Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ ३, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

आस्था झुकेको त्यो दिन

प्रभातफेरी अनलाइन ५०५० पटक पढिएको प्रकाशित मिति: २०७५ माघ २२, मंगलबार (७ साल अघि)
आस्था झुकेको त्यो दिन

विजय सापकोटा

अन्ततः यो घ्याङमा आएर मेरो आस्थाले घुँडा टेक्यो । बाहिर निस्कँदा मन शान्त र चङ्गा थियो । आस्था गुमाएर हो अथवा पाएको जिम्मेवारी सम्पन्न गरेकोमा त्यतिखेर विश्लेषण गरिबस्ने इच्छा थिएन मनभित्र । म ओशोले भनेझैँ खुसी नभएर आनन्दित थिएँ ।

तर म ओशोभक्त थिइन, न त कुनै धार्मिक सत्तालाई विश्वास गरिहिँड्थेँ । आस्तिकतालाई नकार्नु मेरो आस्था थियो । चाडपर्व, कर्मकाण्ड र अरुका धार्मिक आस्थालाई कटाक्ष गर्नु मेरो स्वभाव जस्तै थियो । यो त्यो बेला थियो जुनबेला म १८, १९ वर्षे जोशमा उग्रक्रान्तिकारी बन्ने आवेगले धप्प बलेको थिएँ । आफू हुर्किएको परिवेश, कम्युनिष्ट साहित्य र त्यसको बाटो देखाउने अग्रज दाजुहरुलाई पनि जितेर म बेग्लै बाटो हिँड्न उद्यत भइसकेको थिएँ । यद्यपि यसको छायामा कलिलो उमेरमा केही भावनाहरु पराजित हुनुको कारण पनि छँदै थियो । कम्युनिष्ट बन्नकै लागि आफूले त्योे उमेरमा लेखेका ठेलीका ठेली कविता, कथा र उपन्यास समेत जलाएर म आफ्नै दृष्टिमा खारिने तरखरमा थिएँ र सानैदेखि आदर्श मानिएका व्यक्तित्वहरुको चाहना विपरीत बाटो हिँड्न बलियो मानसिकताका साथ तयार भइसकेको थिएँ । यो बाटोमा अग्रसर हुँदै आफूलाई माया गर्नेहरु, साथीहरु र घरपरिवार समेतलाई मैले चिढ्याइसकेको थिएँ । सबैसित दूरी बढाएर पनि म नयाँ सम्बन्धहरु गाँस्न लालयित थिएँ ।

तर मेरा स्वभावगत केही भावुकता थिए । मलाई कविता मनपथ्र्यो, संगीत मनपथ्र्यो । बनजंगल, पहाड, हिमाल, नदीहरु मन पर्थे । तर मेरो स्वभावलाई मेरा क्रान्तिकारी साथीहरु ‘निम्नपूँजीवादी भावुकता’ भनेर आलोचना गर्ने गर्थे । कतिले त मलाई ‘उपभोक्तावादी चिन्तनले ग्रसित’ को आरोप पनि लगाउँथे र निनु चापागाईँ अनि चैतन्यहरुका सौन्दर्यचिन्तनसम्बन्धी किताबहरु पढ्न सुझाउँथे । मैले माक्र्स, लेनिन, माओ, स्टालिन घोटिएरै पढेँ । नेपाली र हिन्दीमा उपलब्ध रसियन र चिनीयाँ साहित्य भेटेसम्म पढेँ । पार्टी नेताहरुका लामा न लामा अस्पष्ट अनि तर्कविहीन लेखहरुलाई समेत चिनु लगाई लगाई पनि पढेँ । तर खै कसैगरी पनि साथीहरुले भनेजस्तो कडा क्रान्तिकारी बन्न सकिनँ । म उनीहरुले तयार गरेको क्रान्तिकारिताको मापदण्डमा उनीहरुलाई नै तौलिएर हेर्दा उनीहरुमा एउटा पनि त्यो गुण देख्दिनथेँ । तैपनि असली कम्युनिष्ट बन्ने मोह यति धेरै थियो कि म आफैँलाई कम्युनिष्ट साँचोमा ढाल्ने हरसम्भव प्रयत्न गरिरहेको थिएँ ।

एकदिन मलाई गोसाइँकुण्ड घुम्न जान मन लाग्यो । एक्लै जाने कुरा आएन, साथीहरुलाई प्रस्ताव गरेँ । मलाई गोसाइँकुण्ड कुनै पुण्य प्राप्तिका लागि जानु थिएन । हिमाली भेगतिर कहिल्यै नगएकोले सबैभन्दा नजिकको गन्तव्य छानेको थिएँ मैले । तर त्यसले ठूलै बवण्डर सिर्जना ग¥यो । साथीहरुले मान्ने कुरै थिएन, उल्टो म अब निम्नपूँजीवादीबाट सामन्तवादतिर प्रतिगमन हुने खतरालाई पो बढायो ।

तैपनि मलाई त्यहाँसम्म पुग्न मनथियो । गाउँकै बुढापाका र केही दाइहरुसित जनैपूर्णिमाको समय पारेर मैले त्यहाँको यात्रा तय गरेँ । यद्यपि आफ्नो विचारभिन्न मानिसहरुसित लामो यात्रा हिँड्नु मेरा निम्ति कठिन थियो, यात्रा बोझिलो बन्दै पनि थियो । वास्तवमा म आफ्नो विचारप्रति अति इमान्दार बन्ने प्रयास गरिरहेको थिएँ । ममा आफूले राखेको आस्थामा टिकिरहने छु भन्नेमा आत्मविश्वास मात्रै थिएन, त्यसलाई जीवनशैली बनाउन पनि हरसम्भव प्रयत्न गरिरहेको थिएँ । त्यसैले मलाई आफूले राखेको विचारप्रति बलियो आस्था थियो ।
तर यति दुःख गरी बोकेको मेरो आस्थाको जग मैले सोचेजस्तो बलियो रहेनछ ।

त्यो त यति कमजोर रहेछ कि कसैको आँसुका केही थोपाले नै त्यसलाई बगाएर हुत्याउनसक्ने रहेछन् । त्यो मैले गोसाइँकुण्डको यात्रामा थाहा पाएँ । सायद त्यो ५५ सालतिरको कुरा थियो । रातको खाना खाइसकेपछि म यसो बाहिर सडकतिर टहलिन निस्किएको थिएँ एक्लै । सिमसिम पानी परिरहेको थियो । अलि माथि पुगेर फर्किइसकेपछि म होटेलकै पिँडीको चिसो बेन्चमा थचक्क बसेको थिएँ । होटेलको दुईवटा भाग थिए । एउटामा किराना पसल थियो शायद, त्यो बन्द भइसकेको थियो । यता खाना खुवाउनेपट्टि साहुनी पैसा गनिररहेकी थिइन् ।
अकस्मात् मैले सुँक्क सुँक्क गरेको आवाज सुनेँ । त्यो होटेलको छेउको जुठेल्नीतिरबाट आइरहेको थियो । पहिले त मैले वास्ता गरिनँ । तर धेरै बेर चूप बस्न पनि सकिनँ । जाँदा त अघि हामीलाइृ भात पस्किने हँसिली केटी भाँडा मस्काउँदै थिइन् । अघिसम्म ग्राहकहरुसँग हँसिमजाक गरिरहेकी केटी अहिले रोइरहेको देख्दा म अचम्भित भएको थिएँ । त्यही कौतूहलताले मैले उनलाई सोधेको थिएँ –‘दिदी के भयो किन रुनु भएको ?’

भर्खर म स्नातक तहमा पढ्दै थिएँ । मैले उनलाई दिदी संबोधन गरेको उनको उमेरको भेउ पाएर भने थिएन । शायद ती पनि मेरै उमेरको हाराहारीमा थिइन् । तर सिकुटे मभन्दा ह्ष्टपुष्ट ज्यानकी उनी ठूलै देखिन्थिन् । पहिले त उनले मलाई बेवास्ता गरिन् । तर फेरि त्यही प्रश्न दोहो¥याएपछि भने उनले फर्किएर हेरेकी थिइन् । यहीँबाट हाम्रो कुराकानी सुरु भएको थियो । उनले भाँडामाझुन्जेल उनले मसित मनको बह पोखेकी थिइन् । खै के विश्वास अथवा भावुकताले उनले मलाई आफ्नो कथा भनिन्, त्यो अहिले पनि मलाई अनौठो लाग्छ । शायद, संयोगहरुको क्षण तत्काल निर्माण भएका परिस्थितिहरुको दास हुन्छ मान्छे ।

सानैमा आमा मरेकी । बाबुले ल्याउँछन् सौतेनी आमा । लामो समय बाहिरतिर कता कता काम गरेका बाबुले होटल पसल खोल्छन् । रक्स्याहा बाबुलाई टुहुरी छोरीप्रति कुनै माया छैन । सौतेनी आमा छोरीको वैँशको पसल थाप्छिन् । सबैका लागि होइन, कोही भिआइपीहरुका लागि । ५ कक्षाभन्दा मास्तिर पढ्न पनि पाइन उसले । बाहिरी संसार देखेकी पनि छैन, तल त्रिशुली बजारदेखि परको । बैँशमा एउटा केटासँग मायाप्रीति गाँसेकी थिई, ऊ पनि पहिले अलि अलि पैसा कमाउँछु भनेर फुत्त निस्केर गएको, ६ वर्ष भइसक्यो फर्किएर आएको छैन । न त कुनै खबर नै गरेको छ । न त उसलाई कसैले भेटेको खबर नै पाएकी छे उसले ।

भाँडा माझ्दा उनले सुरु गरेको कथा उनले कुचो लगाएर टेबुलहरु सफा गरुन्जेलसम्म सकिएको थिएन । आमा सुत्न गइसकेको हुनाले शायद उनले आफूलाई अलिक स्वतन्त्र महसुस गरिरहेकी थिइन् र खुलेर कुरा गरिरहेकी थिइन् । स्टोभ बालेरै उनले मलाई कालो चिया पनि पिलाइन् । बाउले छोरीको जिउको पसल थाप्छ, दलाली गर्छ र आमा खनखनी पैसा गन्छे र सुनको दाँत हाल्छे । यस्तो फिलिममा मात्रै हो कि साँच्चिकै पनि हुन्छ ? रगतको सम्बन्ध पनि यति घिनलाग्दो वृत्तिमा उद्यत रहन्छ ? मलाई पटक पटक विश्वास गर्नु कि नगर्नु भइरहेको थियो ।

मेरो जिउँदोजाग्दो क्रान्तिकारिता त्यतिखेर यथार्थमा प्रकट हुनुपर्ने हो । मैले बोकेको विश्वासअनुसार उसलाई विद्रोहका लागि तयार गर्नुपर्ने हो । आफूमाथिको अन्यायलाई प्रतिकार गर्न जागरुक गराउनुपर्ने हो । अथवा त्यति गर्न नसके आफैँले तदारुकता देखाएर उसलाई त्यो नरकबाट मुक्त गराउन पहल गर्नुपर्ने हो । तर म… म त बिजुलीको पहेँलो प्रकाशमा उसको अनुहारको दुःख देख्नु नपरोस् भने झैँ सीधा हेर्न नसकेर छेलिएको थिएँ । मनभित्र उसको आँसुले बनाइदिएको सानोतिनो दहमा पौडिएर खोजिरहेको थिएँ उसका वैँशालु सपना । असरल्ल छरिएका सपनाहरू टिपिदिने भावुकताले उद्वेलिन्थ्यो मन कहिले कहिले त । फेरि डरलाग्थ्यो र नजानिँदो गरी काँप्थेँ म ।

उनले आत्महत्या गर्ने कुरा पनि सोचेकी रहिछिन् बारम्बार । तर सकिनन् रे । त्यसको कारण उनले भन्दा मेरा आँखाबाट आँसु झरेका थिए । कारण थियो ‘उनले माया गरेको मान्छे जसको नाम ग्याल्जेन थियो, ऊ पनि उनीजस्तै टुहुरो थियो ।’ उनको विश्वास थियो ‘उनलाई जस्तै उसलाई पनि माया गर्ने अर्को मान्छे छैन, के थाहा त्यो टुहुरो मान्छे भोलि आफ्नो माया खोज्दै खोज्दै आइपुग्यो भने ?’

म एकैसाथ छक्क परेँ । दुःखी भएँ । भावुक हुनु उसै पनि मेरो स्वभाव थियो । मेरो मनमा अनेक किसिमका भावनाहरु उर्लिएर आए एकैपटक । ‘उसले माया गरेको ग्याल्जेन फर्किएर आउला त ? भारी बोक्दै गर्दा कतै हिउँ पहिरोमा पुरियो कि ? अथवा सहरतिर गर्तमा कतै भासियो र उम्किनै सकेन । अथवा कतै नयाँ जीवन पो सुरु गर्यो कि ?’

तर उनको मनमा ऊप्रति नराम्रो शंका अलिकति पनि छैन । बरु ऊ कतै दुःखमा फसिरहेको पो छकि भन्ने डर मात्रै छ । मलाई चाहिँ ग्याल्जेन फर्किएर आउँछ जस्तै लाग्दैन, तैपनि उनलाई ऊ चाँडै फर्किएर आउने विश्वास दिलाउन खोज्छु । तर मनमा उनीहरुको पुनर्मिलनको क्षण अति भयावह हुनेछ जस्तो मात्रै लागिरहन्छ । ग्याल्जेन फर्किएरै आए पनि यो अवस्था बाँचिरहेकी यिनलाई त्यो लोग्नेमान्छेले कहिल्यै स्वीकार्ला त ? मेरो मनमा आशंका जन्मिएको थियो ।
तर उनैले उत्तर दिएकी थिइन् – ‘म आफैँ पनि त जाँदिन नि उसँग । म उसको लागि लायककी कहाँ भएँ र । …तर उसलाई एकपटक हेर्ने रहर छ । त्यसपछि … … …।’ उनको त्यसपछिको अर्थ मैले बुझेको छु । तर म केही बोल्न नसक्ने भएको छु । आफ्नै पिन्चे स्वभावले थिचेको छ यतिखेर मलाई । तर उनले दिएको जवाफले म छक्क पर्छु । यो सुन्दा फिल्मीजस्तो पटक्कै लागेन मलाई –‘तर म मर्दिन । मलाई ग्याल्जेनको घरबार बसेर छोराछोरी जन्मेको देख्ने रहर छ ।’

आस्था होस् त यति बलियो ! आफ्नो प्रेमप्रति यति अग्लो विश्वास भएको मान्छे शायद मैले आजन्म देख्न नपाउँला । मन जस्तै धमिलो परिवेशमा पनि संग्लो बाँच्न सक्दोरहेछ । आस्थाको चुरो मान्छेले जस्तै प्रलयमा पनि बचाइराख्न सक्दोरहेछ, आँट्यो भने । संघर्षमय जीवनकोे त्यो डरलाग्दो आँधीमा आफ्नो आस्था जोगाउन सक्ने त्यो मान्छेलाई सलाम गर्ने आँट भने ममा पटक्कै आएन ।
अहो मेरो बनावटी आस्थाभन्दा त्यो प्राकृतिक आस्था कति बलियो र अविचल थियो !

मैले आफ्नो वास्तविक आँट, साहस र वैचारिकताको जग त्यो दिन नियालेँ । उनीसितको केही घण्टाको बसाइले मेरो दिमागीे क्रान्तिकारिताको रातो रंग सबै पखालेर लगिसकेको थियो । म त्यसै त्यसै उमेरजन्य भावुक कोमलताको हावामा सुस्तरी लहराइरहेको थिएँ ।
‘माथि घ्याङमा ग्याल्जेनको लागि बत्ती बालिदिनुस् है भाइ ?’ –आखिरीमा उनले आग्रह गरिन् । कुनै पनि किसिमको इश्वरीय सत्तालाई मैले बुझ्ने भएदेखि नै लरकारेको छु । धूपबत्तीको त के कुरा । तर उनको त्यो आग्रहलाई मैले कुनै जवाफ फर्काउनै सकिनँ । त्यसैले ममाथि त्यो चुनौती पनि थियो । त्यतिबेला मैले यो पनि भन्न सकिनँ ‘गुम्बामा बत्ती बालेर पनि केही हुन्छ त ¤ गर संघर्ष र जीत आफ्नो जीवन । आफ्नो जीवन आफैँ जीत ¤’

अनि हारेर म नीलो भएँ । मुन्टो हल्लियो पराजित र यान्त्रिक । मेरो भौतिकवाद गल्र्यामगुर्लुम ढलिसकेको थियोे । मसँग त्यतिखेर आफ्नो पहिचान केही बाँकी थिएन । म शून्यमा त थिइनँ तर त्यसबाहेक अरू विषय सोच्न सकिरहेको पनि थिइन । उसको मप्रतिको विश्वास मेरो आफूप्रतिको विश्वासभन्दा बढी थियो । आखिरीमा सत्र ठाउँ पट्याइएको पचासको नोट मतिर बढ्यो–गुम्बामा चढाइ मागेर ।

‘पर्दैन, मसँग छ नि ।’ मैले त्यो रुपियाँ लिन चाहिनँ, तर उनले फिर्ता पनि लिइनन् । त्यो नोट समाउँदा मेरा हात अनौठोसित कामिरहेका थिए । मलाई आफैँप्रति विश्वास र अविश्वासको दोधारमा थिएँ –‘के मैले यो नोट उनले भनेकै काममा लगाउँछु होला त ?’
थाकेको भए पनि राती म राम्रोसित निदाउन पनि सकिनँ । भोलिपल्ट छ बजे उठेर तयार भई तल आउँदा उनी पसलमा बसिसकेकी थिइन् । चिया पिएर हिँड्ने बेलामा उनले भुटेको चनाको एउटा सानो प्याकेट मेरो हातमा राखिदिइन् र सँगसँगै एउटा खादा पनि । त्यतिबेला मैले उनका आँखामा यति चहकिलो विश्वास देखेको थिएँ कि अहिले लाग्छ, त्यसरी एउटा अपरिचितलाई पूर्णत् विश्वास गर्नसक्नु उनको आफैँप्रतिको अग्लो विश्वास थियो । हिँड्ने बेलामा उनले भनिन् ‘भाइ फर्किँदा पस्नु ल ।’

भुइँकुइरोको लहंगा बेरेर नाँच्ने तयारीमा थिए चिसा पहाड । कन्जुस घाम तिनकै पोल्टामा पुल्टुङबाजी खेल्नमा मस्त थियो । चिसो हावा ज्यानमा थापेर म उक्लिँदै थिएँ । अलिकति माथि पुग्नासाथ फेरि निम्छरो आकाश चुइँकिन थालिहाल्यो । अब पहाडमा कुइरोबाहेक अरू केही छैन जस्तो आकाशै त्यहीँ आएर थ्याच्च बसिदिएजस्तो वातावरण तयार भइसकेको थियो । मभित्रको बोझ त्योभन्दा गह्रौँ थियो । ‘वर्गसंघर्ष’ त्यतिबेला मन्त्रजस्तै जपिने शब्द थियो । अहिले म आफैँभित्र वर्गसंघर्ष यति डरलाग्दोसित चलिरहेको थियो कि बाटोमा पार गरेका झरना, खोलानदी, भीरपाखा, पहाड, बादल कुहिरो केहीले पनि मलाई छुँदै छोएनन् ।
आखिरमा उनको आस्थाका अगाडि मेरो आस्थाले घुुँडा टेक्यो । तीव्र द्वन्द्वको सामना गरेर आफूले आफैँलाई हराएर भएपनि उनको विश्वासलाई जिताउने काम गरेँ मैँले । ग्याल्जेन हिँडिसकेपछिको उनका लागि पहिलो मान्छे सायद मैँ भएँ जसले केही क्षणको लागि आफूलाई बाहिरै राखेर देवप्रतिमामुनि बत्ती बाल्यो । बत्ती बाल्दा मेरा हात कामिरहेका थिए… भावुकताले आँखा रसाइरहेका थिए ।

घ्याङबाहिर निस्किँदा भने मन शान्त र हलुको थियो । आस्था गुमाएर हलुको भएको थियो अथवा परित्यक्त मनलाई सहानुभूतिका आँखाले सुम्सुम्याउन पाएकोमा … पत्तो भएन । गोसाइँकुण्डबाट फर्किँदा म उनको होटलमा निस्केको थिएँ, तर भेट हुन सकेन । उनकी आमालाई मैले गुम्बामा बत्ती बालिदिएँ भनेर खबर छोड्दा ती आइमाई मलाई हेरेको हेरेइ भएकी थिइन् । अहिले १६ वर्षभन्दा बढी भयो, थाहा छैन मेरो आस्थालाई घुँडा टेकाउन सक्ने उसको आस्थाको जीत भयो कि भएन । तर मेरो जीवनमा ठूलो शिक्षा दिने त्यो घटना र त्यससित जोडिएकी तिनको अनुहार अनुहार मैले अझै बिर्सन सकेको छैन । थाहा छैन ग्याल्जेनलाई फर्किएर आयो कि आएन, न उनले त्यतै लेकतिर आफूलाई उत्सर्जन गन्रि अथवा एउटा कुनै ड्र«ाइभरको पछि लागेर नयाँ सपना रोप्न हिँडिन् ।

अथवा, मैले सोचेजस्तै कुनै आफ्नो जीवनको कालो हटाउन आफैँ लड्न अग्रसर भइन् । किनभने त्यो समय ‘जनयुद्ध’ त्यतातिर पनि सर्दै जान सुरु गरिसकेको थियो शायद । मेरो लागि यो कौतूहलता त छँदैछ । तर मनमा एउटा प्रश्नचाहिँ अझै अनुत्तरित नै छ – उनलार्ई त्यो नारकीय अवस्थाबाट जोगाउन केही सहयोग गर्न सक्थेँ कि सक्दिनथेँ ? अनि सँगसँगै मेरो गोसाइँकुण्ड यात्रालाई कम्युनिष्ट विरोधी बनाउने क्रान्तिकारी साथीहरुका ठेक्दारी र कमिशनमोहलाई देख्छु – मनमा शान्तिको महसुस हुन्छ । लाग्छ, म एकदम ठीक रहेछु त्यतिबेला पनि । किनकि अहिले पनि म मान्छेलाई माया गर्छु । कविता र संगीतलाई प्रेम गर्छु । पहाड, नदी, जंगल, चरा, फूल मलाई अझै पनि मन पर्छन् । अनि यस्तो लाग्छ, नक्कली कम्युनिष्ट बन्नुभन्दा त संवेदनशील मान्छे बन्नु कति असल कार्य रहेछ । मैले दोस्रो बाटो रोजेँ, सन्तोष लाग्छ ।

  • आस्था झुकेको त्यो दिन
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    लेख सम्बन्धि थप
  • प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

    प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0