पञ्चमाया तामाङ
मसला बालीमध्ये सदाबहार मसलाको रुपमा लसुनलाई लिने गरिन्छ । पछिल्लो समय नेपालमा उत्पादन गरिने विभिन्न मसला बालीहरूमध्ये हिउँदमा खेतीको रुपमा लसुनलाई लिएता पनि पछिल्लो समय बाह्रै महिना खेती गर्न सकिने भएको छ । जसले गर्दा बेसिजनमा पनि लसुनको स्वाद लिन पाइन्छ । विशेष गरी यसको उत्पादनलाई हिउँदे बालीको रुपमा लिने गरिन्छ ।
जमीनमूनि फलेको लसुनको भागलाई नेपालीमा पोटी, मैथिलीमा झावा र भोजपुरीमा ढेरी तथा छुट्याईएको एउटा भागलाई नेपालीमा बिजुला वा केस्रा, मैथिली र भोजपुरीमा दाना भन्ने गरेको पाइन्छ । वर्षा मौसमको उत्तरार्धमा कम पानी पर्नाले र हिउँदमा पानी नपरी सुख्खा खडेरी हुने तराई मधेश तथा पहाडका उर्वर जमीनहरू खेर गईरहेका भूमीमा खेती गर्न सकिन्छ । लसुन उत्पादन पश्चात अर्को केही महिनासम्म भण्डारण गरी अत्याधिक आम्दानी गर्न सकिने बाली हो ।
यस खेतीको लागि नेपालका तराईदेखि हिमालसम्मकै भू–भागहरु उपयुक्त रहेको पाइन्छ । ठाउँअनुसार खनजोत गरेर यसको खेती गर्ने चलन छ । लसुन अचार, तरकारी, माछा, मासु लगायतमा स्वाद र सुगन्धका लागि मसलाको रूपमा प्रयोग गर्ने गरिन्छ । लसुनमा भएको पौष्टिक तत्वले रूघाखोकी, आँखा पाक्ने, कान दुख्ने, पेट दुख्ने, जुका पर्ने, ग्यास्ट्रीकका साथै भैंसेदादका लागि अचुक औषधीको रुपमा लिन सकिन्छ । कीट तथा रोगनाशक जैविक विषादी बनाउन समेत उपयोग गरिन्छ । लसुनमा एलिसिन नामक रसायन हुने भएकोले ग्राम नेगेटीभ जीवाणु र विभिन्न ढुसीहरूको वृद्धिमा रोकथाम गर्छ । लसुुनको तेल प्रयोग गर्नाले लामखुट्टे र त्यसको फुल र लार्भाहरू मर्छन् । घरको झिङ्गा, आलुको पुतली तथा नरिवल र सुपारीको रातो खपटेको अण्डामा यसको तेल छर्नाले लार्भा निस्कन सक्दैन । लसुनले बाथको रोगमा फाईदा गर्नुका साथै घाँटी फोक्सोलाई सफा राख्दछ । लसुनले एन्टीसेप्टीकको काम गर्दछ । लसुनको दैनिक सेवनले हृदयरोग, रक्तचाप र रगतको कोलेस्टरोल घटाउँछ ।
विशेष गरी १०० ग्राम तौल भएको लसुनमा ६.३ ग्राम प्रोटिन, ०.१ ग्राम चिल्लो पदार्थ, ०.५ ग्राम रेसा, १ ग्राम खनिज पदार्थ, २० ग्राम कार्वोहाईड्रेट, ३० मिलिग्राम क्यालसीयम, ३१० मिलिग्राम फसफोरस, १३ मिलिग्राम भिटामिन सि, १.३ मिलिग्राम फलाम, ०.१६ मिलिग्राम राइबोफ्लेविन, ०.४ मिलिग्राम निकोटिनिक एसिड र १४२ क्यालोारी शक्ति पाईन्छ । लसुनलाई विशेष गरी चिसो हावापानी आवश्यक हुने भएकोले छोटो दिन र लामो रात उपयुक्त मानिन्छ । लसुन खेतीको लागि माटोमा प्रांगारिक पदार्थ प्रशस्त हुनुपर्छ । त्यस्तै पानी नजम्ने, बलौटे दोमट, माटोको पी. एच. ५.८ देखि ६.८ राम्रो हुन्छ ।
लसुन ठाउँअनुसारका जातहरु सिफारिस भएका छन् । विशेष गरी नेपाली भूबनौट अनुसार तपसिलका जातहरु उपयुक्त रहेको विज्ञहरुको राय छ । सि. ओ २, यमुना सफेद १, यमुना सफेद २ आदि जातहरू सिफारिस भएका छन् । मध्य तथा उच्च पहाडका किसानहरू भोटे लसुन तथा पछिल्लो समय चीनका केही जातहरू लगाउने गरेको पाइन्छ । आकार, पोटी संख्या र स्वादको आधारमा लसुनको असल उत्पादनशिल जात छुटयाउन सकिन्छ । ठूला, आकर्षक, चाउरी नपरेका, स्वस्थ्य र पुष्ट पोटी बीउमा प्रयोग गर्नु पर्दछ । रोप्नुभन्दा अगाडी लसुनको बिजुला वा केस्रालाई छुट्याईन्छ । रोप्दा जराको भाग तल र टुसाको भाग माथि गरेर रोप्नुपर्छ ।
साधारणतया लसुन एक बोट देखि अर्काे बोट १०से.मी.मा र हार देखि हार १५ से.मी.मा रोपिँदा राम्रो देखिन्छ । मसला बालीमध्येको नगदे बालीको रुपमा लिने लसुनलाई गाउँघरमा औषधीको रुपमा पनि प्रयोग गरिन्छ । यसको पछिल्लो तथ्यांक हेर्दा नेपालको उत्पादन अत्यन्तै कम भएको सम्बन्धित व्यापारीहरु बताउँछन् । उनीहरुका अनुसार चीन र भारतबाट नल्याईकन नेपालको आवश्यकता परिपूर्ति गर्न नसकिने अवस्थामा रहेको बताउँछन् । त्यसैले पनि यसको बजार अस्थिर छ । जब नेपालमा उत्पादन भएको लसुन भण्डारणको कमीले गर्दा फागुन, चैत भित्र बजारमा लगिसक्नुपर्ने हुनाले नेपाली उत्पादनले उचित मूल्य पाउन सकिरहेको छैन । तर चीन र भारतमा उचित भण्डारण भएको कारण बेसिजनमा बजारमा ल्याउने भएको कारणले विचौलियाहरुको चलखेल राम्रै भएको पाइन्छ । तसर्थ, यसको उत्पादन, भण्डारण र बजारका लागि राज्यको ध्यान जानु आवश्यक छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |