— डा. सुरेशराज शर्मा
संस्थापक उपकुलपति ः काठमाडौं विश्वविद्यालय
यो हाम्रो सौभाग्य हो — नेपाललाई नयाँ स्वरूप दिन्छु भनेर जिम्मा लिनुभएका र जनताको मन जित्न उद्यत हुनुभएका प्रधानमन्त्री आज यस मञ्चमा विराजमान हुनुहुन्छ । २००७ सालमा नेपालका अर्थसचिव हुनुभएका र २०१३ सालमा नेपाल राष्ट्रबैङ्कको पहिलो गभर्नर हुँदै २० वर्षसम्म यूएनडीपी जस्तो खँदिलो संस्थाको अनुभव बटुली अहिले गैरसरकारी क्षेत्रलाई सबल बनाउन नेपालको उद्योग र बैङ्किङ क्षेत्रमा होमिनुभएका दिग्गज अर्थशास्त्री आज दीक्षान्त भाषण गर्दै हुनुहुन्छ । नेपालको ६–७ दशकको विकासको अनुभवले प्रस्ट्याएका कुराहरू आज दीक्षित हुने स्नातकहरूले सुन्न पाउनु र आउँदा २–३ दशकको हाँक र चुनौतीलाई अवसरमा बदल्ने मैदानमा उभिनुभएका प्रधानमन्त्रीज्यूका कुरा पनि काठमाडौँ विश्वविद्यालय र सम्बन्धनप्रदत्त कलेजबाट उपाधि पाई कर्मक्षेत्रतिर उत्रिन लागेकाहरूले थाहा पाउनु कति सार्थक कुरा हो, मैले भनिरहनुपर्दैन ।
म कति मात्र भन्न चाहन्छु भने आजको २१ वर्षपहिले आईएस्सी तहको स्तरीय शिक्षा दिने संरचनाबाट सुरु गरेको काठमाडौँ विश्वविद्यालयले विज्ञान–प्रविधि र शिक्षाशास्त्र विधामा पीएचडी गर्ने १२ जनालाई, चिकित्साविधामा सबभन्दा माथिका एमसीएच र डीएम जस्ता उपाधि २ जनालाई आज प्रदान गर्दैछ । उत्कृष्टताका लागि आज ४ जनाले स्वर्णपदक पाउँदैछन् र आज दीक्षित हुने ११३५ जनामध्ये १५ देशका ९३ जना अर्थात् कूल सङ्ख्याको ८.२ प्रतिशत विदेशी छन् । यहाँबाट पीएचडी गर्ने दुईजना, एमडी ÷ एमएस गर्ने ६३ जना, बीए इन बुद्धिस्ट स्टडिज र एमई इन इन्जिनियरिङ गर्ने ५ जना पनि विदेशी छात्रछात्रा छन् । उत्तीर्ण हुनेहरूमध्ये करिब ४३ प्रतिशत महिला हुनु २१ वर्ष मात्र उमेरको यस संस्थाका लागि अति गौरवको विषय हो । अझ गौरव त हामीलाई कुन कुरामा लाग्छ भने यीमध्ये सबैजसोले २–३ महिनाभित्रै काम पाइसक्ने स्तरको शिक्षा पाएका छन् । तीमध्ये धेरैले उच्च शिक्षा प्राप्त गर्न विदेशका राम्रा शिक्षण संस्थामा भर्ना पाउने धेरै सम्भावना पनि देखिसकेका छन् । आज डीएम र एमसीएच जस्ता स्वास्थ्यविधाका सबैभन्दा माथिल्लो उपािध तीनजनालाई दिन पाउनु, वातावरण विज्ञान, फार्मेसी र तथ्याङ्कशास्त्र जस्ता विज्ञानका विधा एवं शिक्षाशास्त्रमा पीएचडी उपाधि दुईजना विदेशी विद्यार्थीसमेतलाई दिन पाउने अवस्थामा पुग्नु हाम्रो सौभाग्यको कुरा हो । शिक्षाको अन्तर्राष्ट्रिय मानचित्रमा यति सम्मानित तहसम्म पुग्न पाउनु अत्यन्त गौरवको कुरा हो । यस्तो महàवको संस्थाको नेतृत्व हाँक्ने जिम्मा मुलुकको सर्वोच्च निकायबाट पाउनु, दातृसंस्था र दाताहरूको उदार सहयोग पाउनु र विदेशका प्रतिष्ठित संस्थाबाट पनि सहयोग पाउनु मेरा लागि कति सौभाग्यको कुरा होला, कल्पना गर्न सक्नुहुन्छ ।
आज दीक्षित हुने युवाहरूलाई म के भन्न चाहन्छु भने तपाईंहरूले यहाँ देखेका कुरा यही माटोमा सरकारको ठूलो सहयोग र विदेशमाथिको परनिर्भरताविना पनि सम्भव हुँदो रहेछ भनेर आफ्नै आँखाले प्रत्यक्ष देख्नुभएको छ । तपाईंहरूजस्तै युवाहरूले आफ्नो मुलुक बनाउने हो । विदेशीसित मागेर बस्नुभन्दा गरेर देखाउन सक्छौँ भन्ने हिम्मत लिने र त्यो सम्भव छ भनेर देख्ने र बुझ्ने पनि यही अवसर हो पनि भन्न चाहन्छु । भरखरै अमेरिकाबाट सीएनएन हिरो उपाधि पाउने पुष्पा बस्नेतले सन् २००९ मा बीएसडब्लू र सन् २०१० मा अर्ली चाइल्डहुल्ड एजुकेसनमा पोस्टग्राजुएट डिप्लोमा हाम्रै विश्वविद्यालयबाट पाएकी हुन् भन्न पाउँदा हामीलाई अति हर्षित तुल्याएको छ, त्यो पनि भन्न चाहन्छु ।
हाम्रा मित्रराष्ट्र चीन र भारतले कृषि क्षेत्रमा हरित क्रान्ति ल्याई खाद्यवस्तुको उत्पादन, कृषि शिक्षा, अनुसन्धान र सूचना–प्रविधिमा ठूलो क्रान्ति ल्याए र विकसित पश्चिमी मुलुकलाई पनि अचम्ममा पारिदिए । हाम्रोजस्तै मौसम, हाम्रोजस्तै प्राकृतिक साधन, हाम्रोजस्तै भौतिक पूर्वाधार र मानवीय संसाधनबाट पनि विकास सम्भव छ भन्ने कुरा तीन–चार दशकमै तिनीहरूले देखाउन सके । अझ जापान, कोरिया आदि मुलुकले त चार–पाँच दशकमा नै अझ उत्कृष्टता देखाए । हामीले पनि अब अरूसित आशा गर्नुभन्दा आफ्नै मस्तिष्क र आफ्नै हातसित आशा गर्नुपर्छ । हाम्रा सबै भौतिक पूर्वाधार आफ्नै तागतले सिर्जना गर्छौं, आफूलाई चाहिने ऊर्जा आफैँ निकाल्छौँ, आफूलाई आवश्यक खाद्यवस्तु, लत्ताकपडा र निर्माण–सामग्रीहरू पनि आफ्नै माटोमा उभ्याउँछौँ भन्ने सङ्कल्प हामीले गर्नुपरेको छ । यो कुरा मैले भनिरहनुपर्ने होइन, सबैजना बुझ्न सक्छौँ ।
नेपालको कठिन भौगोलिक बनोटले र बलौटो माटोले जमिनमाथिबाट मात्रभन्दा सुरुङबाट सडक र नहर बनाउने प्रविधि खोज्दैछ । त्यतातिर इन्जिनियरिङ शिक्षा उद्यत होस् । सूचना–प्रविधि, जलस्रोत र अन्य ऊर्जा उत्पादन प्रविधि, खाद्यवस्तु र औषधिजन्य वस्तु उत्पादन गर्ने कृषि–प्रविधि, स्तरीय स्वास्थ्यसेवा कुनाकुनासम्म पु¥याउने स्वाथ्यशिक्षातिर बेजोडसित लाग्ने सङ्कल्प हाम्रा आज उत्पादन हुने स्नातकहरूलगायत काठमाडौँ विश्वविद्यालयका स्नातकहरूबाट मुलुकले आशा गरेको छ ।
सरकार होस् वा अन्य व्यावसायिक लगानीकर्ता होस्, स्वदेशी लगानी होस् वा विदेशबाट सिधै गरिने लगानी होस्, यो ठाउँ तिनीहरूका लागि उर्वरा भूमि रहेको देखाउनुछ । नेपाली युवाले पनि मेरो रोजगारीको उत्तम अवसर यहीँ छ, मेरो राम्रो कर्मक्षेत्र यहीँ छ, मेरो भविष्य आफ्नै आँगन वा आफ्नै देशमा छ भनेर देखाउनुछ । प्रविधिमुखी शिक्षाले नै यस्ता कुराहरू दिन सक्छ । कलाकौशल, शान्तिप्रियता र बहादुरीबाट आफ्नो पहिचान बनाएका नेपालीले व्यवस्थापन, सिर्जना र शिक्षाशास्त्रको फाँटबाट पनि यस कुरालाई देखाउनुछ ।
हाम्रा अगाडि कृषि र ऊर्जा क्षेत्रको द्रुततर विकास, पर्यटन क्षेत्रको विकास, यातायात क्षेत्रको बलियो सन्जाल निर्माण आदिद्वारा युवा रोजगारीको समस्या समाधान गर्नुपर्ने डरलाग्दा चुनौतीहरू ठिङ्ग उभिएका छन् । यी समस्याको समाधान गर्न हामीमा आत्मविश्वास चाहिएको छ, अठोट चाहिएको छ, धैर्य चाहिएको छ र त्यो हामी आफैँसँग छ, अरूसित माग्नु वा खोज्नुपर्दैन ।
तर जानेर होस् वा नजानेर होस्, हामीले विगतमा केही बाटो बिराएका छौँ । नत्र नेपालमा कपडा उद्योग, कागज उद्योग, इँटा–टायल उद्योग, खानेतेल उद्योग बन्द हुने थिएनन् । चीज र बटर उद्योग, सिमेन्ट उद्योग, चिनी उद्योग र जुट उद्योग पनि आरालो लाग्ने थिएनन् । चिया, कफी, मसला, वनौषधि उत्पादनले फड्को मारिसक्थे होलान् । त्यस्तै कार्पेट, गार्मेन्ट, पस्मिना उद्योगले ओरालो लाग्नुपर्दैनथ्यो होला । यी सबै उद्योगबाट के पुरुष के महिला, के अर्धदक्ष, के दक्ष सबैले आफ्नै घरमा बसेर रोजगारी पाएका थिए ।
प्रधानमन्त्री र मन्त्रीज्यूलाई मेरो अनुरोध छ — हाम्रो प्रयासमा बलियो टेवा दिन मद्दत गरिदिनोस्, हामीले नेपालीको शिर ठाडो पार्न तपाईंहरू वा मुलुकलाई त्यति नै बलियो टेवा दिनेछौँ । आज संसार झनै प्रतिस्पद्र्धात्मक हुँदै गएको छ । परनिर्भरताको हाम्रो बाध्यताबाट नेपाल सकेसम्म चाँडै आत्मनिर्भरतामा पुग्नुछ । त्यो सम्भव छ तर सम्भव छ त्यस बेला जब चरित्र बोकेका, क्षमता बोकेका, राष्ट्रप्रेम र राष्ट्रियता बोकेका युवक जसले आफ्नो सीप, आफ्नो परिश्रम, आफूले हासिल गरेको ज्ञान र प्रविधिलाई एक रत्ति नोक्सानी भएको देख्न चाहँदैन, आफ्नै पौरखमा रमाउँछ, बाहिर पलायन हुन चाहँदैन, मागेर खान चाहँदैन, आफ्नो परिश्रम नपरेको कुरालाई छुनसमेत चाहँदैन । त्यस्तै बनाउन खोजेका छौँ । धेरै हदसम्म सकेका पनि छौँ । त्यो यहाँ उपस्थित विद्वत्जन, अभिभावकजन, उद्योगपतिहरूले पत्याइदिनोस् । म यही कुरा अनुरोध गर्दछु ।
(काठमाडौं विश्वविद्यालयको अठारौं दीक्षान्त समारोहको दोस्रो चरणको कार्यक्रममा व्यक्त गर्नुभएको स्वागत मन्तव्यको सम्पादित अंश)
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |