प्रभातफेरी अनलाइन२ पटक पढिएको | मंसिर ६, २०८३ | आईतबार
बायाँ : जनमुक्ति सेनाकी पूर्व कमान्डर तथा 'युद्ध लडेँ, क्यान्सर जितेँ' की लेखक लिला शर्मा 'अस्मिता'। दायाँ : हवाईजहाजमा अस्मिताद्वारा लिखित किताब पढ्दै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'।
काठमाडौं । हवाईजहाजभित्रको एउटा तस्बिरले आज सामाजिक सञ्जाल तरङ्गित भएको छ। यी दुई संसारबीचको आत्मीयताका बारेमा विभिन्न अड्कलबाजी भएका छन्।
बायाँतर्फ हिमालको काखमा मुस्कुराउँदै बसेकी छिन्– जनमुक्ति सेनाकी पूर्व कमान्डर लिला शर्मा ‘अस्मिता’।
दायाँतर्फ जहाजको झ्यालछेउमा किताबमा डुब्न पुग्नुभएको छ– पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’।
र लेखक तथा दुवैलाई जोड्ने सेतु बनेको छ एउटा किताब– “युद्ध लडेँ, क्यान्सर जितेँ”।
प्रचण्डले हवाईजहाजमा अस्मिताकै आत्मवृत्तान्त पढिरहेको तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा हलचल मच्चियो। यो दृश्य देखेर सबैभन्दा पहिले भावुक कोही बन्यो त उही आत्मवृत्तान्तकी लेखक स्वयं अस्मिता बनिन्।
“सलाम छ, कमरेड!”
अस्मिताले फेसबुकमा लेख्नुभएको छ।
“यो दृश्यले मन निकै उद्वेलित बनायो। मन धेरै उफ्रियो। यो किताब लेखिनु, उतारचढावपूर्ण जीवन जिउने सिलसिलाका हकदार त्यो आकृति हो। उतारचढावपूर्ण जीवनयात्रा जिउने क्रममा त्यस आकृतिले निर्वाह गरेको भूमिकाको सम्मान पनि हो।”
उहाँले अगाडि लेख्नुभएको छ, “जवानीमा क्यान्सरले थलिँदा मलम लगाउने पनि यही आकृति हो। सलाम छ, कमरेड!”
योद्धा अस्मिता जनयुद्धमा प्रचण्डकै कमान्डमा लडेकी योद्धा हुन्। पछि जवानीमै उहाँलाई क्यान्सरले थलायो। त्यो लडाइँ जितेपछि उहाँले आफ्नो भोगाइलाई किताबमा उतार्नुभएको हो।
अस्मिताले लेख्नुभएको छ, “भलै यो किताब मेरो हिसाबले लेखिएको छ। बुझाइ र भोगाइ आफ्नो हुन्छ। तर यसको शब्दसज्जा र भावनात्मक प्रस्तुतिमा त्यो दिन मनभरि भेटिनेछ। आशा छ, मेरो कमान्डरले यो किताबलाई आत्मीयतापूर्वक अपनत्व प्रदान गर्नुहुनेछ।” भनी उल्लेख गर्नुभएको छ।
यहाँ किताबको सार ले भनेको छ :
“युद्ध लडेँ, क्यान्सर जितेँ” जनयुद्धको फ्रन्टलाइनदेखि अस्पतालको बेडसम्मको संघर्षको कथा हो। एउटी महिला योद्धाले दुईवटा युद्ध कसरी जितिन् भन्ने दस्तावेजले बोलेको यथार्थ पस्केको पाइन्छ।
हवाईजहाजको त्यो सानो फ्रेमले राजनीति, युद्ध र स्वास्थ्य तीनैको घाउ र मलम एकै ठाउँमा देखाइदियो।