पनौती ÷ पनौती नगरपालिकाद्वारा एकीकृत खानेपानी आयोजनाबारे शुक्रबार गरेको छलफल तथा अन्तक्र्रिया कार्यक्रममा गोलमटोल योजना प्रस्तुत गरी पनौती नगरवासीहरुको हित विपरित योजना अनुमोदन गराउन खोजेको कारण देखाई छलफल कार्यक्रम पनौती नगरवासीले बहिष्कार गरेका छन् ।
काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना नागरिक सरोकार समाज पनौती गठन गरि समाजसेवी विश्वेश्वर बन्जारको संयोजकत्वमा एघार सदस्य समिति गठन गरी एघार सुत्रीय माग राखि छलफल कार्यक्रम बहिष्कार गरेका हुन् ।
खानेपानी आयोजनाका प्रमुख कोषनाथ अधिकारीले कार्यक्रमबारे जानकारी गराएपछि कन्सल्टेन्सीबाट खानेपानी आयोजनाको बारेमा जानकारी गराउन नसक्दा नगरवासीहरु आक्रोशित भई हलबाट कार्यक्रम बहिष्कार गरी बाहिरिएका थिए ।
सो नागरिक सरोकार समाजका सदस्यहरुमा चौकोट खानेपानी उपभोक्ता समितिका अध्यक्ष सन्तोष ढुंङ्गेल, काभ्रे सेवा समाजका अध्यक्ष प्रल्हाद के.सी, घट्टधनी संघ काभ्रेका उपाध्यक्ष राजेन्द्र के.सी., वित्त क्षेत्रबाट प्रदीप थापा, रोशीखोला स्थानिय सरोकार समितिका मधुसुदन गुरागाई, पूर्वप्रशासक चन्द्रबहादुर खड्का, अधिकारकर्मी प्रल्हाद शर्मा, खड्गी समाजका अध्यक्ष रामकृष्ण खड्गी, प्राज्ञ विरबहादुर थापा र टेलिभिजन रिपोर्टर एशोसियसन नेपालका अध्यक्ष भोला थापा रहेका छन् ।
छलफल बहिष्बार गरी एघार बुँदे ध्यान आकर्षण सहित चरणबद्ध आन्दोलन गरिने कुरा नागरिक सरोकार समाज पनौतीले जनाउँदै निम्न मागहरु राखेका छन् ः १) एकीकृत खानेपानी योजना संचालनको योजना अनुमोदन पूर्व तीन नगरपालिका बीच रहेको सिमा विवाद तत्काल समाधान गरियोस् । २) बनेपा र धुलिखेल नगरपालिका क्षेत्रमा पारिएको प्रदूषण लगायत अतिक्रमण तत्काल नियन्त्रण गरियोस् । ३) एकीकृत खानेपानी योजना अनुमोदन पूर्व नै तीनवटै नगरपालिकाका खानेपानी योजनाहरुलाई एकीकृत योजनामा समावेश गरियोस् । ४) पनौती नगरपालिकाका सबै घरधुरीमा खानेपानीको सुनिश्चितता गरियोस् । ५) लागत मुल्य निर्धारण पारदर्शी र पनौतीवासीको क्षमताको
आधारमा गरियोस् । ६) रोशीखोला सरोकार समाजसँग भएको सम्झौता तथा पनौती नगरवासीहरुलाई विभिन्न समयमा दिइएको आश्वासन अक्षरस लागू गरियोस् । ७) तीनवटै नगरका संरचना र खर्च पारदर्शीताका साथ पनौती नगरको अग्राधिकार स्थापित गरियोस् । ८) एडिबिसँग लिइने ऋण भुक्तानी बनेपा र धुलिखेल नगरबाट दायित्व स्विकार गरियोस् । ९) योजनामा प्रयोग हुने सामाग्रीमा शुरुमै गुणस्तरमा शंका भएकोले सोको गुणस्तर ग्यारेण्टी गरियोस् । १०) परामर्शदाता खर्च र व्यवस्थापन खर्च पारदर्शी गरियोस् । र ११) क्षेत्रफल तथा जनसंख्याको अवस्था र बढ्ने संख्याको वैज्ञानिक र तथ्यपूर्ण विवरण सहित योजनाको खाका नागरिक सभाबाट अनुमोदन गरि कार्यान्वयन गरियोस् ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |