नेपाल बहुधार्मिक देश हो । यहाँ हिन्दू, मुस्लीम, इसाई आदि धर्मको प्रचार–प्रसार परापूर्वकालदेखि नै भैरहेको छ । आ–आफ्ना धर्मले निर्देशित गरेका नियमहरु अनुसार धर्मको सम्मान र अवलम्बन गर्नु प्रत्येक धर्मावलम्बीहरुको कर्तव्य हुन जान्छ । चोरी नगर्नू, हत्या हिँसाको भावनाबाट टाढा रहनु, लोभ नगर्नु, सत्य बोल्नु, सबै जीवजन्तुलाई दयाको भावना राख्नु यी सबै धर्मका आधारभूत नियम हुन् । धर्मको लक्ष्य भनेको शान्त, सभ्य, सुखी, सम्बृद्ध समाजको निर्माण गर्नु हो । धर्मले मानिसलाई सदाचारी, सद्गुणी, अनुशासित, नैतिकवान्, परोपकारी, आदि बनाउँदछ । वास्तवमा धर्मले व्यक्तिहरुलाई समूहमा एकीकरण गर्ने कुरामा, अनिश्चिित अवस्थाहरुमा जुध्ने कुरामा , उराठ र निराश क्षणहरुमा ढाडस दिने कुरामा, सामाजिक लक्ष्य प्राप्ति प्रति मानिसलाई जागरुक बनाउने कुरामा, आत्मबल बढाउने कुरामा, मानिसहरुलाई त एकतामा बाँध्ने कुरामा र मानिसहरुलाई परस्परमा एकीएकरण गर्ने क्रममा अन्तर्निहित रहेको पाइन्छ । जसले गर्दा मानिस मानिसबीचमा सद्भाव र परस्पारिकताका बिश्वास कायम गर्दछ । साथै एक अर्कामा सहिष्णु पनि बनाउँदछ । धर्मले सामाजिक व्यबहारलाई नियन्त्रण गर्दछ । धर्मले मानिसहरुबीचमा सामाजिक एकता कायम राख्दछ । जुनसुकै अशान्तमा परेको व्यक्ति मुक्ति र शान्ति पाउन धर्मको सहायता लिन्छ । प्र्रार्थना, पूजा, ध्यान, आदि गर्दा मानिसले शान्ति र शक्ति प्राप्त गरेको महसुस गर्दछ । यसले उसको आत्माविश्वासलाई बृद्धि गराउँदछ । धर्ममा प्रवचन, भजन, नाचगान, धार्मिक नाटक आदि प्रर्दशन हुने हुँदा त्यस्ता कार्यले मानिसमा अन्तरनिहित सिर्जनशीलतामा अभिबृद्धि हुन्छ । त्यसैले धर्म सभ्य समाज र व्यक्तित्व निर्माणको लागि नभई नहुने एक आवश्यक तत्व हो भन्न सकिन्छ । शाब्दिक रुपमा धर्मको अर्थ खोज्ने हो भने नेपाली भाषामा प्रयोग हुने ‘धर्म’ शब्द संस्कृतको ‘धृ’ धातुबाट बनेको देखिन्छ । संस्कृतमा ‘धृ’ को अर्थ ‘ईश्वरसित नजिक तुल्याउनु’ भन्ने हुन्छ । यस अर्थमा सद्गति प्राप्तिका लागि प्रयोग गरिने कार्य नै धर्म हो ।
कार्ल माक्सले धर्मलाई जनता शोषण गर्ने एउटा माध्ययम मात्र हो भनेका छन भने अरु समाजशास्त्रीहरुले भने धर्म सामाजिक व्यवस्थाको निरन्तरताको लागि आवश्यक तत्वकारुपमा लिएका छन् । उनका अनुसार धर्मको उत्पत्ति र अस्तीत्व शासन र सत्तासित जोडिएको हुन्छ । यसले शासकहरुको शासन सत्ता टिकाइ राख्न सहयोग गर्दछ । धर्मले नै सामाजिक स्तरीकरण र असमानताको सृजना गराउने र असमान वर्गवीच सधै द्वन्द्व हुने हुनाले धर्मलाई द्वन्द्व सृजना गर्ने तत्वका रुपमा लिएका छन् ।
प्रसिद्ध समाजशास्त्री ओग्वर्न भन्दछन्–“धर्म दैविशक्ति माथिको विश्वास हो ।” धर्म विश्वासको व्यवस्थाका साथै कार्यप्रणालीको स्वरुप र व्यक्तिगत अनुभवका घटनाक्रम हो । वास्तवमा कतिपय सामाजिक कार्यहरु एकजुट भई गर्न धर्मले नै अभिप्रेरित गर्दछ । एउटै धर्म मान्नेहरुका बीचमा त अझ संस्कारगत र सामाजिक एकता बलियो हुन्छ । धर्मले सामाजिक मूलय मान्यताहरु, व्यवहारहरु, प्रचलन, उत्पादन ढाँचा, कानून आपदलाई एकीकृत गरि सामाजिक एकता सुदृढ गराउदछ । यसबाट के बुझिन्छ भने धर्म भनेको अलौकिक शक्तिप्रतिको मानिसको विश्वास हो अर्थात समर्पण हो । जसले गर्दा मानिसलाई परस्परमा गाँस्ने काम गर्दछ र अन्तरसम्बन्धित बनाईदिन्छ ।
राजनीति भनेको सरकार, राजनैतिक दलहरु र तीनका भातृ संगठनलाई बुझिन्छ । यसले निर्वाचनमा भाग हुने, सरकार निर्माण र सञ्चालन प्रक्रियालाई बुझाउँछ । यसले राष्ट्र तहको नीति निर्माण प्रक्रियालाई ईंकित गर्दछ । राजनैतिक सुझबुझ, सम्बन्धहरु, राजनैतिक सहभागीता, निर्णय प्रक्रियामा दलहरुको भूमिकाको स्थितिलाई नै राजनीति भन्न सकिन्छ । नेतृत्व दिने, निर्णय प्रक्रियामा पुग्न तथा राष्ट्रलाई नियन्त्रण गर्ने सन्दर्भमा के कस्ता जात, वर्ग, लिंग, तथा समूहका मानिसहरुको स्थिति के कस्तो छ भन्ने बारेमा राजनैतिक चेतना र राजनैतिक संगठनहरुका विविध पक्षहरुलाई राजनिति भनिन्छ । राजनीतिलाई एउटा संस्थाको रुपमा पनि लिन सकिन्छ । किनकी यसमा कार्य प्रणालीको तरिका हुन्छ । राजनैतिक सहभागीताको स्थिति, राजनैतिक आर्दश, मताधिकारको प्रयोग र व्यवहार, राजनीतिमा महिला, पुरुष, वर्ग, तह, सम्प्रदाय आदिको संलग्नता, कानूनी व्यवहार, राजनैतिक दल छनौटका प्रक्रिया लगायतका विविध पक्षहरुको विश्लेषण गर्नुपदर्छ ।
कुनै पनि समाजको सर्वाङगीण बिकासमा राजनीतिको महत्वपूर्ण भूमिका हुन्छ । त्यसैले राजनीतिको गलत प्रभाव परेमा समाज पछाडि पर्ने र रुपान्तरण हुन नसक्ने हुन्छ । राजनीतिले देश र जनताको लागि दीर्घकालीन सोच राख्न नसक्दा, दलियतामा रुमलिँदा, सबै विचारहरुलाई स्थान दिन नसक्दा, राजनीतिमा जातिवाद, सम्प्रदायवाद जस्ता संकिर्ण सोचलाई त्याग्न नसक्दा , निर्णय प्रक्रियामा तीे देश प्रगति र रुपान्तरण हुन सकेको छैन । जे जस्तो प्रकारको राजनैतिक चिन्तन र व्यबस्था देशमा हुन्छ त्यसै अनुरुपको बिकासको प्रक्रिया अघि बढ्छ ।
