आर.एल.श्रेष्ठ
गत वर्षको तुलनामा यस वर्ष चिसोको कारणले मृत्यु हुनेको संख्या ह्वात्तै बढेको स्वास्थ्यसँग सरोकार राख्ने निकायहरुले बताएका छन् । यसबाट पनि के पुष्टि हुन्छ भने चिसोले मानिसहरुलाई कतिको समस्या सिर्जना गरेको छ भन्ने प्रष्ट हुन्छ । त्यसैले चिसोबाट बच्नका लागि खेल्नपर्ने भूमिकाका बारेमा सूसुचित हुनु आवश्यक छ ।
विषेशतः गर्मी समयभन्दा जाडोमा बालबालिका र वृद्धवृद्धालाई स्वास्थ्यमा बढी समस्या हुन्छ । चिसोबाट जोगिन सकियो भने धेरै रोगबाट बच्न सकिन्छ । चिसोमा हुने समस्यामध्ये विशेषगरी हिउँ पर्ने ठाउँमा देखिएको छ । शरीरको कुनै पनि अंग धेरै लामो समयसम्म हिउँ वा चिसो पानीको सम्पर्कमा रहिरहे हिउँले खाने समस्या हुन सक्छ । यसमा शरीरका मूल भागबाट टाढा रहेका अङ्गहरु खासगरी हातखुट्टाका औला, अनुहार, नाक, कान आदि हिउँले खान सक्छ । त्यसैले शरीरलाई हिउँ वा चिसो वस्तुबाट जोगाउनु पर्छ । यदि हिउँले धेरै खाएमा उक्त ठाउँलाई चिरेर फाल्नुपर्ने अवस्था पनि आउन सक्छ । जस्तैः सजिलो भाषामा भन्नुपर्दा ग्याङ्ग्रिन लागेको औंलाहरु सम्झँदा हुन्छ ।
त्यस्तै अर्काे समस्या हाइपोथर्मियालाई पनि लिन सकिन्छ । यो समस्या शरीरको भित्री तापक्रम ३५ डिग्री सेन्टिग्रेड (९५ डिग्री फरेनहाइट) भन्दा कम भएको अवस्थालाई बुझिन्छ । यसको लक्षण तापक्रमअनुसार फरकफरक हुनसक्छ । मन्द खालको हाइपोथर्मियामा जीउ काम्ने तथा दिमाग सुस्त भएर अलमल्ल पर्ने हुन्छ । मध्यम खालको हाइपोथर्मियामा कम्पन बन्द हुन्छ र दिमागको सुस्तता बढेर जान्छ । कडा खालको हाइपोथर्मिया भएपछि बिरामीले बेहोसीमा लगाइरहेको कपडा खोल्न पनि सक्छ र मुटुको धड्कन बन्द हुने खतरा बढेर जान्छ । यदि यसको समयमा नै उपचार वा रोकथाम गरिएन भने ज्यान जाने खतरासम्म रहन्छ । अहिलेसम्मको तथ्यांकलाई हेर्दा अधिकांशको मृत्यु मुटुको धड्कन बन्द भएको देखिन्छ ।त्यसैले आवश्यकता अनुसारको कपडा लगाएर हाइपोथर्मियाबाट बच्न सकिन्छ । ओसिलो वा सुख्खा हुँदा पनि शरीरको तापलाई जोगाएर न्यानो बनाउने हुनाले कटनका लुगाभन्दा उलन तथा उनबाट बनेका लुगाहरू लगाउनु उपयुक्त देखिएको छ ।
त्यस्तै फ्लु इन्फ्लुएन्जा भाइरसबाट लाग्ने यो एउटा सरुवा रोग हो । यो ए, बी, सी र डी गरी ४ प्रकारका हुन्छन् । इन्फ्लुएन्जा डी खासगरी गाईवस्तुमा मात्र सीमित देखिएको छ भने सी एकदम सामान्य हुने र महामारीको रूप लिँदैन भन्ने मान्यता रहेको पाइन्छ । तर, ए र बी भने हरेक फ्लुको सिजनमा देखिने गरेको पाइन्छ । नेपालमा मनसुन सिजन र जाडो महिनाको सुरुवात र अन्ततिर बढी मात्रामा देखिन्छ । पछिल्लो समय स्वाइन फ्लु, हङकङ फ्लु र बर्ड फ्लुका कारण विशेष गरी पंक्षी व्यवसाय धराशयी भएको पाइन्छ । यो पनि चिसो लगायतकै उपज हो भन्ने गरिन्छ ।
यो पंक्षीमा मात्र नलागेर मानिसमा पनि संक्रमित हुन्छ । विशेष गरी व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा अर्को व्यक्तिमा संक्रमण हुन्छ । त्यस्तै, संक्रमित व्यक्तिले प्रयोग गरेको सरसामान अर्को व्यक्तिले प्रयोग गरेमा पनि सर्न सक्छ । संक्रमित व्यक्तिले श्वासप्रश्वास मात्र गर्दा पनि फ्लु भाइरस सर्ने गरेको अनुसन्धानले देखाएको छ ।फ्लु फैलिसकेको अवस्थामा सकेसम्म सार्वजनिक स्थलहरूमा नजाने, नाक, मुख, आँखामा बारम्बार हात नलाने, संक्रमित व्यक्तिसँग अभिवादन गर्दा हात नमिलाउने, घर फर्केपछि राम्रोसँग हातमुख साबुन पानीले धुने गर्नुपर्छ । संक्रमित व्यक्तिले हाछ्युँ गर्दा मुख छोपेर मात्र गर्नुपर्छ । आफू संक्रमित भएको अवस्थामा घरबाहिर नजाने र घरमा बस्दा पनि सकेसम्म घरका अन्य सदस्यभन्दा अलग्गै बसेमा संक्रमण सर्ने सम्भावना कम रहन्छ भनिएता पनि नेपालको सन्दर्भमा त्यो लागू हुन सक्दैन । जुन किसिमको संस्कारमा हुर्किएको छ, त्यसले यो संक्रमणबाट टाढा राख्न सक्दैन । त्यसैले समस्या उत्पन्न हुनुभन्दा समस्या आउन नदिनु बुद्धिमानी हुन्छ ।
विशेष गरी जाडोयाममा शरीरमा भाइरस बढी सक्रिय हुने भएकाले रुघाखोकी बढी लाग्छ । रुघाखोकी मात्रै होइन यो सँगै एलर्जी पनि हुन्छ । रुघाखोकीबाट बच्न बाटोमा हिँड्दा समेत धुलोबाट जोगिने गरी सुरक्षित तवरले यात्रा गर्दा व्यवहारिक मानिन्छ । भाइरलको संक्रमण फैलिएको बेलामा विद्यालय जाँदा र अन्यत्र हिँड्दा जोगिनु पर्छ । साधारण खाले रुघाखोकीलाई घरमै उपचार गर्न सकिन्छ । तर रुघाखोकीसँगै नाकबाट पहेंलो सिंगान आउने, नाक बेस्सरी बन्द हुने, घाँटीको समस्या आउने, कानमा पनि समस्या छ भने होसियारी अपनाउनुपर्छ । किनकी नाक, कान र घाँटीले एक आपसमा असर पारिरहेका हुन्छन् । बालबालिकाको हकमा त यो समय अत्यन्तै सावधान रहनुपर्छ ।
यो वर्षको सुरुवाती चिसोले विशेष गरी बालबालिका र बुढाबुढीलाई निकै सास्ती दिएको भएतापनि वयस्कहरु धेरैले मुटुसम्बन्धी समस्याको कारण ज्यान गुमाइसकेको तथ्य सार्वजनिक भएको छ । त्यसैले चिसोबाट जोगिनका लागि नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले सार्वजनिक सूचना टाँस गरेरै नागरिकहरुलाई सूसुचित गरेको छ ।
अत्याधिक चिसोको कारण कोरोनरी आर्टरीभित्र रक्तप्रवाह अचानक बन्द भएमा हृदयघात हुन्छ । विशेष गरी ३ प्रकारबाट हृदयघात हुने भएतापनि यो समय चिसोकै कारण बढीभन्दा बढी मानिसको हृदयघात, रक्तप्रवाहमा समस्या आएरै भएको सम्बन्धित निकायको भनाई छ ।
चिसो मौसममा मुटुका बिरामीहरुले जाडोमा बाधा पर्ने गरी शारीरिक काम गर्नु हुँदैन । बिहान–बेलुका बढी जाडो हुने भएकोले घरभित्रै बस्नुपर्छ । सन्तुलित भोजनका साथ फलफूल तथा तरकारी, भिटामिन सी, जिन्कजस्ता तत्व भएको खानेकुरा पर्याप्त मात्रामा खाएमा रोग प्रतिरोधात्मक क्षमता बढ्छ । त्यस्तै चिसोबाट बच्न शरीर ढाक्ने तातो प्रकृतिका कपडाहरु लगाउनुपर्छ । साथै छालाको सुरक्षामा ध्यान दिन आवश्यक छ । चिसोले छालामा भएको चिल्लो पदार्थलाई सोसेर सुख्खा बनाइदिन्छ र छालाले गर्नुपर्ने काम गर्न सक्दैन । त्यसैले जाडोमा छालाको राम्रो हेरचाह गर्नुपर्छ ।
प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित
प्रभातफेरी डट कम
बनेपा नपा-५,राजदास मार्ग
९७५१०२८४५०,९८४१४२८४५०
उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७
जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२
सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |