प्रभातफेरी अनलाइन२६ पटक पढिएको | मंसिर २, २०८३ | बुधबार
काभ्रे / काभ्रे जिल्लाको ब्यापारी नगरी बनेपा स्थित शीर मेमोरियल अस्पतालमा समाजसेवी राजभाइ प्रधानको व्यक्तिगत लगानीमा निर्माण गरिएको बहिरंग विभाग (ओपिडी) को नवनिर्मित भवन उद्घाटन गरिएको छ। बुधबार बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले एक कार्यक्रमबीच भवनको उद्घाटन गरेका हुन्।

भवन निर्माणको काम २०८१ साल कात्तिक २१ गतेदेखि सुरु गरिएको थियो। अस्पतालमा बहिरंग तथा अन्तरंग सेवा सञ्चालनका लागि आवश्यक कोठाको अभाव हुँदा सेवा विस्तारमा कठिनाइ हुँदै आएको थियो। अस्पतालको उक्त समस्या समाधान गर्दै स्वास्थ्य सेवा विस्तारमा सहयोग पुऱ्याउने उद्देश्यले प्रधानले भवन निर्माण गरिदिएका हुन्।
नवनिर्मित भवन सञ्चालनमा आएपछि अस्पतालको बहिरंग तथा अन्तरंग सेवा विस्तार गर्न सहज हुने र बिरामीलाई थप गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
उद्घाटन कार्यक्रमलाई सहयोग दाता राजभाई प्रधानले सम्बोधन गर्दै म भाषणमा होइन काममा बिश्वास गर्छु भन्दै
“म कुनै उद्योगपति वा धनाढ्य होइन । तर जन्मिएपछि समाजका लागि केही योगदान गर्नुपर्छ भन्ने सोचले अस्पतालको सेवा विस्तारमा सहयोग गरेको हुँ,’ दाता प्रधानको छोटो प्रतिक्रिया थियो ।
उहाँले भवन निर्माणका लागि झण्डै १० वर्षअघि नै पहल थालेका थिए। नक्सा निर्माण, नक्सा पासलगायतका प्रक्रियाका कारण निर्माण सुरु गर्न केही ढिलाइ भए पनि आफू जन्मिएको ठाउँमा केही योगदान गर्न पाएकोमा खुसी लागेको उहाँले बताउनुभयो । दानस्वरूप निर्माण गरिएको भवनको लागत भने दाता प्रधानले सार्वजनिक गर्न चाहनु भएन ।

बनेपामा स्थायी घर भएका प्रधान हाल ललितपुरको बागडोलमा बस्दै आउनुभएको छ । उहाँले शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवाका क्षेत्रमा समेत विभिन्न सहयोग गर्दै आउनुभएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पाटन अस्पतालसहित कोटेश्वर, कुलेश्वरलगायतका क्षेत्रमा पनि उहाँले सामाजिक कार्यमा सहयोग पुऱ्याउँदै आएको सहयात्री एवं सहपाठी वरिष्ठ साहित्यकार मोहन दुवाल सार्वजनिक गर्नु भएको छ ।
अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. एन्जला बस्नेतको सभापतित्वमा सम्पन्न भवन उद्घाटन कार्यक्रममा संघीय सांसद बदन भण्डारी, बागमती प्रदेशसभा सदस्य कञ्चनचन्द्र बादे श्रेष्ठ, लक्ष्मण लम्साल र रत्न ढकाल, जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपक गौतम, बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य, मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइबा, रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा, बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी, महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा, खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ तथा भुम्लु गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर भुजेललगायतको उपस्थिति रहेको थियो।

त्यसैगरी नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका अध्यक्ष विनोदकुमार न्यौपाने, बनेपा-५ का वडाध्यक्ष बलराम अधिकारीसहित विभिन्न वडाका वडाध्यक्षहरू, वरिष्ठ साहित्यकार मोहन दुवाल, मानवअधिकारकर्मी एवं अन्तर्राष्ट्रिय प्रशिक्षक सामाजिक अभियन्ता राजु सरकारलगायतको पनि सम्बोधन गर्नु भएको छ ।