logo
२०८३ आश्विन १०, शनिबार |
☰
📰
🔍
✕

विदुरमा एक महिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै, भौतिक तथा आर्थिक सहयोगको अपिल

प्रभातफेरी अनलाइन२३ पटक पढिएको | २०८३ आश्विन १०, शनिबार
विदुरमा एक महिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै, भौतिक तथा आर्थिक सहयोगको अपिल

नुवाकोट / लायन्स इन्टरनेशनलको आयोजना तथा विदुर नगरपालिकाको समन्वयमा विदुर–४ बट्टारस्थित घण्टाघर शहरी स्वास्थ्य केन्द्रमा एक महिने नियमित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ।

जिल्ला अस्पताल त्रिशूली नदीपारि रहेकाले नदीवारिका नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आगामी असोज १४ गतेदेखि शिविर सञ्चालन गर्न लागिएको हो। स्वास्थ्य केन्द्रको खाली स्थानमा ल्याब तथा क्लिनिक सञ्चालनको तयारी भइरहेको र भविष्यमा उक्त केन्द्रलाई सामुदायिक अस्पतालका रूपमा विकास गर्ने योजनासहित काम अघि बढाइएको आयोजकले जनाएको छ।

शिविरको पहिलो दिन लायन्स क्लब अफ काठमाडौं लर्ड बुद्धको सक्रियतामा सशस्त्र प्रहरी बलका चिकित्सकमार्फत स्वास्थ्य सेवा प्रदान गर्ने तयारी गरिएको छ। आयोजकले क्लबका अध्यक्ष लायन सुरेश भण्डारी तथा सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नर लायन विष्णु भण्डारीप्रति आभार व्यक्त गरेको छ।

एक महिनासम्म शिविरलाई निरन्तरता दिन स्वयंसेवी चिकित्सक तथा स्वास्थ्यकर्मीको व्यवस्थापन, चिकित्सक, स्वयंसेवक तथा आयोजक परिवारका लागि खाना–खाजाको व्यवस्था, स्वास्थ्य उपकरण तथा औषधि उपलब्ध गराउन सहयोगको अपिल गरिएको छ।

त्यस्तै, शहरी स्वास्थ्य केन्द्रको खाली स्थान उपयोग गरी शिविर सञ्चालन गर्नुपर्ने भएकाले विद्युत्, पानी, टेबल–कुर्सी तथा स्वास्थ्य जाँचका लागि आवश्यक फर्निचर व्यवस्थापनमा समेत सहयोग आवश्यक रहेको जिल्ला सचिव लायन अनुजकुमार श्रेष्ठले जानकारी दिनुभयो।

शिविरमा सहयोग गर्न इच्छुक शुभेच्छुक तथा संघसंस्थालाई असोज १४ गतेपछि आफूले स्वास्थ्य शिविर सञ्चालन गर्न सक्ने दिन निश्चित गरी आयोजकलाई जानकारी गराउन आग्रह गरिएको छ।