प्रभातफेरी अनलाइन६ पटक पढिएको | २०८३ आश्विन १९, सोमबार
काठमाडौं / नेपालीहरूको महान् चाड दशैं, तिहार तथा छठ पर्वको पूर्वसन्ध्यामा मधेशी एकता समाज, यूएई ले शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरेको छ।
दुबईस्थित जबिल पार्कमा आयोजित कार्यक्रममा समाजका यूएई च्याप्टरका पदाधिकारी तथा सदस्यहरूले आगामी चाडपर्वको शुभकामना आदान–प्रदान गर्नुका साथै सामाजिक तथा संस्थागत गतिविधिबारे छलफल गरेका थिए।
कार्यक्रममा मातृभूमि नेपालका रसुवा र नुवाकोटमा भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै शोक तथा समवेदना प्रकट गरिएको थियो। साथै, समाजको अन्तर्राष्ट्रिय समितिको पहल तथा संयोजनमा तराई–मधेशका विभिन्न जिल्लाका बाढीपीडितका लागि भइरहेको राहत वितरणबारे पनि समीक्षा गरिएको थियो।
कार्यक्रममा समाजका अन्तर्राष्ट्रिय समिति संयोजक डा. रविन्द्र कुमार यादव ले संस्थाको उद्देश्य, हालसम्म समाजका विभिन्न व्यक्तिलाई प्रदान गर्दै आएको सहयोग तथा आगामी दिनमा संस्थालाई अझ सशक्त र प्रभावकारी बनाउने योजनाबारे धारणा राख्नुभयो। उहाँले एकता, सहकार्य, आपसी सहयोग र सामाजिक उत्तरदायित्वलाई संस्थाको मुख्य आधार बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा यूएई शाखाका पूर्व अध्यक्ष धर्मेन्द्र गोहिबार, निवर्तमान अध्यक्ष रोशन देव, वर्तमान अध्यक्ष शैलेन्द्र यादव तथा संस्थापक सदस्यहरू लालबाबु र तनवीर आलम लगायत पदाधिकारी तथा सदस्यहरूले आफ्ना धारणा राख्नुभएको थियो।
यसैबीच, संस्थाको आगामी गतिविधिलाई थप व्यवस्थित, सक्रिय र प्रभावकारी बनाउने उद्देश्यले आदित्य कुमार अटललाई मधेशी एकता समाज यूएई शाखाको महासचिवको जिम्मेवारी सर्वसम्मत रूपमा प्रदान गरिएको महासचिव अटलले जानकारी दिनुभयो।