुपर्ने विषयमा सरकारलाई निरन्तर खबरदारी गर्न आफू संसदमा आएको बताइन्।
खतिवडाले जेनजी सहिदहरूले पूर्ण न्याय पाएको दिन आफू सांसद पदबाट राजीनामा दिन एक सेकेन्ड पनि हिचकिचाहट नगर्ने बताइन्। उनले आफ्नो संसद प्रवेशलाई न्याय खोज्ने यात्राका रूपमा व्याख्या गरिन्।
सामान्य नागरिकलाई उचालेर आपसमा लडाउने वा ‘मेडिकल माफिया’ बन्न आफू राजनीतिमा नआएको बताउँदै उनले सहिद परिवारको न्याय र भविष्यमा यस्ता घटना दोहोरिन नदिन सरकारलाई खबरदारी गरिरहने बताइन्।
उनले जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गर्न, घाइतेहरूको आवश्यकताअनुसार देश वा विदेशमा निःशुल्क उपचारको व्यवस्था गर्न तथा सहिद परिवारले चित्त बुझाउने गरी काम गर्न सरकारसँग माग गरिन्।