राजनीतिले समाजको समग्र बिकासको लागि दीर्घकालीन सोच र जन चाहना अनुसारको नीति निर्माण गर्दछ । जनमत अनसार सञ्चालन हुन सके स्वाधीन र समावेशी राष्ट्रको संस्थागत बिकास हुन सक्दछ । राजनैतिक दलहरुका जागरण अभियान, राजनैतिक प्रशिक्षण, जनपरिचालन आदि कार्य मार्फत राष्ट्र निर्णय र नीति निर्माण प्रक्रियामा जनमत तयार हुन्छ । राजनैतिक समावेशी, लोकतान्त्रिक तथा जनउत्तरदायी भएमा राष्ट्रको रुपान्तरण तथा आमूल परिवर्तन हुन सक्छ । यस व्यवस्थाबाट नै नेतृत्व चयन र चयन गरेको नेतृत्वले राष्ट्रको प्रत्येक आर्थिक, राजनैतिक कार्य गर्नका लागि नीति, योजना र कार्यक्रम बनाउने र त्यसको कार्यन्वयनमा महत्वपूर्ण योगदान वा भूमिका निर्वाह गर्ने हुनाले राष्ट्रको बिकासमा महत्वपूर्ण योगदान पुग्दछ ।
वर्तमान नेपालको राजनीति विचित्र, दुःखद र हास्यास्पद छ । मुख्य तीन दल जो नेतृत्व तहमा पुगेका छन् । तिनीहरुको दैनिक कार्यबाट यो प्रष्ट हुन्छ कि नेपालका नेताहरुमा असल राजनेतामा हुनु पर्ने गुण र विशेषताको कमि रहेको छ । नेपालको राजनीति केवल पद र प्रतिष्ठाको राजनीति मात्र हो भन्नमा नेपाली जनताहरुलाई शंका नहोला । सबैभन्दा ठूलो राजनैतिक पार्टीको रुपमा संविधासभाको चुनावबाट विजय भएको एकीकृत नेकपा माओवादीमा वर्तमान अवस्थामा देखिएको फुटका कारण दुई अलगधार भएका छन् । माओवादी पार्टीमा मात्र नभएर मुलुका अन्य राजनैतिक दल नेपाली काँग्रेस नेकपा एमाले र मधेशी दलहरुमा पनि यो रोग रहेको कुरा घाम जस्तै छर्लङ्ग भएको छ । अब कुरा गरौँ नेपाली काँग्रेसको । यस पार्टी पनि जति नै लोकतन्त्रको भजन गरे पनि पार्टी भित्रको विवादका कारण औपचारिक रुपमा दुईधार नभए तापनि उनीहरुको व्यवहारका कारण पार्टी फुट्न सक्ने संकेत देखिएको छ । हुन त यो रोग नयाँ भने होइन । जननायक विपि कोइरालाको नेतृत्वकालमा पनि यस्तो रोग लागेको थियो । पार्टीभित्र गुट उपगुट थियो तर आजको जस्तो अवस्था भने आएको थिएन् । नेपाली राजनीतिका शिखर पुरुष एवं लोकतन्त्रवादी नेता गिरिजाप्रसाद कोइराला र वरिष्ठ प्रजातन्त्रवादी नेता एवं सन्तनेता कृष्णप्रसाद भट्टराईको राजनैतिक सम्बन्धमा फाटो आएको थियो । वर्तमान अवस्थामा हेर्ने हो भने सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवाको भातृ संगठनको विभाजनलाई लिएर ठूलो विवाद चलिरहेको छ । उनीहरुको खिचातानीका कारण पार्टीको दुराअवस्था भएको हो । यस्तै अवस्थामा रही रहने हो भने, नेताहरु नसच्चिने हो भने प्रजातन्त्रवादी जनताहरु निराश त हुने नै भए लोकतान्त्रिक शक्ति पनि छिन्नभिन्न हुने अवस्था आउन सक्छ । यति हुनुभन्दा पहिला शीर्षनेतामा मूल असन्तुष्टिका कारणहरु पत्ता लगाई गम्भीर छलफल हुनु अति नै आवश्यक छ । यी नेताहरुका कारण लोकतन्त्र र काँग्रेसको सिद्धान्त बोकेर हिड्ने जनता निराश भएका छन् । प्रत्येक शुभ चिन्तकको मनमा एउटा शंकाले बलियो डेरा जमाएको अवस्था छ कतै नेपाली काँग्रेस फुट्ने त होइन । त्यसैगरी नेकपा कम्युनिष्ट पार्टीको अवस्था पनि कम छैन । यही साझा रोगले ग्रसीत भएको देखिन्छ यो दल । यस पार्टीमा पनि संस्थापन र असन्तुष्ट पक्षको राजनीति चलेको छ । तत्कालै अर्का असन्तुष्ट पक्षका नेताहरु नयाँ कम्युनिष्ट पार्टी खोल्ने तर्खर गरिरहेका छन् । पार्टीभित्रको यस्ता चरम विवाद आखिर कहिले सम्म चल्ने हो ? नेताहरुलाई देश र जनताभन्दा पनि कुर्सी र पद प्यारो भएको हो भने उनीहरुको ठूलो भुल हो यहि भुलका कारण देश कमजोर हुदैँछ । हाम्रो नेतृत्व वर्गमा रहेका नेताहरु समझदारीको भावना कम भएको हो त ? सहमति, सहकार्य र एकताको बाजा बजाउने काम त यिनीहरुले गरे तर यसको सैद्धान्तिक प्रयोग भने गर्न जानेन फलस्वरुप देशको यो अवस्था भएको छ । एउटै सिद्धान्त, मूल्य मान्तया बोकेर हिड्ने पार्टी किन दुई तीन समूहमा विभाजीत भइरहेका छन् । के यो सब गर्नु वर्तमान समयमा उचित छ छातीमा हात राखेर, देशको माटोलाई सम्झेर भनौँ । कमसे कम समान सिद्धान्तमा रहेका पार्टीका नेताहरु पद र प्रतिष्ठाको लोभमा नफसे देश र जनताको भलो हुने थियो ।
वास्तवमा धर्म भनेको व्यक्तिगत मामला हो । धर्मको संरक्षण गर्नु, धर्मको सम्मान गर्नु र धार्मिक मान्यता अनुरुप व्यवहार गर्नु त्यो धर्म मान्ने सम्प्रदाय तथा व्यक्तिको कर्तव्य हुन जान्छ । हरेक व्यक्तिले धर्मलाई आ–आफ्नै तरिकाले ग्रहण गर्न सक्तछ । धर्म र राजनीति भनेको नितान्त फरक विचार राख्ने तत्वहरु हुन् । यिनीहरुको आ–आफ्नै नीति निर्माण र विशेषता हुन्छन् । धर्मको कुरा लिएर राजनैतिक विवाद हुनु हुदैन र राजनीतिको भावनासंग धर्म गाँसिनु हुदैन । यदि यस्तो भयो भने आपसमा विवाद भई देश धर्मयुद्ध तथा गृह कलहमा होमिन पुग्दछ । राष्ट्रले सबै नागरिकहरुले धर्म मान्न पाउने अधिकार संविधानमा प्रष्टसंग उल्लेख गरिदिनुपर्छ । यी दुई पक्ष राष्ट्र विकासको लागि नभई नहुने तत्वहरु हुन् भन्ने कुरा बिर्सनु हुदैन । कुनै पनि धर्मको प्रभावमा राजनीति गर्नु राम्रो होइन । यसले अन्य धर्म मान्ने सम्प्रदाय, व्यक्ति, समूहको धर्म मान्न पाउने अधिकार कुण्ठित भई आत्मसम्मानका साथ बाँच्न सक्दैनन् । त्यसैले त आज नेपाल जन आन्दोलन २०६२–६३ पछि धर्म निरपेक्ष राष्ट्र घोषणा भएको छ ।
[email protected]
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |